बन्ने भयो काठमाडौं महानगरपालिकाको भव्य भवन, लागत करिब ७० करोड

5k
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले टेकुस्थित आफ्नै जग्गामा मुख्यालय भवनका लागि सोमबार शिलान्यास गरेको छ ।
हाल वातावरण व्यवस्थापन विभाग रहेको जग्गामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभएको हो ।

करिब ६ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको भवन ३ हजार ८३ दशमलव ८२ क्षेत्रफलमा निर्माण हुनेछ । भवनमा १० व्यक्ति तान्ने क्षमताका दुईवटा लिफ्ट जडान हुनेछन् । भवन आगामी २०८० साल असोज मसान्तसम्ममा निर्माण भइसक्ने बताइएको छ ।
समानान्तर निर्माण सेवा प्रालिले ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रुपियाँमा भवन निर्माणको जिम्मा पाएको छ । भवनको डिजाइन शहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालिले तयार पारेका हुन् । शिलान्यासपछि प्रमुख शाक्यले भन्नुभयो– ‘आफू निर्वाचित भइसकेपछिको पहिलो कार्यपालिका बैठकले भवन बनाउने निर्णय गरेको थियो, बल्ल शिलान्यास गर्न सकियो ।’

उहाँले पहिलो कार्यपालिका बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

मेयर शाक्यले साझा लाभका योजनामा जस लिन नपाउनेले विरोध गर्ने आचरण हावी भएपछि महानगरले तर्जुमा गरेका धेरै योजना अघि बढ्न नसकेको र बढेका योजना पनि रोकिएको अनुभव सुनाउनुभयो । ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको स्वतन्त्र अस्तित्वलाई विकासका सवालमा अन्तरसम्बन्धित बनाउन सकिएन भने लहडका भरमा योजना रोकिने रहेछन् ।’ –उहाँको अनुभव थियो ।

महानगरले गरेको विकास योजनाबारे जानकारी गराउँदै शाक्यले रानीपोखरी, धरहरा, दरबार हाइस्कुल, कमलपोखरी पुनर्निर्माण सम्पन्न गरेको स्मरण पनि गराउनुभयो । कार्यक्रममा पूर्वमन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले समयमा भवन निर्माण सम्पन्न भएर नागरिकले सुविधासम्पन्न ठाउँबाट सेवा लिन पाउने अपेक्षा गर्नुभयो ।

‘सरकारका पात्र परिवर्तन भइरहन्छन् तर स्वीकृत कार्यक्रम नियमित चलिरहन्छ, यसको दिगोपनाका लागि कर्मचारीहरुले चनाखो हुनुपर्छ ।’ –श्रेष्ठले भन्नुभयो । भवन भूकम्पीय सुरक्षाका कोणबाट दरिलो र बाहिरबाट हेर्दा आकर्षक हुने उहाँको विश्वास थियो ।

कार्यक्रममा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले ढिलै भए पनि केन्द्रीय भवन शिलान्यास गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै ‘यो हाम्रो कार्यकालका लागि सुखद क्षण हो, महानगरका नीतिको कार्यान्वयनबाट देखिने विकास महसुस हुन थालेको छ’ भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले छरिएका कार्यालयहरुबाट सेवा व्यवस्थापन गर्न कठिन भएको, केन्द्रीय कार्यालय निर्माण भएपछि सेवा व्यवस्थापनमा सहजता हुने बताउनुभयो । कामपा–१२ का अध्यक्ष विकास डंगोलले आफ्नो वडामा महानगरको केन्द्रीय कार्यालय निर्माण हुनुले आफूलाई वडाध्यक्षका रूपमा गौरव महसुस भएको उल्लेख गर्नुभयो ।

करिब ६ रोपनी क्षेत्रफलमा बन्ने भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । मेकानिकल प्रविधिको प्रयोगबाट भूमिगत तलामा थप २५ वटा गाडी पार्किङ गर्न सकिने पनि बताइएको छ ।

शहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतका अनुसार भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुला ठाउँ र मौलिक वास्तुशैली भवनका मुख्य विशेषता हुन् । प्रत्येक तलामा कार्यालय, बैठक हल, प्रशासन/कर्मचारी/आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएको छ ।

भवनमा आकाशेपानी संकलन तथा संकलित पानीको शुद्धीकरण प्रणाली सहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको जमिन तलादेखि ७ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौं तलामा २ सय जना क्षमताको एउटा र १ सय जना क्षमताको एउटा गरी २ वटा छुट्टाछुट्टै सभाकक्ष निर्माण गरिने जनाइएको छ ।

महानगरले १९ वर्षपछि आफ्नै भवन निर्माण शुरु गर्न लागेको हो । नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन निर्माण गरिदिएपछि महानगरले हाल बसेको बाघदरबार भवनको स्वामित्व पाएको थियो ।

महानगरले करिब १० करोड रुपियाँ लागतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन निर्माण गरिदिएपछि सरकारको स्वामित्वमा रहेको सो भवनको भोगचलन गर्ने अधिकार पाएको थियो । २०७२ सालको शक्तिशाली भूकम्पका कारण बाघदरबार क्षतिग्रस्त भएपछि महानगर हालको जेडिए भवनमा सरेको थियो ।