सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते


नेपाल समाचारपत्र, बाँके ।

सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने भएको छ ।नेपाल सरकार र विद्रोही माओवादी बीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्यान्ड्सले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले सोही पत्रकार सम्मेलनमा नेपालगञ्ज म्याराथन डट कम वेभसाइट पनि सार्वजनिक गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगड, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रूपमा वेभसाइटको शुभारम्भ गरेका थिए ।

शनिबारदेखि खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ । यस वर्षदेखि वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजक अध्यक्ष ठकुरीले जानकारी गराए ।

विभिन्न १० वटा विधामा स्पर्धा गर्न सकिने ठकुरीले बताए । पुरुषतर्फ म्याराथन (४२.१९५ किमि), महिलातर्फ हाफ म्याराथन, १० किमि पुरुष खुल्ला, ५ किमि महिला खुल्ला, ५ किमि स्कुलस्तरीय छात्र, ३ किमि स्कुलस्तरीय छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेर समूह), २ किमि कर्पोरेट रन, एक किमि ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । नगद पुरस्कार राशीमा वृद्धि गरिने आयोजक अध्यक्ष ठकुरीले जानकारी गराएका थिए ।