‘एमाले चुनावमा जान्छ, सरकारमा जाँदैन’ : पोखरेल


नेपाल समाचारपत्र, काठमाडौं ।

एमालेका महासचिव ईश्वर पोखरेलले ‘नेपाली कांग्रेससँग मिलेर एमाले सरकारमा जान्छ भन्ने प्रचारबाजी निराधार हो, हामी चुनावमा जान्छौं, सरकारमा जाँदैनौं’ भन्नुभयो ।

महासचिव पोखरेलले आइतबार पत्रकार भेलालाई सम्बोधन गर्दै भन्नुभयो– ‘निर्वाचनमा जानु र नयाँ जनादेशका साथ स्थायी सरकार बनाउनुको विकल्प छैन, एमालेले शुरुदेखि नै यो विश्लेषण राख्दै आएको हो, तर यसको अर्थ मध्यावधि निर्वाचन गराउनका लागि हामी सरकारमा जाने कुरा सम्भावनाभन्दा बाहिर छ ।’

नेपालीहरुका महान् चाड बडा दशैं, तिहार, नेपाल संवत् र छठको पूर्वसन्ध्यामा महासचिवको आयोजनामा शुभकामना आदान–प्रदान तथा मिडिया–अन्तरक्रिया कार्यक्रम गर्ने अभ्यासको शुरुआत गर्दै पोखरेलले प्रश्न गर्नुभयो– ‘पाँच दलको गठबन्धनमा आज जसरी सरकार चलेको छ, जुन गतिहीनता र विवाद देखिएको छ त्यसले एमालेको ताजा जनादेशको प्रस्ताव बारम्बार पुष्टि गरिरहेको छैन र ?’

महासचिवको दोस्रो कार्यकाल पूरा गर्दै गरेका पोखरेलले आगामी मंसिर दोस्रो साता हुने भनिएको एमालेको १०औं महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्ने निर्णय गरिनसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘एमालेमा रहेका हरेक व्यक्ति पार्टीको आवश्यकता र आम कार्यकर्ताको मूल्यांकनअनुसार जिम्मेवारीमा रहेर काम गर्न तत्पर छन्, मेरो मात्र कुरा होइन ।’

महासचिव पोखरेलका लागि अब दुईटा पदमात्र सम्भावनामा छन्– उपाध्यक्ष र अध्यक्ष, किनभने तेस्रोपटक महासचिव हुन पार्टी विधानले दिँदैन । ‘एमालेलाई कामरेड केपी ओलीको नेतृत्व चाहिएको छ, एबैलाई एकीकृत ढंगले अघि बढाउनु छ, पार्टीलाई अझ बढी उचाइमा पुर्‍याउनु छ ।’ –उहाँले उपाध्यक्ष बन्ने सम्भावनाप्रति परोक्षरूपमा संकेत गर्नुभयो ।

प्रतिनिधिसभामा निरन्तर विरोध प्रदर्शन गरेर आलोचित बनेको एमालेको प्रतिरक्षा गर्दै उहाँले ‘सभामुख अग्निप्रसाद सापकोटाको गलत नेतृत्वका कारण विरोध गर्न बाध्य हुनुपरेको’ बताउनुभयो ।

भर्खरै सम्पन्न विधान महाधिवेशनको उपलब्धिबारे चर्चा गर्दै पोखरेलले लोकतान्त्रिक अभ्यासमा विधिको शासन महत्वपूर्ण हुने भएको र एमाले यसको नेतृत्व गर्ने जिम्मेवार पार्टी भएको, नेतृत्व चयनमा मंसिरको महाधिवेशन केन्द्रित हुने भएका कारण दुई महाधिवेशनको आयोजना गर्नुपरेको जानकारी गराउनुभयो ।