हङकङमा चरेसको कारोबार गर्ने समूह नै पक्राउ


दीपक रिजाल, काठमाडौं ।

नेपालबाट हङकङमा अवैधरूपमा चरेस कारोबार गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि लागूऔषध चरेसको कारोबार गर्दै आएको सो समूहलाई लामो अनुसन्धानपछि प्रहरीले पक्राउ गरेको हो ।

नेपालमा रहेका केही लागूऔषधको अवैध कारोवार गर्दै आएको गिरोहले हस्तकलाका सामानमा चरेस राखेर हङकङ पठाउँदै आएको सूचनाको आधारमा प्रहरीले अपरेसन गरी नेपालबाट अवैधरूपमा चरेस पठाउने गिरोहको भण्डाफोर गरेको हो ।

लागूूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुरको मानभवनस्थित ब्लुस्टार कार्गोमा छापा मारेर शुरु गरेको अभियानमा सफलता हात पारेको छ ।

ब्युरोको टोलीले उक्त कार्गोमा छापा मार्दा हङकङ पठाउन लागेको अवस्थामा रहेको थान्का चित्रभित्र लुकाई लैजान लागेको अवस्थामा ३ केजी चरेस बरामद गरेको थियो । थान्कामा प्रयोग हुने काठको डन्डीभित्र लुकाइराखेको अवस्थामा उक्त चरेस बरामद गरेको थियो ।

प्रहरीले चरेससहित उक्त कार्गोमा काम गर्ने अन्जित थापालाई पक्राउ गरेको थियो । थापालाई पक्राउ गरेपछि प्रहरीले नेपालबाट अवैधरूपमा चरेस हङकङ पु¥याउने गिरोहको पिछा गरेको थियो । प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै कार्गोमा सामान दिने व्यक्तिको खोजी शुरु गरेपछि थापालाई सामान दिने सिन्धुपाल्चोकका सुजन श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठलाई पक्राउ गरेपछि उत्साहित भएको ब्युरोले श्रेष्ठलाई चरेस दिने सिन्धुपाल्चोककै सागर भन्ने जालिन्द्र श्रेष्ठलाई पनि पक्राउ गरेको थियो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले यसपटकको अनुसन्धान फरक ढंगले गरिएकाले पनि अभियुक्त पक्राउ गर्न ब्युरो सफल भएको जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार जालिन्द्रलाई पक्राउ गर्दा उनको कोठाबाट थान्कामा प्रयोग हुने आयात आकारको काठको डण्डी ९६ थानभित्र लुकाई राखेको २ केजी ४० ग्राम चरेस बरामद भएको थियो ।

एकपछि अर्का व्यक्ति पक्राउ गर्ने क्रममा ब्युरोले पर्साका दिनदयाल महतो उराव र दीपेन्द्र महतो उरावलाई सानो थान्कामा प्रयोग हुने काठको १ सय १३ थान डन्डीमा लुकाइराखेको २ केजी ८ सय ग्राम चरेस बरामद गरेको थियो । उनीहरुको साथबाट ब्युरोले १ लाख नगदसमेत बरामद गरेको थियो ।

उनीहरुलाई चरेस उपलब्ध गराउने व्यक्तिको नाम पाएको प्रहरीले काठमाडौं भित्रिएपछि ठाउँ–ठाउँमा चरेस पुर्‍याउँदै आएका मकवानपुरका रवि मोक्तानको साथबाट लागूऔषध चरेस ९ सय ग्राम बरामद गरेको थियो । ब्युरोको टोलीले चरेस उत्पादन भएको ठाउँबाट काठमाडौंसम्म चरेस ल्याउने धादिङ थाक्रेका मोतीलाल तामाङलाई पक्राउ गर्न सफल भएको थियो ।

यसअघि भरिया मात्रै पक्राउ गर्दै आएको ब्युरोले यसपटक भने किनबेच गर्ने गिरोहलाई नै पक्राउ गर्न सफल भएको छ । ब्युरोले हङकङ बसेर अवैध लागूऔषधको कारोवारमा संलग्न रहेको व्यक्तिको पहिचानका लागि त्यहाँको प्रहरीसँग समन्वय गरिरहेको ब्युरोले जनाएको छ ।