बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा झडप, चारको मृत्यु, प्रशासनले लगायो कर्फु


यमलाल भुसाल, बुटवल ।

रूपन्देहीको बुटवल मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको भडपमा परी ४ जनाको मृत्यु भएको छ । औद्योगिक क्षेत्रभित्र सुकुम्बासीका नाममा जग्गा कब्जा गरेको भन्दै प्रहरीले बल प्रयोग गर्दा रणभूमिमा परिणत भएको हो । रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा तनाव बढ्दै गएपछि रूपन्देही प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।

गोली लागेर गम्भीर घाइते भएकालाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि लैजाँदैै गर्दा मृत्यु भएको अस्पतालका सूचना अधिकारी तेज केसीले पुष्टि गर्नुभयोे । मृत्यु हुनेको पहिचान खुल्न भने बाँकी रहेको छ ।

गोली लागेर गम्भीर घाइते भएका थप एक रमेश परियारको उपचारका क्रममा ज्यान गएको छ । युनिभर्सलमा ५ जना प्रहरीसहित ८ जना सर्वसाधरणलाई उपचारका लागि पु¥याइएको थियो । झडपमा प्रहरीसहित कम्तीमा ४० जना घाइते भएको बताइएको छ । तर, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित कुनै पनि निकायले फोन उठाएका छैनन् ।

प्रशासनले औद्योगिक क्षेत्रमा बल प्रयोग गर्दा प्रहरी र जग्गा कब्जा गर्न आएका बीच झडपको अवस्था सिर्जना भएको हो । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा उपभोगको विषयलाई लिएर सुकुम्बासी समूह र प्रहरीबीच पटक–पटक झडप भएको थियो । स्थिति नियन्त्रणबाहिर गएको भन्दै प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म पूर्व बुटवल–१७ शिवनगरदेखि वडा न. १८ सौरहियासम्म, पश्चिम हरिहरपुरको खेतीयोग्य जमिन, उत्तर शिवनगर रानीगञ्ज बस्ती र दक्षिण औद्योगिक क्षेत्रको जमिनसम्म कफ्र्यु लगाइएको छ ।

आइतबार दिउँसोदेखि औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेकालाई प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित स्थानीयले ढुंगा प्रहार गर्दै आक्रमण गर्न थालेका थिए । घटनास्थल सशसस्त्र र जनपद प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको छ । स्थानीयले सशसस्त्र प्रहरीको कार्यालयमा आगजनी गरेका छन् । आन्दोलनकारीले पेट्रोल बम नै प्रहार गरेको प्रहरीले जनाएको छ ।