उद्योगमन्त्रीमा हमालको नियुक्तिले विवाद शुरू


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकार गठन भएको झन्डै तीन महिनापछि मन्त्रिपरिषद्ले बल्लतल्ल पूर्णता पायो तर पूर्णता पाउनेबित्तिकै सत्ता गठबन्धनभित्रै विवाद पनि शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको विषयलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद शुरु भएको हो ।

गैरसांसदलाई प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनाएको भन्दै सत्ता गठबन्धनभित्रै प्रधानमन्त्री देउवाको आलोचना शुरु भएको छ । प्रधानन्याधीशको कोटाबाट उहाँका जेठान हमाल मन्त्री बनेको विषयले सत्ता पक्षभित्रै तरंग पैदा भएको छ । संविधानमा गैरसांसदलाई ६ महिना मन्त्री नियुक्त गर्न पाइने प्रावधान रहेको छ । तर, सत्तारूढ दलभित्र चुनाव जितेर आएका सांसदहरूलाई पन्छाउँदै प्रधानमन्त्री देउवाले हमाललाई मन्त्रीमा नियुक्त गर्नुभएपछि सत्तागठबन्धमै असन्तुष्टि चुलिएको छ । मन्त्रीमा हमालको नियुक्तिसम्बन्धमा संविधानविद्हरूले पनि सरकारको चर्को आलोचना गरेका छन् ।

‘हमाल कांग्रेसको कोटाबाट मन्त्री’

प्रधानन्याधीश चालेन्द्रशमशेर जबराको जेठानलाई प्रधानमन्त्री देउवाले उद्योगमन्त्रीमा नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारको बचाउ गर्नुभएको छ । उहाँले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको दाबी गर्नुभएको छ ।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानन्त्री देउवाले हमाललाई काँग्रेसको कोटाबाट मन्त्री बनाउनुभएको दाबी गर्नुभएको हो । उहाँले सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै भन्नुभयो– ‘यो कुनै नयाँ कुरा होइन, यसअघि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ । कांग्रेसले आफ्नै कोटामा ल्याएपछि यताको र त्यताको भन्नुको कुनै तुक छैन ।’

उहाँले मन्त्रीमण्डल विस्तारमा न्यायालयलाई भागवण्डा गरियो भन्नु गलत भएको जिकिर पनि गर्नुभयो । एमसीसीको विषयमा बोल्दै प्रचण्डले राष्ट्रिय सहमति र परिमार्जनबिना एमसीसी पास नहुने बताउँदै संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको टिप्पणी गर्नुभयो ।