९ अभिनेत्री एकसाथ सम्मानित



विजया दशमीको अवसरमा राजधानीमा नौ अभिनेत्रीलाई सम्मान गरिएको छ।

अभिनेत्री रेजिना उप्रेती र कलाकार विमला केसीको संस्था रेजिना इन्टरटेनमेन्ट प्रालि र शहीद फिल्म्स् प्रालिले विजया दशमीअन्तर्गत नौरथाको पहिलो दिन घटस्थापनाका अवसरमा राजधानीमा दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८ कार्यक्रम आयोजना गरी नेपाली फिल्म क्षेत्रमा सक्रिय हिजोदेखि आजसम्मका नौ अभिनेत्रीलाई सम्मान गरेको हो ।

चावहिल सरस्वती नगरस्थित चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रममा चैत्य देवी, लक्ष्मी गिरी, शर्मिला मल्ल, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी, सुरक्षा पन्त, साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासना सिंह ठकुरीलाई दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८ बाट सम्मान गरिएको छ। समारोहमा अभिनेत्रीहरूलाई प्रमुख अतिथि ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल र विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सम्मान गरेका थिए। नरेश वीर सिंहको कोरियोग्राफीमा नौ कलाकारको स्वागत नृत्यबाट शुरू भएको कार्यक्रममा नवदुर्गा सम्मानबाट सम्मानित हुने नौ अभिनेत्रीले अभिनय गरेका एक–एक फिल्मका एक–एक गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा शुभेच्छा थापा, नरेश वीर सिंह, मनोज विक, जान्हवी बस्नेत, विनु शाक्य, एलिना रायमाझी, अस्मिता जुरेली, शर्मिला महर्जन, तुलसा पहाडी र उमा गिरीले कोरस कलाकारका साथमा नृत्य प्रस्तुत गरेका थिए।

दुई वर्ष अगाडि शुरू गरिएको कार्यक्रम गत वर्ष कोभिड–१९ को जोमिखका कारण स्थगित गरिएको थियो। आयोजक संस्थाकी अध्यक्ष अभिनेत्री रेजिना उप्रेतीले बडादसैंको अवसर पारेर नौरथाको पहिलो दिन नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नौ जना अभिनेत्रीलाई नवदुर्गा सम्मानद्वारा सम्मान गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्