जन्मदिनमा पहिरोपीडितलाई पत्रकारको घर ‘उपहार’

6.58k
Shares

दुर्गाप्रसाद शर्मा, हुवास पर्वत ।

गाउँभन्दा तल गएको पहिरोका कारण उच्च जोखिममा रहेको दलित बस्तीका पीडित परिवारलाई एक पत्रकारले घर बनाएर आफ्नो जन्मदिनमा उपहारका रूपमा हस्तान्तरण गर्नुभएको छ ।

पर्वत पैंयु गाउँपालिका–५ भुर्तेलथोक आरुगैह्राको जोखिमयुक्त दलित बस्ती स्थानान्तरण गर्ने अभियानका क्रममा पीडित परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

जिल्ला विपत् व्यवस्थापन समिति पर्वतले उच्च जोखिममा राखेर बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको भए पनि त्यसमा कसैको ध्यान पुग्न नसक्दा सोही स्थानमा घर भएका २७ वर्षीय पत्रकार निर्भिकनारायण भुर्तेलको नेतृत्वमा बस्ती स्थानान्तरणको अभियान शुरु भएको छ । ‘द निर्भिक फाउन्डेसन’ नामक संस्थाको माध्यबाट भुर्तेलथोकको आरुगैह्रमा रहेको बस्ती स्थानान्तरणको अभियानअन्तर्गत पहिलो चरणम ४ घर उच्च जोखिममा रहेका परिवारलाई हस्तान्तरण गरिएको छ । पत्रकार भुर्तेलको जन्मदिनको अवसर पारेर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घरको साँचो हस्तान्तरण गर्नुभयो । पर्वत वेलफेर सोसाइटी यूकेले एउटा घर बनाइदिएको छ भने अन्य संस्था र निकायको सहयोगमा पहिलो चरणमा चारवटा घर तयार भएका छन् । पहिरोबाट १५ घर उच्च जोखिममा छन् ।

पत्रकार भुर्तेलले आफ्नो घरबारी निःशुल्क उपलब्ध गराएर सबैका घर बनाउने अभियान शुरु गर्नुभएको छ । सबै पीडितलाई अर्को वर्षसम्ममा घर स्थानान्तरण गरिसक्ने योजना बनाएको पत्रकार भुर्तेलले बताउनुभयो । १५ घर बस्ती स्थानान्तरणका लागि लागि पटक–पटक सिफारिस गर्दा पनि कसैको ध्यानाकर्षण हुन नसकेपछि बस्तीमा हुन सक्ने ठूलो क्षति टार्न अभियान थालनी गर्न बाध्य भएको उहाँको भनाइ छ । ‘पहिरोले घर भत्कने क्रम चले पनि कतैबाट काम हुन नसकेका कारण आफ्नै जग्गामा बस्ती स्थानान्तरण गर्न लागेको हुँ’, भुर्तेल भन्नुहुन्छ– ‘उक्त अर्को वर्षसम्म सरकार र सहयोगी निकायको सहयोगमा सबैलाई सुरक्षित बस्तीमा सार्न सक्छु भन्ने विश्वास छ ।’

घरको साँचो हस्तान्तरण गर्दै अध्यक्ष तिमिल्सिनाले सबैलाई सचेत बनाउने पत्रकारले आफ्नै नेतृत्वमा बस्ती स्थानान्तरणको अभियान चलाउनु आफैंमा सुखद काम भएको बताउनुभयो । उहाँले सबै पीडितका घर बनाउन भुर्तेलको अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई सहयोगी हात अघि बढाउन आग्रह पनि गर्नुभयो । ‘पहिरोको उच्च जोखिममा रहेको बस्ती स्थानान्तरणको काम राज्यले नै गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘राज्यलाई सहयोग गर्न एक जना पत्रकारले थालेको अभियानलाई सबैले सहयोग गरेर पीडितलाई ढुक्कले निदाउने वातावरण बनाउन जरुरी छ ।’

सुरक्षित स्थानमा घर बनेपछि पीडितहरु उत्साहित बनेका छन् । पहिरोले घर भत्काउँदा ५ वर्षीय छोरा घाइते भएको घटना सम्झँदै ख्याम दर्जी अब परिवार ढुक्कले निदाउने अवस्था आएको बताउनुहुन्छ । अर्का पीडित डम्बरबहादुर दर्जी घर बने पनि गोठ बनाउने र सिलाइकटाइ गर्नका लागि मेसिन राख्ने ठाउँको अभाव हुन्छ कि भन्ने चिन्तामा हुनुहुन्छ । ‘घर पाउँदा औधि खुसी लागेको छ’, उहाँले भन्नुभयो– ‘अब भैंसी, बाख्रा पाल्ने गोठ र पेसा गर्ने ठाउँ पनि भइदिए अझै सजिलो हुने थियो ।’