पालिका अधिवेशनमा देउवा पक्षको पल्ला भारी


रामकृष्ण चापागाईं, काठमाडौं ।

महाधिवेशनको संघारमा रहेको प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन भइरहेको छ । पालिकासम्मको अधिवेशनमा शीर्ष नेताहरु आफ्नो पक्षमा केन्द्रीय नेतृत्व हत्याउन लागिपरेका छन् । वडा अधिवेशन हुँदै पालिका अधिवेशनसम्म आइपुग्दा नेतृत्वमा सभापति शेरबहादुर देउवा पक्ष अग्र स्थानमा रहेको छ ।

१४औं अधिवेशनमा सभापति देउवा पुनः नेतृत्व लिने रणनीतिमा छन् । नतिजा प्राप्त ४ सय ८२ पालिकाको नेतृत्वमा देउवा पक्ष अग्र स्थानमा रहेको देखिएको छ । १४औं महाधिवेशनमा पुनः नेतृत्व लिने रणनीतिमा लागेका सभापति देउवाले गठन गरेको महाधिवेशन केन्द्रित सचिवालयले जानकारी दिएअनुसार पालिका अधिवेशनमा हालसम्म प्राप्त नतिजाअनुसार ४ सय ८२ मध्ये २ सय ७ पालिकामा देउवा पक्षको नेतृत्व आएको छ ।

साथै, १ सय ८७ पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको नेतृत्व आएको छ भने १६ पालिकामा कृष्णप्रसाद सिटौला पक्ष आएको छ । पछिल्लो रिपोर्टअनुसार सभापतिका दाबेदार विमलेन्द्र निधि पक्षको दुई पालिकामा नेतृत्व आएको छ भने उपसभापति विजयकुमार गच्छदार पक्षको दुई पालिकामा नेतृत्व आएको छ । कुनै पनि पक्षमा नखुलेको जनाइएको ५६ पालिका छ भने १२ पालिकाको नेतृत्व कुन पक्षको हुने भन्नेबारेमा सोधखोज भइरहेको छ ।

मुख्य गरी तीन गुट सक्रिय रहेको नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनमा सभापतिको दाबी गरिरहनुभएका उपसभापति निधिको छुट्टै गुट तयार भइरहेको छ । अहिले पौडेल पक्षभित्र डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह पनि मिसिएका छन् । देउवा सचिवालयले प्रदेश नं १ को १ सय ३७, वागमती प्रदेशको १ सय १९, लुम्बिनी प्रदेशको १ सय ९ र कर्णाली प्रदेशको ७९ पालिकामध्ये अधिवेशन सम्पन्न भएको ४ सय ८१ पालिकाको रिपोर्ट तयार पारिसकेको छ ।

प्रदेश नम्बर १ को १ सय ३७ पालिकामध्ये अधिवेशन भएको र नतिजा प्राप्त १ सय ३५ पालिकामा देउवा पक्षको ५६ पौडेल पक्षको ५५ सिटौला पक्षको १३ छन् । वागमती प्रदेशको १ सय १९ पालिकामध्ये ९९ पालिकाको रिपोर्ट तयार पारिएको छ । जसमा देउवा पक्षको संख्या ४९ छ भने पौडेल पक्षको ३७ छ । यो प्रदेशमा सिटौला पक्ष पनि बलियो छ । वागमती प्रदेशअन्तर्गत काभ्रेको १३ वटै पालिकामा देउवा र सिटौला पक्ष मिलेर अधिवेशनमा नेतृत्व हत्याएका थिए । यो प्रदेशमा १२ पालिकाको नेतृत्व कुन पक्षको भन्ने खुलेको छैन ।

गण्डकी प्रदेशको ८५ पालिकामध्ये ३४ पालिकामा देउवा पक्षको नेतृत्व आएको छ भने २९ पालिकामा पौडेल पक्षको नेतृत्व छ । यो प्रदेशमा सिटौला पक्षको २ र निधि पक्षको १ पालिकामा नेतृत्व आएको छ । गण्डकी प्रदेशको ३१ पालिकाको नेतृत्वबारे देउवा सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । देउवा सचिवालयले लुम्बिनी प्रदेशको १ सय ९ पालिकामध्ये १ सय पालिकाको नतिजा केलाएको छ । जसमा देउवा पक्ष ३७ र पौडेल पक्षको ३६ छ । १५ पालिकाको नेतृत्व खुलेको छैन भने अन्य पालिकाको बारेमा बुझबुझारत भइरहेको जनाइएको छ ।

कर्णाली प्रदेशको नतिजा प्राप्त ६२ पालिकामध्ये ३१ पालिकामा देउवा पक्षको नेतृत्व आएको छ भने ३० पालिकामा पौडेल पक्षको नेतृत्व आएको छ । यो प्रदेशमा ७९ पालिका रहेको छ । सुदूरपश्चिम प्रदेश देउवाको गृह प्रदेश भएकाले यहाँ रहेको ८८ पालिकामध्ये दुई तिहाइ पालिकामा देउवा पक्षको नेतृत्व आएको छ ।