सहकारीले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् : अर्थमन्त्री


काठमाडौँ ।

अर्थमन्त्री जनार्दन शर्माले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

स्युचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिकोत्सव तथा साधारणसभामा उहाँले सरकारले समन्वयकारी भूमिकामा रहेर व्यवस्थापन गर्ने भएकाले समुदायलाई उत्पादनसँग जोड्नुपर्ने उहाँको भनाइ छ । “समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्छ । सरकार, समुदाय र निजी क्षेत्र यी तीन वटा कुरालाई जोडेर जाने हो । यसमा समुदाय मुख्य हो”, उहाँले भन्नुभयो । हरेक वडामा सहकारी संस्थाले उत्पादन गरोस् र सरकारका कार्यक्रमलाई सहयोग गरेर रोजगारी सिर्जना गरोस् भन्ने आफूहरुको चाहना रहेको अर्थमन्त्रीको भनाइ थियो ।

अर्थमन्त्रीले सहकारीले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको तथ्याङ्कबाट देखिएको भन्दै त्यो लगानी अब उत्पादनमूलक क्षेत्रमा लगाएर समग्र मुलुकको विकास गर्नुपर्ने स्पष्ट पार्नुभयो । उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति हुने उहाँको भनाइ थियो । सहकारीले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति पारित भएको जानकारी दिँदै उहाँले ती संस्थाले लगानी गर्न नपाउने स्थिति भएको भन्ने कुराका आधारमा त्यस्तो व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

जनतासँग भएको पैसा सहकारीले सङ्कलन गरेर लगानी गर्न पाउने भन्दै उहाँले यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजानुपर्छ भन्नेमा आफू रहेको बताउनुभयो । त्यसका लागि कार्यविधि तयार भइरहेको जानकारी दिँदै उहाँले त्यसबाट अर्बौं बराबरको लगानी उत्पादनमूलक क्षेत्रमा जाने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले कतिपय सहकारीले अर्बौं पैसा जम्मा गरेर हिनामिना गरेको कुरा आइरहेका छन् । गाउँका आमाबुवाको भत्ताको पैसा, अलिअलि जोडेको पैसा लिएर कतिपयले बदमासी गरेको कुरा आएको छ । तर त्यस्तो गलत क्रियाकलापलाई निमन गर्ने निकाय खासगरी यहाँ रहेनछ ।”