‘आँखालाई माया गरौं’ भन्ने नाराका साथ विश्व दृष्टि दिवस मनाइदै



नेपाल समाचारपत्र, काठमाडौं । 

‘आँखालाई माया गारौं’ भन्ने नाराका साथ यो वर्ष विश्व दृष्टि दिवस मनाइदै छ । विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढि प्रेरित र प्रोत्साहित गर्ने उद्देश्यले सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसकोरुपमा मनाउँदै आएको छ ।

अक्टोवर १४ तारिख (असोज २८ गते महानवमीका दिन) विश्वभरि नै विश्वदृष्टि दिवस मनाइँने भएपनि नेपालमा उक्त दिन महानचाड परेको कारण घटस्थापनाको अघिल्लो दिन विहिवार देखिनै बाट यो दिवसको शुभारम्भ गरेको छ । विश्व आखा दिवस आँखा स्वास्थ्य क्षेत्रमा संलग्न संघ, संस्था तथा व्यक्ति सबैका लागि एक महत्वपूर्ण र विशेष दिन हो ।

यस दिवसको मुख्य उद्देश्य प्रमुख अन्तर्राष्ट्रिय स्वास्थ्य समस्याको रुपमा रहेको पूर्ण वा आँशिक दृष्टिविहिनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरु लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढि एकतावद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नु रहेको छ । साथै, लक्षित वर्गलाई अन्धोपन निवारण कार्यक्रम बारे सचेतना अभिबृद्धि गराई उक्त कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिव २ सय २० करोड मानिसहरु दृष्टिदोष र दृष्टिविहिनताको समस्याबाट प्रभावित रहेका छन् । त्यसमध्ये ३ करोड ९० लाख मानिसहरुमा अन्धोपनको समस्या रहेको छ भने करिब एक अर्व जनता अझैँ पनि सेवाको पहुँच भन्दा बाहिर छन् । विश्वका कुल दृष्टिविहिन हरुमध्ये करिव ६५ प्रतिशत मानिस ५० वर्ष उमेर माथिका रहेका छन् । यसैगरी अनुमानित १ करोड ९० लाख बालबालिकाहरुमा दृष्टिदोष को समस्या रहेको पाइएको छ । कुल दृष्टिविहिनहरुमध्ये करिव ९० प्रतिशत दृष्टिविहिनहरु विकासशील तथा अल्पविकसित मुलुकमा रहेका छन् । ८० प्रतिशत दृष्टिदोषलाई उपचारद्वारा निवारण गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अन्धोपनका प्रमुख कारणहरुको अध्ययन गर्दा मोतीविन्दुको योगदान ६५ प्रतिशत रहेको छ भने आँखाको पर्दाजन्य रोगहरुको १४ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपन ६ प्रतिशत, जलविन्दु ५ प्रतिशत र अन्य कारणबाट १० प्रतिशत मानिसहरु दृष्टिविहिन बन्न पुग्ने गरेको तथ्य रहेको छ ।

नेपालमा शिक्षा, चेतनाको कमी तथा सेवाको पहुँचको कमी आदि कारणबाट दृष्टिविहिनताको स्थिति अझै प्रमुख स्वास्थ्य समस्याका रुपमा विद्यमान छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ६ मिटरको दूरीलाई आधार मान्दा अनुमानित २ लाख २० हजार मानिसहरु दृष्टिविहिन रहेका छन् भने ३ मिटरलाई आधार मान्दा अनुमानित ९३ हजार ४ सय मानिसहरु दृष्टिविहिन छन तीमध्ये ५० वर्षभन्दा माथिका मानिसहरुको संख्या अनुमानित २ दशमलव ५ प्रतिशत रहेको छ । नेपालमा कुल दृष्टिविहिनहरुमध्ये ६६ प्रतिशतको दृष्टिविहिनतालाई उपचारका माध्यमबाट नै निवारण गर्न सकिन्छ भने १६ प्रतिशतको दृष्टिविहिनता रोकथाम गर्न सकिने खालको रहेको छ । हालै नेपाल नेत्रज्योति संघले सबै प्रदेशमा अन्धोपन सर्भेक्षण गरेको थियो । सो सर्भेले लुम्विनी प्रदेश बाहेक सबै प्रदेशमा अन्धोपनको समस्या घटेको पाईएको थियो ।

विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्र ज्योती संघले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार नेपाल नेत्रज्योति संघले जानकारी दिए अनुसार दिगो बिकासको लक्ष्य हासिल गर्नको लागि संयुक्त राष्ट्र संघको महासभामा संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रहरु एकसाथ दृष्टि जोगाउने विषयमा “सबैको लागी दृष्टि” भन्ने संकल्प पारित गरेको थियो । उक्त महासभाको संकल्पमा सबै सदस्य राष्ट्रहरु एकसाथ सहमत भएका छन् । संकल्पले स्पष्ट रूपमा पहिलो पटक दिगो विकास लक्ष्यको आधा भन्दा बढी आँखा स्वास्थ्य सँग जोडिएकोले सरकार, व्यवसायी, नागरिक समाज, संयुक्त राष्ट्र संघ र यसका संस्थाहरु सबैमा सहकार्यका लागि एकजुट भई लाग्न आह्वान गर्‍यो । आँखा स्वास्थ्य सेवामा हुने विकास तथा सर्वब्यापी पहुँचले दिगो विकासको लक्ष्य प्राप्त गर्न सघाउ पुग्दछ । यसै कारण आँखा स्वास्थ्यको विकास कार्यमा तिब्रता ल्याउन जरुरी छ ।

न्यूनदृष्टि एवं दृष्टिविहिनहरुलाई समुदायमा आधारित दृष्टि पुनस्र्थापना सेवामा पहुँच सुनिश्चित गर्न नेपाल नेत्रज्योति संघले विशेष योजना ल्याउन लागेको जनाएको छ । संघले जानकारी दिए अनुसार संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तह विचको समन्वय र सहकार्य मार्फत नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य सेवालाई मूल प्रवाहीकरण गर्न र सेवाको संजाललाई वडा स्तरसम्म विस्तार गरी आँखा स्वास्थ्य सेवामा जनसहभागिता प्रवर्दन गरी सेवालाई अझै जनमुखी बनाउने योजना छ ।

नेपाल सरकारको स्वास्थ्य नीति अनुसार, नेपाल सरकार सँग सहकार्य गरी देशका सबै बालबालिकाहरुलाई विद्यालय भर्ना हुनुपूर्व अनिवार्य आँखा परिक्षण गर्ने योजना रहेको छ । एउटा पनि आँखा अस्पताल नरहेको र दुईचार जना नेत्रचिकित्सकहरु केन्द्रमा मात्र सीमित रहेको अवस्थाबाट सुरु भएको सेवा आज देशभरि आँखा स्वास्थ्य संस्थाहरुको सञ्जाल स्थापना हुन पुग्नु र नेपालीका साथसाथै अन्य छिमेकी मुलुकहरुबाट समेत उपचारका लागि नेपाल आउने अवस्थाको सिर्जना हुनुमा संघको चार दशकको अथकित परिश्रम र सेवाभावबाट ओतप्रोत भएका समाजसेवीहरु, नेपाल सरकार, दातृनिकायहरु तथा कर्मचारीहरुको ठूलो योगदान रहेको छ । अहिले आफ्ना २२ आँखा अस्पतालहरु, १ सय २८ उपचार केन्द्रहरु तथा ४२ जिल्ला शाखाहरुका साथै हजारौँ समाजसेवीहरु तथा कर्मचारीहरुको ठूलो परिवार सहित विश्वदृष्टि दिवस मनाउन पाउँदा संघ गौरवान्वित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्