भरिएको कुलेखानीमा डुबे पाँच होटल


नेपाल समाचारपत्र, हेटौंडा ।

मुलुककै ‘पावर ब्याकअप’ का रूपमा उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउ“पालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिँदा स्थानीय होटल व्यवसायी पीडामा छन् । करिब ३ सय मिटर चौडा र ७ किलोमिटर लम्बाइको जलाशय पछिल्लो समय भरिएपछि वडा नम्बर–१ मार्खुस्थित होटलहरु पानीमा डुबेका हुन् । लेकको छेऊतिर स्थापित होटलहरु करिब एक सातादेखि डुबेका छन् ।

स्थानीय व्यवसायीका अनुसार बा“सबाट निर्मित सामूहिक रिसोर्ट, होटल मार्खु, नेवारी खाजाघर र सबिना खाजाघरलगायत होटल पानीमा डुबेको होटल मार्खुका सञ्चालक निर्मल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अब ती होटलहरु पुनःसञ्चालनमा आउन तिहारसम्म कुर्नुपर्नेछ । किनकि, तिहारताका मात्र इन्द्रसरोवरमा पानीको सतह घट्ने अनुमान छ ।

नेपाल विद्युत् प्राधिकरणको जग्गामा स्थापित ती होटलले सरोवर भरिएपछि हुन सक्ने दुर्घटनाको आशंकामा केही दिनअघि नै सामानहरु माथिल्लो क्षेत्रमा स्थानान्तरण गरेका थिए । ‘२०७२ को भूकम्पपछि पहिलोपटक यस्तो अवस्था आयो’, श्रेष्ठले भन्नुभयो– ‘भर्खर पूर्णरूपमा सञ्चालनमा आउने तयारीमा रहेको सामूहिक रिसोर्टका बारहरु भत्केका छन् भने फलामे ट्रस्टबाट निर्मित अन्य होटलमा पनि भौतिक क्षति भएको छ ।’

ती होटलहरुले गाउ“पालिका कार्यालयमा दर्ता भएर कर तिर्दै आएका थिए । उक्त क्षेत्रमा २४ वटा होटल र १० वटा खाजाघर सञ्चालनमा छन् । कुलेखानीको जलाशय भरिएर टनाटन भएको छ । जलविद्युत् आयोजनाको जलाशयमा १ हजार ५ सय ३० मिटरसम्म पानी संकलन गर्न सकिन्छ । आइतबारदेखि पानीको सतह बढेर आएको छालका कारण पानी स्पिल भएको छ ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्र प्रमुख धीरेन्द्र चौधरीले जलाधार क्षेत्रमा ठूलो पानी परेर जलाशय भरिएकाले सतर्क रहन जानकारी गराइएको बताउनुभयो । जलाशय भरिएपछि पानी स्पिल भएर कुलेखानी नदी हु“दै वागमती नदीमा मिसिन्छ । जसका कारण कुलेखानी जलविद्युत् आयोजनाले सतर्क रहन स्थानीयलाई आग्रह गरेको हो । जलाशयको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।