युनिसेफको निष्कर्ष : बालबालिका र युवामा कोभिडको असर गम्भीर


नेपाल समाचारपत्र, काठमाडौं ।

बालअधिकारका लागि राष्ट्रसंघीय निकाय युनिसेफले कोभिड–१९ का कारण बालबालिका र युवाकोे मानसिक स्वास्थ्यमा गम्भीर असर परेको तर त्यसको सानो अंश मात्र बाहिर प्रकट भएको जनाएको छ ।

‘युवामा हुने मानसिक समस्याका कारण अर्थतन्त्रमा हरेक वर्ष लगभग ३ खर्ब ९० अर्ब डलर नोक्सान हुने नयाँ विश्लेषणले देखाएको छ ।’ –युनिसेफले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

बालबालिका र युवाहरूले आफ्नो मानसिक स्वास्थ्य र प्रवद्र्धनमा कोभिड–१९ को असर धेरै वर्षसम्म महसुस गर्नेछन्, युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘२१औं शताब्दीमा बालबालिका, किशोरकिशोरी र हेरचाहकर्ताहरूको मानसिक स्वास्थ्यका बारेमा युनिसेफले अहिलेसम्म गरेको सबैभन्दा व्यापक विश्लेषण’ भन्दै सार्वजनिक गरिएको प्रतिवेदनमा कोभिड–१९ भन्दा पहिलेदेखि नै यस विषयलाई सम्बोधन गरेर खासै कुनै महत्वपूर्ण लगानी नभएकाले बालबालिका र युवाहरूले मानसिक स्वास्थ्यसम्बन्धी बोझको तौल बढेको हो ।

युनिसेफका अनुसार विश्वव्यापीरूपमा १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये १ किशोरकिशोरी मानसिक समस्याका साथ बाँचिरहेका छन् । मानसिक समस्याको परिणामका रूपमा रहेका शीर्ष पाँच कारणमध्ये एक आत्महत्या रहेको प्रतिवेदनमा जनाइएको छ ।

‘विश्वमा प्रत्येक वर्ष आत्महत्याका कारण लगभग ४६ हजार किशोरकिशोरीको मृत्यु हुन्छ’, प्रतिवेदनमा भनिएको छ– ‘मानसिक स्वास्थ्यसम्बन्धी आवश्यकताहरू र मानसिक स्वास्थ्य कोषको बीच ठूलो अन्तर छ । विश्वव्यापीरूपमा सरकारी स्वास्थ्य बजेटको लगभग २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यको लागि खर्च भनेर छुट्याइएको छ ।’

‘बितेको १८ महिना लामो समयले मानसिक असर पारेको छ, राष्ट्रव्यापी बन्दाबन्दी र महामारीका कारण हिँडडुलमा भएको प्रतिबन्धले बालबालिकाले जीवनका महत्वपूर्ण समय परिवार, साथी, कक्षाकोठा र खेलकुद जस्ता बाल्यकालका मुख्य तत्वहरूबाट टाढा रहेर बिताउन बाध्य हुनुपर्‍या’, युनिसेफका कार्यकारी निर्देशक हेनेरिट्टा फोरले भन्नुभएको छ– ‘असर महत्वपूर्ण छ र यो ठूलो समस्याको देखिने सानो भाग मात्रै हो ।’

महामारीभन्दा पहिलेदेखि नै धेरै बालबालिका मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरूको बोझले दबिएका, यी महत्वपूर्ण आवश्यकतालाई सम्बोधन गर्नका लागि सरकारहरूद्वारा थोरै लगानी भइरहेको, मानसिक स्वास्थ्य र भावी जीवन परिणामहरूबीचको सम्बन्धलाई पर्याप्त महत्व नदिइएको पक्षलाई पनि उहाँले उल्लेख गर्नुभएको छ ।

युनिसेफ र ग्यालपद्वारा २१ देशमा सञ्चालित बालबालिका र वयश्कको एक अन्तर्राष्ट्रिय सर्वेक्षणको प्रारम्भिक निष्कर्ष र द स्टेट अफ द वल्डर््स चिल्ड्रेन २०२१ मा गरिएको पूर्वावलोकन अनुसार, १५–२४ वर्ष उमेर समूहका ५ युवामध्ये १ ले निरास महसुस गरेको वा जुनसुकै काम गर्नमा पनि कम रुचि भएको कुरा व्यक्त गरेको जनाइएको छ ।

कोभिड–१९ ले तेस्रो वर्षमा प्रवेश गरेसँगै बालबालिका र युवाहरूको मानसिक स्वास्थ्य र भलाइमा ठूलो प्रभाव पर्ने क्रम जारी नै छ, युनिसेफको पछिल्लो उपलब्ध तथ्यांकअनुसार विश्वव्यापीरूपमा ७ जनामध्ये कम्तीमा १ बालबालिका बन्दाबन्दीबाट प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने १ अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन् । अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरञ्जन, साथसाथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाहरूले गर्दा धेरै युवाहरूले डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता महसुस गरिरहेका छन् ।

समाजलाई पर्न गएको लागतका सम्बन्धमा उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ– ‘ध्यान केन्द्रित गर्न नसक्ने तथा ज्यादा चकचके स्वभावजन्य समस्या, चिन्ता, अटिजम, बाइपोलर डिसअर्डर वा दुई ध्रुवीय विकार, आचरणसम्बन्धी विकार, डिप्रेसन वा उदासीनता, खानपानमा विकार, बौद्धिक अपांगता र स्किजोफ्रिनिया वा मनोविदलता सहितका अन्य मानसिक समस्याहरूले बालबालिका र युवाको स्वास्थ्य, शिक्षा, जीवन नतिजा र कमाइ क्षमतालाई हानि पुर्‍याउन सक्छ ।’