सुस्तायो काठमाडौं महानगर, बजार अनुगमनको खाका बल्ल तयार गरिँदै


नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले चाडवाड लक्षित अनुगमन शुरु गरेको जनाए तापनि प्रभाव शून्य जस्तै देखिएको छ । महानगरमा आन्तरिक किचलो र जिम्मेवार बाँडफाँडमा समस्या देखिएका कारण यो वर्षको अनुगमन प्रभावहीन हुने देखिएको छ ।

महानगरपालिका सुस्ताउँदा चाडवाडको समयमा व्यापारीले मनपरी गर्न थालेका छन् । महानगरपालिकाको बजार अनुगमन लक्षित बैठकले मंगलबार उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी अध्यक्ष रहेको योजना, अनुगमन तथा मूल्याङ्कन समिति बनाउने निर्णय गरेको छ ।

समिति बनाउने निर्णयपछि बल्ल अनुगमन गर्ने विषयमा छलफल भएको थियो । बैठकले उपमेयरको अध्यक्षतामा एक सदस्य–सचिव रहने गरी सचिवालय बनाउने र सोही सचिवालयअन्तर्गत विभिन्न उपसमिति बनाएर अनुगमन गर्ने निर्णय गरेको छ । त्यसै गरी, उपमेयर खड्गीको अध्यक्षतामा बसेको बैठकले नरेन्द्रविलास बज्राचार्यलाई एकाइ प्रमुखको जिम्मा दिएको छ । एकाइको जिम्मा पाएका वज्राचार्यले भन्नुभयो– ‘हालसम्म सचिवालय कहाँ राख्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । सायद एक/दुई दिनमा उपमेयर सचिवालयमा एकाइ कार्यालय राखिनेछ । त्यसपछि अनुगमनलाई तीव्रता दिनेछौं ।’

उहाँका अनुसार महानगरको विभिन्न विभागले एकाइको सल्लाहमा अनुगमन गर्नेछ । यसअघि महानगरको अनुगमन समिति प्रमुख एवं उपप्रमुख हरिप्रभा खड्गीले अनुगमनलाई कडाइ गर्ने बताउनुभएको थियो । उहाँले अनुगमन गर्ने भनेको करिब दुई साता बितिसक्दा पनि खासै अनुगमन हुन सकेको छैन ।

महानगरपालिकाअन्तर्गत कृषि विभागले हाल बजार अनुगमन गरिरहेको जनाएको छ । गत वर्ष यो अवधिमा दर्जनांै व्यवसाय अनुगमन गरेको महानगरपालिकाले यो वर्ष २८ वटा निकायको मात्र अनुगमन गरेको छ ।

कृषि विभाग प्रमुख हरि भण्डारीले विभिन्न २८ वटा व्यवसायमा अनुगमन गरी दुई व्यापारीलाई कारबाही गरेको जानकारी दिँदै भन्नुभयो– ‘हालसम्म त्रिपुरेश्वरस्थित जैसवाल पान भण्डार र कालिमाटीको योगेन्द्र लाल दासको तरकारी पसलमा अनुगमन गरी जरिवाना गराएका हौं ।’ उहाँका अनुसार पान पसललाई ५० हजार र तरकारी व्यापारीलाई २० हजार जरिवाना गराइएको छ । महानगरले चाडबाड शुरु हुन लाग्दा अनुगमन तीव्र बनाउनुपर्ने अवस्थामा आन्तरिक कारण देखाउँदै १२ दिनयता जम्मा २८ क्षेत्रमा मात्र अनुगमन गरेको छ ।

घटस्थापना आउन एक दिन बाँकी रहँदा पनि कामपाले अनुगमनलाई तीव्रता दिन सकेको छैन । महानगरका एक कर्मचारी भन्छन्– ‘भोलिबाट घटस्थापना शुरु हुन्छ, खसीबोका अनुगमन गर्ने कामसमेत शुरुआत भएको छैन ।’