घटस्थापनादेखि अदालत बन्द रहने


काठमाडौं, (नेस) ।

सर्वोच्च अदालतसँगै देशैभरका अदालतहरू घटस्थापनाको दिन अर्थात् असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म बिदा हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको मंगलबार बसेको पूर्णबैठकले सो निर्णय गरेको हो । बैठकले दशैं बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरूको रोस्टर पनि टुंगो लगाएको छ । न्यायाधीशहरूसँग छलफल गरी बारअनुसार न्यायाधीशको टुंगो लगाइएको हो । सर्वोच्च अदालतमा घटस्थापनादेखि दशैं बिदा हुने भए तापनि बन्दी प्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिँदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषद्मा भाग खोजेको समाचार आइरहेका बेला बसेको सो बैठकमा त्यसबारे भने कुनै छलफल नभएको बुझिएको छ ।