किशोरीको अधिकार खोस्दै अनलाइन

गलत सूचनाका कारण बालिकामाथि राजनीतिक, नागरिक तथा सामाजिक असर


नेपाल समाचारपत्र, काठमाडौं ।

अनलाइनको माध्यमबाट गलत र त्रुटिपूर्ण सूचना सम्प्रेषण हुने गरेका कारण विश्वका १८ मुलुकका किशोरी तथा बालिकाको ठूलो संख्या नराम्रोसँग प्रभावित भएको अध्ययनले देखाएको छ ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्लान इन्टरनेसनलले मंगलबार भनेको छ– ‘इन्टरनेटमा आधारित गलत सूचनाकै कारण बालिका तथा किशोरीहरू राजनीतिक, नागरिक तथा सामाजिक अधिकारबाट वञ्चित भएका छन् ।’

‘विश्वका बालिकाको अवस्था’ नामक प्रतिवेदनमा प्लान इन्टरनेसनलले गलत र त्रुटिपूर्ण सूचनाका कारण बालिकाको मानवअधिकार हनन भएको जनाएको छ । २६ मुलुकका २६ हजार बालिका तथा किशोरीले अनलाइनमार्फत पाएको शिक्षा ‘ज्ञान नभएर विनासका कारण’ भएको जनाइएको छ ।

‘अनलाइनका पाठ्यसामग्रीमा महिला तथा किशोरीलाई परम्परागत रूपमा प्रस्तुत गर्ने गरिएको, उनीहरूको क्षमता र सम्भावनाप्रति ध्यान नदिइएको र विश्व रूपान्तरण गर्ने साहस पहिचान नभएको पाइयो ।’ –प्रतिवेदनमा भनिएको छ ।

आइरल्यान्डकी १९ वर्षे लिली भन्छिन्– ‘किशोरीलाई परम्परागत जिम्मेवारीमा सीमित गरेर प्रस्तुत गरिएका सामग्री त्रुटिपूर्ण छन्, यस्ता सामग्रीको ठूलो अर्थ रहन्छ ।’

‘खास गरी यौन र यौनिकता, बालिकाको अधिकार र नारीवादका विषयमा किशोरीहरू अनलाइनमा निर्भर हुन्छन्, किनभने यस्ता विषय उनीहरूको घर–परिवारमा खुला रूपमा छलफल हुने गर्दैन ।’ –प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा यस्ता विषयमा गलत र त्रुटिपूर्ण जानकारी अनलाइनमा राखिएका कारण गम्भीर असर परेको, बालिकाको भविष्य र क्षमतामा प्रतिकूल असर परेको औंल्याइएको छ ।

‘यौनिकताका विषयमा मेरो घर–परिवारमा कुनै कुरा हुँदैन, हामी हुर्किंदै गएपछि शारीरिक तथा मानसिक परिवर्तन के हुन्छ, कस्ता विषयमा ध्यान दिनुपर्छ भनेर ठूलाबडाले भन्दैनन्, सबै अनलाइनकै भर हो ।’ –मलावीकी २२ वर्षीया लिसा भन्छिन् ।

औपचारिक तथा अनौपचारिक शिक्षाभन्दा बाहिरको ज्ञानका लागि अनलाइन प्रभावशाली स्रोतका रूपमा रहेको छ, विश्वका लागि यो वरदान हो । तर, स्रोतको यस मुहानमै प्रदूषण रहेका कारण आम उपभोक्तामा नकारात्मक असर परेको प्रतिवेदनको निष्कर्ष छ ।

जर्मनीकी १८ वर्षीया नाबिला भन्छिन्– ‘थाहै नपाई हामीमाथि धूत्र्याइँ गरिएको देखेर त्रसित हुन्छु, आफैमाथिको गलत सूचनालाई सही ठानेर साथीहरूका बीच सम्प्रेषण गरिरहँदा को त्रसित हुन्न र !’

शोधमा सहभागी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, रंगभेदमा परेका, जातिगत र धार्मिक अल्पसंख्यकहरूले आफूहरूलाई अनलाइनमा बढी मात्रामा पक्षपातमा पारिएको अनुभूति भएको बताएका छन् ।

सहभागीहरूले इन्टरनेटको राजमार्गमा पहुँच हुने व्यक्तिले मात्र सूचना पाउने र प्राप्त सूचनाको सत्यता प्रमाणित गर्ने विकल्प पनि नहुने अवस्थाप्रति चिन्ता प्रकट गरेका छन् । केन्याकी २० वर्षे मियाको आशय पनि यस्तै छ । उनले भनेकी छन्– ‘विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सामग्रीका लागि अनलाइनमा आधारित हुने जमानामा हामी छौं, यसमा सबैको पहुँच र सामग्रीमा शुद्धताका लागि विश्व गम्भीर हुनैपर्छ ।’

नाइजेरियाकी २२ वर्षे टाइफलाई त अनलाइनका सूचनाहरू आधाउधि मात्र सही लाग्छ । उनी भन्छिन्– ‘अधिकांशतः हामी सुसूचित हुनै पाउँदैनौं, सधैं स्रोतको सत्यता प्रमाणित गरेर बस्न पनि सकिन्न । त्यसैले, कुनै जानकारी पाउनासाथ अरूलाई शेयर गरिहाल्ने काम नगरौं !’

अनलाइनमा राखिने गलत र त्रुटिपूर्ण जानकारीका बारेमा कति प्रतिशत किशोरीले के भने ?

९१ प्रतिशत हामी चिन्तित छौं ।
४० प्रतिशत अत्यन्त चिन्तित छौं ।
४६ प्रतिशत दिक्क, हतोत्साही, तनावपूर्ण अवस्थामा छौं ।
८७ प्रतिशत नकारात्मक असर भोगिरहेका छौं ।
२५ प्रतिशत सूचना शेयर गर्न मन लाग्दैन ।
२० प्रतिशत किशोरीको आत्मसम्मान बढाउने सामग्रीको अभाव देख्छौं ।
७० प्रतिशत गलत त्रुटिपूर्ण सूचनाबाट कसरी बच्ने भनेर सिकाइयोस् ।