कुशल म्युजिक भिडियो निर्देशक


सञ्चारकर्मी कुशल श्रेष्ठको परिचय केही समययता फेरिएको छ। उनी आफ्‌नो नामजस्तै कुुशल म्युजिक भिडियो निर्देशकका रूपमा स्थापित भएका छन्‌।

बेलायत बस्दै आएका उनी त्यहाँ सर्वाधिक व्यस्त र कुशल म्युजिक भिडियो निर्देशकको परिचय स्थापित गर्न सफल भएका छन्‌। तीन दर्जनभन्दा बढी म्युजिक भिडियोको निर्देशन‚ छायांकन र सम्पादन गरिसकेका कुशलको काम हप्तैपिच्छे सार्वजनिक भइरहने म्युजिक भिडियो आफैँले बोलिरहेका छन्‌। कुशल सञ्चारकर्ममा व्यस्त रहँदारहँदै सम्पादन र निर्देशनमा होमिएका हुन्‌। बेलायतमा बसेर आकर्षक म्युजिक भिडियो तयार पार्ने उनको कामको कदर त्यहाँ त भइरहेकै छ‚ नेपालमा पनि उनको कामले रंग देखाइरहको छ। केही अघि मात्रै सिजन मिडियाले राजधानीमा आयोजना गरेका कार्यक्रममा विभिन्न क्षेत्रका हस्तीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने क्रममा कुशल मिडिया पर्सन तथा भिडियो डाइरेक्टर डायस्पराबाट अवार्डेड भएका छन्‌। कुशल बेलायतमै रहेका कारण कार्यक्रममा भने उपस्थित हुन सकेनन्‌। उक्त कार्यक्रममा गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो। यसै साता सम्पन्न क्वालिटी फिल्म‚ फेसन र म्युजिक अवार्डमा पनि कुशल बैगुनी बोलको गीतको म्युजिक भिडियोबाट उत्कृष्ट म्युजिक भिडियो निर्देशक विजेता भएका छन्‌।

कुशल म्युजिक भिडियो छायांकन‚ सम्पादन र निर्देशन आफैंले गर्छन्‌। विदेशमा बसेर यसैलाई पूर्णकालीन व्यवसाय बनाउने थोरैमध्येमा उनी एक हुन्‌। कुशलको व्यवसायिक भिडियो तथा फोटोग्राफी बेलायतस्थित नेपाली समुदायमा मात्र सीमित छैन‚ उनले बेलायती‚ भारतीय‚ पाकिस्तानी‚ बंगलादेशी‚ नाइजेरियन‚ अफगानी विज्ञापन र भिडियो निर्माणको कामसमेत गर्दै आएका छन्‌। एपीवान टेलिभिजनका लागि बेलायत संवाददाता रहेका कुशलले नेपालबाहिरको पहिलो स्याटेलाइट टिभी लन्डनबाट सञ्चालित नेपाली टिभीमा निर्देशक भएरसमेत काम गरेका छन्‌। बेलायतको नेपाली डायस्पोरामा गरेको योगदानस्वरूप उनले उत्कृष्ट म्युजिक भिडियो अवार्डसहित दर्जनौं संघसंस्थाबाट अवार्ड र सम्मानसमेत पाइसकेका छन्‌।