एन्फाका वर्तमान अध्यक्षलाई पूर्वअध्यक्षको चुनौती

1.69k
Shares

हेटौंडा‚ (नेस) ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दशवर्षे प्रतिबन्ध लगाएका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई भ्रष्टाचारको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

गृहनगर हेटौंडामा आइतबार पत्रकार सम्मेलन गर्दै उनले दाबी गरे– ‘एन्फा अध्यक्षले मैले ५८ करोड भ्रष्टाचार गरेको आरोप प्रमाणित गर्नुपर्‍यो‚ नभए सार्वजनिकरूपमा माफी माग्नुपर्‍यो ।’ एन्फा बैठकमा शेर्पाले माफी मागिसकेको भन्दै उनले मर्नुअघि यथार्थ कुरा बाहिर आओस् भन्ने चाहेको बताए ।

‘मैले एक रुपियाँ मात्र पनि भ्रष्टाचार गरेको कर्मा छिरिङले प्रमाणित गरून् । मप्रति अन्याय भएको छ’‚ थापाले भने– ‘म २२ वर्ष एन्फाको नेतृत्वमा रहँदा गरेको खर्च र कर्मा छिरिङले एक कार्यकालमा गरेको खर्च सार्वजनिक गरौं । कति भ्रष्टाचार भएको छ भन्ने छर्लङ्ग हुनेछ ।’
आफू अध्यक्ष रहँदाको फाइल तथा कागजपत्र एन्फामै रहेको भन्दै उनले सबै खोजेर हेर्न वर्तमान कार्यसमितिलाई अनुरोध गरे । ‘मेरो केही गल्ती छैन । उनले थपेे– ‘मंसिर दोस्रो सातादेखि म उनीहरूको झुटको खेतीविरुद्ध लाग्नेछु ।’

मोहम्मद बिन हमामले आफूलाई पैसा किन दिएको भन्ने विषयमा कि हमामलाई‚ कि आफूलाई वा कि पशुपतिनाथलाई थाहा भएको जिकिर गर्दै उनले पारिवारिकरूपमा सहयोग आएको र भोटका निम्ति नआएको प्रष्ट पारे ।

‘फिफा‚ एएफसी र एन्फाको औपचारिक कार्यक्रमबाहेक कुनै गतिविधिमा सहभागी हुन वा आफैंले आयोजना गर्न कुनै कानुनी र व्यवहारिक समस्या छैन । फिफाको प्रतिबन्धमा सरकार वा स्थानीय सरकारसँग सहकार्य गर्न रोक लगाइएको छैन’‚ हेटौंडा उपमहानगरपालिकाले उनको संस्थासँगको सम्झौता रद्द गरेको पीडामा उनले भने–‘निकै उत्साहसाथ भएको सम्झौता रद्द हुँदा दु:खी छु ।’

फिफाले आफूलाई कुनै आर्थिक अनियमितताको आरोपमा कारबाही गरेको नभई एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामले पारिवारिकरूपमा गरेको सहयोगलाई भोटका निमित्त दिएको भन्दै कारबाही गरेको उनले प्रष्ट्याए । हमामले आफ्नो परिवारलाई मात्र नभई धेरै नेपाली खेलाडी र व्यवस्थापकलाई व्यक्तिगतरूपमा सहयोग गरेको भन्दै उनले उक्त रकमसमेत सामाजिक कार्यमा खर्च गरिएको प्रष्ट्याए । आफू फिफाको दायरामा रहेर अघि बढेको भन्दै थापाले अब एक पाइला पछि हटेर भए पनि सम्झौता अघि बढाउन चाहेको बताए ।

‘सम्झौता गर्ने/नगर्ने उहाँहरूको कुरा हो । प्रतिबन्धित मान्छेले प्रतिबन्धित गतिविधि गर्न खोजेको भए मलाई फिफाले थप कारबाही नगर्ला र ?’‚ उनले भने– ‘हेटौंडा उपमहानगरले सम्झौतालाई निरन्तरता दिनेछ भन्नेमा विश्वस्त छु ।’

खेलाडी उत्पादनका लागि भन्दै थापाको संस्था नेपाल स्पोर्टस् अर्गनाइजेसनले सञ्चालन गर्न लागेको फुटबल एकेडेमीलाई हेटौंडा उपमहानगरपालिकाले २५ लाख दिने निर्णय गरेसँगै विवादको अवस्था आएको थियो । उपमहानगरले संस्थासँग सम्झौता गरेको भन्दै थापाले खुसी व्यक्त गरेका त थिए‚ तर नगरपालिकाले भोलिपल्ट सम्झौता रद्द गरेको थियो ।

थापाले नेपाली फुटबललाई राम्रा‚ स्तरीय र प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले खाने‚ बस्ने र शिक्षासँगै फुटबल प्रशिक्षणको सम्पूर्ण जिम्मेवारी लिने गरी अघि बढ्न खोज्दा पहिलो कार्यक्रममै विवाद आएको बताए ।

२५ लाख रुपैयाँ उपमहानगरपालिकाले उपलब्ध गराउने र अपुग रकम अन्य प्रायोजकबाट उठाउने लक्ष्यसहित अघि बढेकोमा ‘प्राविधिक कारण’ भन्दै सम्झौता रद्द गरिएकोमा आश्चर्य लागेको उनको भनाइ थियो ।