कांग्रेसको महाधिवेशन र नेतृत्व चयन


  • पविता मुडभरी पुडासैनी

स्थापनाको ७५ वर्षको अवधिमा १४ औँ महाधिवेशनको संघारमा उभिएको कांग्रेसले २०१७ पछि एकै पटक २०४८ मा आठौँ महाधिवेशन गर्‍यो । २०६३ यता कांगे्रसका बाह्रौँ र तेह्रौँ महाधिवेशन भए । गत फागुनमै हुनुपर्ने कांग्रेसको १४ औँ नियमित महाधिवेशन समयमा हुन नसक्दा पार्टी नै वैधानिक संकटमा पर्ने हो कि भन्ने संसय बढिरहेकै अवस्थामा कांग्रेस वडा हुँदै गाउँ/नगर अधिवेशनमा होमिएको छ ।

आउँदो मंसिरमा हुने महाधिवेशनको चहलपहल केन्द्रदेखि पार्टीको तल्लो तह वडा इकाइसम्मै व्याप्त भइसकेको छ । महाधिवेशन नजिकिँदै गर्दा वडा हुँदै गाउँ तथा नगरपालिकाबाट प्रतिनिधि चुनिने क्रम जारी छ । कांग्रेसले असोज ५ गतेसम्म ७७ वटै जिल्लामा वडा अधिवेशन गरिसक्ने र असोज ९ गते गाउँ/नगर पालिका र असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गरिसक्ने कार्य तालिका बनाएको थियो तर सक्रिय सदस्यतासँगै चुलिएको चुनावी किचलोले समयमै सम्पन्न हुन सकेन । वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनसँगै पालिका‚ प्रदेश‚ क्षेत्र‚ जिल्ला र केन्द्रका ६ चरणका सिलसिलेवार चुनाव हुनेछ । वडाबाट छनौट भएका क्षेत्रीय प्रतिनिधिले नगरको नेतृत्व छनौटका लागि मतदान गर्नेछन् । क्रियाशील सदस्य संख्याको आधारमा सभापति‚ उपसभापति‚ सचिव‚ सहसचिव र सदस्यहरु निर्वाचित भएका छन् । कांग्रेसले दशैँअघि सबै जिल्लाका पालिका स्तरका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रत्येकजसो वडा अधिवेशन र गाउँ/नगर अधिवेशनमा देउवा र पौडेल पक्ष प्यानल बनाएरै प्रतिस्पर्धामा होमिएका छन् । विधि र विधानअनुरुप महाधिवेशनभन्दा ६ महिनाअघि नै वितरण गरिसक्नुपर्ने क्रियाशील्ा सदस्यता विवादको भुङ्ग्रोमा छ । पहुँच र गुटका आधारमा सदस्यता वितरण र क्षेत्रीय प्रतिनिधि चयन गर्न खोज्दा निर्वाचनमा तीव्र प्रतिस्पर्धाका साथै झडपको स्थितिसमेत निम्तिएको छ । गुटमा विभाजित भएर वडा अधिवेशन र पालिका अधिवेशनमा पद पड्काएकाहरुले देश र जनताका लागि केही गर्लान् भन्ने विश्वास गर्न सकिँदैन । वडा अधिवेशनमा छानिएका क्षेत्रीय प्रतिनिधिहरु राम्रो भन्दा हाम्रोलाई प्राथमिकतामा पारिएका छन् र शिक्षित‚ चिन्तनशील‚ विकासप्रेमी जुझारुहरु पाखा लगाइएका छन् । आगामी निर्वाचनमा हुनसक्ने घात‚ प्रतिघात र अन्तरघातको सिलसिला वडा अधिवेशनबाटै देखिइसकेको छ । नेताहरु बलिया हुँदै जाने तर पार्टी र देश भड्खालोमा परोस् भन्ने प्रवृत्ति अङ्गालेका स्वार्थी‚ दम्भी र शक्ति उन्मुख समूहले कांग्रेसलाई कब्जा गर्ने चिन्ता बढेको छ । पार्टीको केन्द्रीय तहमा देखिएको फरक गुट समूहअनुसार नै जिल्लाका सबैजसो पालिकाको नेतृत्वमा दुई वा सो भन्दा बढी उम्मेदवार नेतृत्वका लागि भिड्दै छन् । वडा तथा पालिका अधिवेशनमा देउवा र पौडेल दुई पक्षबीचको टकराव बढी छ तापनि सबैजसो वडा र पालिकाका सभापतिहरु देउवा पक्षका बढी देखिएका छन् ।

विशेषत: इकाइ सभापति पदका लागि का‌ग्रेसभित्र गुट–उपगुट खडा हुनाले र उम्मेदवारी दर्ता गराउनेले आफ्नो दाबी नछाडेपछि सर्वसंम्मत नेतृत्व चयन हुन नसकी चुनाव नै गराउनुपर्ने बाध्यता छ । केही पालिकामा एक गुटको उम्मेदवारलाई भोट हाल्न गएका सक्रिय सदस्य सर्वसम्मत प्रतिनिधि चुनिएपछि निराश भई फर्किएका पनि देखिन्छन् । संगठन बलियो र व्यवस्थित बनाउनभन्दा पार्टीको प्रमुख बन्ने ध्याउन्नमा पालिका प्रतिनिधिहरु दौडधुपमा लागेको देखियो । कसैलाई निषेध गरेर र गुट पक्रेर अघि बढ्न खोज्ने प्रवृत्ति बढेको छ । पालिका इकाइ समितिमा १ सभापति‚ २ उपसभापति‚ २ सचिव र २ सहसचिवसहित प्रत्येक वडाबाट ३–३ सदस्य निर्वाचित हुने व्यवस्था छ । निर्वाचित पालिका समितिले नै कोषाध्यक्ष मनोनयन गर्नेछ ।

नेपाली कांगे्रसका क्रियाशील सदस्यता लिने पङ्क्तिमा देशैभर नवयुवाहरुको उत्साहजनक उपस्थिति देखिएको छ । क्रियाशील सदस्यतामा देखिएको यो उत्साहले स्थानीय तहको संगठनलाई चलायमान गराउन र नयाँ गति दिन क्षेत्रीय प्रतिनिधि र वडा इकाइमा भएको चयनले सकारात्मक तरंग पैदा गरेको छ । कतै चुनावी प्रक्रिया र कतै सर्वसम्मत छनौट भएका प्रतिनिधिमध्ये युवाकै वर्चश्व बढी देखिएको छ । वडा अधिवेशनमा भएको प्रतिनिधि चयनमा युवाहरुको उत्साहजनक संलग्नता देखिनु सुखद पक्ष हो । दैलेखकी १९ वर्षीया स्वस्तिका महत‚ अछामकी २२ वर्षीया जानकी राउतलगायत स्थानीय तहको वडाको सभापति तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरु चयन हुनुलाई कांग्रेसमा बढेको जनआकर्षण मान्न सकिन्छ । राजनीतिमा युवा नेतृत्वको विषयमा बहस भइरहेका अवस्थामा बूढा नेतालाई नेतृत्वबाट पाखा लगाउन युवाहरु यसै गरी अगाडि आउन जरुरी छ । रोगी‚ वृद्ध नेताहरुको नेतृत्वमा वर्चश्व र हठवादीताले देशको विकास निर्माण कार्य अस्तव्यस्त भइरहेको अवस्थामा युवा नेताहरु घात‚ प्रतिघात‚ भ्रष्टाचार र राजनीतिक बेइमानीबाट माथि उठेर नेतृत्व हत्याउने तहमा बुर्कुसी मार्नु अहिलेको आवश्यकता नै हो । टीका लगाएर र फेरो समातेर पार्टी प्रवेश गरेका केही उद्दण्ड कांगे्रसको वडा अधिवेशनदेखि नै देखिँदै आएको हस्तक्षेप निन्दनीय छ । युवा आकर्षणका नाउँमा बेरोजगार र अक्षम भीडको छहारी बन्नुहुँदैन यो अधिवेशन । आउँदो महाधिवेशनबाट चुनिने नेतृत्वमा व्यक्तित्व‚ विचार‚ योग्यता र व्यवस्थापन कला सबै गुण हुनुपर्नेमा हामी सचेत हुनु जरुरी छ ।

कांग्रेसमा नेतृत्व र पदाधिकारीका प्रत्यासीहरुको होडबाजी तीव्र हुँदै गएको छ । सभापति र महामन्त्री पदका लागि कांग्रेसबीच चर्को हानथाप छ । आफ्नो पक्षको विजय सुनिश्चित गर्न कांगे्रसभित्रका गुट–उपगुटमा मुख्य ध्यान सदस्यता वितरणमा देखिएको छ । नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धाभन्दा दबाब र प्रभावमा पारेर सर्वसम्मतका नाउँमा आफ्ना पकेटका मानिसलाई टीका लगाई पद गोजीमा भरिदिने क्रियाकलाप ठाउँ–ठाउँमा देखिएका छन् । गुट र गिरोहको आडमा शक्तिको दुरुपयोग व्याप्त भएको छ । अधिवेशनबाट आउने नयाँ नेतृत्वले जनतामा राजनीतिक उत्साह र भरोसा जगाउन सके मात्र अधिवेशनको औचित्य सिद्ध हुन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पालिका अधिवेशनलाई सफल पार्दै नगर र गाउँपालिकामा कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । बलियो कांग्रेस समृद्ध देशको नारा अघि सारेका देउवाले नेपाली कांगे्रसका नगर र गाउँ प्रतिनिधि तथा ८ लाखभन्दा बढी क्रियाशील सदस्यहरुलाई शुभकामना दिँदै आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म तय भएको केन्द्रीय महाधिवेशनमा जोश–जाँगरका साथ संलग्न भई सफल पार्न आह्‌वान गरेका छन् । अधिवेशनको प्रक्रियामा सहभागी प्रतिनिधिहरुलाई गाउँ/नगरमा आफ्नो भूमिकालाई सशक्त र प्रभावकारी बनाउन आग्रह गरेका छन् । आम देशवासीलाई सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामाफर्त अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् । वास्तवमा आगामी महाधिवेशनले चुन्ने कांग्रेसको नेतृत्व दूरर्दशी दृष्टिकोणसहितको विकासप्रेमी हुनुपर्छ । राजनीतिक अस्थिरताबाट देशलाई बचाउन पार्टीको विधान र सिद्धान्तको अनुसरण गर्ने सशक्त नेतृत्व चयन गर्नुपर्छ ।

नेतृत्व परिवर्तनका लागि महाधिवेशन नै अभ्यास थलो हो । तर आउँदो महाधिवेशनका लागि कांग्रेसमा नेतृत्व परिवर्तनको विकल्प दिने सर्वमान्य सशक्त प्रतिस्पर्धी नै देखिएका छैनन् । विमलेन्द्र निधी‚ रामचन्द्र पौडेल‚ सशांक कोइराला‚ प्रकाशमान सिंहलगायतका नेता शेरबहादुर देउवाका विकल्प हुँदै होइनन् । पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न नसके आगामी निर्वाचनमा जनताले विश्वासको मत दिन नसक्ने बताएका छन् । सिंहले देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई गणेशमान सिंहका छोरा प्रकाशमानलाई पार्टीको नेतृत्वमा पुर्‍याउन हाकाहाकी आह्‌वान गर्नु रोेइलो मात्र पो ठहर्ने हो कि ? आफू सरकारको नेतृत्वमा रहेर महाधिवेशन गराउने सौभाग्य पाएका देउवाले आफूलाई नै सभापतिमा जिताएर आगामी राष्ट्रिय चुनावमा होमिने सुअवसरको सही सदुपयोग गर्ने समय हो यो ।

अब नेतृत्वले इतिहासको समीक्षा र भावी योजनाबारे व्यापक बहस गर्नुपर्छ । सरकारमा रहेर शक्ति केन्द्रीकरण गर्ने अवसर जुरेका अवस्थामा देउवाले महाधिवेशनबाट नेतृत्व हात पारेसँगै आफ्नो बुढ्यौलीलाई युवाजोशमा परिवर्तन नगरी धर छैन । १४ औँ महाधिवेशनमा शेरबहादुर देउवाका विकल्प देउवा नै बन्नेमा शंका छैन । उनको विकल्पमा आउनुपर्ने युवा नेताहरु स्वयं आफ्नो समय आई नसकेको बताउँदै महामन्त्री पदमा प्रतिस्पर्धी बन्ने तयारीमा छन् । गगन थापा‚ विश्वप्रकाश शर्मा‚ गुरुराज घिमिरेजस्ता सशक्त युवा नेताको सभापतिमा दाबी गर्ने खूबी खस्किएसँगै देउवाको स्थान चुलिने निश्चित छ । महाधिवेशनमा देशभरबाट ४‚१२५ जना प्रतिनिधि चुनिनेछन् । जसमध्ये प्रत्यक्षबाट ६० प्रतिशत र समानुपातिकबाट ४० प्रतिशत निर्वाचित हुनेछन् । १‚३०४ जना महिला प्रतिनिधि चुनिनेछन्‌‚ जुन कुल प्रतिनिधि संख्यामध्ये ३१ दशमलव ९ प्रतिशत हो ।

संविधानको धारा २६९ मा राजनीतिक दलको गठन दर्ता र सञ्चालनको व्यवस्था छ । पाँच वर्षभित्र प्रत्येक दलको प्रदेश र केन्द्रीय महाधिवेशन हुनुपर्ने प्रावधान छ । कांग्रेसको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने म्याद गत फागुन १९ मै सकिएको हो । विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ महिना थप्न सकिने विशेष परिस्थितिको सुविधासमेत सकिएको छ । यो विशेष परिस्थितिमा महाधिवेशन गर्न नसक्ने दललाई कारबाही हुन सक्ने र ५० हजार रुपियाँ तिरेर ६ महिना म्याद थप्न सक्ने अर्को व्यवस्था भएका कारण कांगे्रसले महाधिवेशनको लागि तोकिएको मिति अब कुनै पनि हालतमा सार्न नहुने अवस्था छ । वडास्तरीय अधिवेशन गर्दै पालिका र जिल्ला अधिवेशन समयमै सकेर तोकिएकै समयमा महाधिवेशन सम्पन्न गरी कांगे्रसले आफ्नो राजनीतिक संगठनलाई मजबुत‚ चलायमान र क्रियाशील बनाउनुका साथै देशलाई राजनीतिक स्थायित्व एवं समृद्ध दिलाउनु जरुरी छ । आगामी महाधिवेशनले चुन्ने कांग्रेसको नेतृत्व संविधान‚ विधि र प्रक्रियामुताबिक चल्ने विकासप्रेमी‚ सक्षम र सर्वप्रिय होस् भन्ने हामी सबैको अपेक्षा हो ।

([email protected])