२ सयभन्दा बढी पाकेटमार समातिए


नेपाल समाचारपत्र, काठमाडौं ।

लामो समयपछि काठमाडौं प्रहरीले पाकेटमारीमा संलग्न रहेको ठूलो समूहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार २ सयभन्दा बढी पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पक्राउ परेकामध्ये १ सय ६० भन्दा बढीलाई थुनामा पठाइएको जानकारी दिनुभयो ।

प्रहरीले यति ठूलो समूहलाई एकैपटक पक्राउ गरी सार्वजनिक गरेको पहिलोपटक होे । गत भदौ २५ गतेपछि शुरु गरिएको ‘पाकेटमार पक्राउ’ अभियानलाई निरन्तरता दिने पनि एसएसपी सिंहले बताउनुभयो ।

एक दशक अघिसम्म राजधानी उपत्यका पाकेटमारको निसानामा पर्ने गरेको थियो । प्रहरीले पाकेटमारविरुद्ध अपरेसन नै गरेर उनीहरूको समूह छिन्नभिन्न बनाएपछि केही शान्त बनेको उपत्यकामा फेरि संगठित रूपमा पाकेटमारी गर्ने समूह सक्रिय बन्दै आएपछि प्रहरीले ‘पाकेटमार पक्राउ’ अभियानलाई तीव्रता दिएको हो ।

बढी भीडभाड भएको ठाउँ, सार्वजनिक यातायात, सपिङ मलहरूमा पाकेटमारको बिगबिगी बढेपछि प्रहरीले त्यस्ता गिरोहलाई पक्राउ गर्न विशेष टोली नै बनाएर अपरेशन शुरु गरेकोे हो ।

अधिकांश पाकेटमारले जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा उनीहरु जेल चलान भएका थिए । दशैं, तिहार र छठमा किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको हो । सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

सार्वजनिक बसमा दुई–दुई जनाको दरले ६ जनाको समूह बनाएर छिर्ने पाकेटमारहरुले यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरी पनि पछिल्लो समय यात्रीका रूपमा सार्वजनिक यातायातमा चढ्ने र उनीहरुको गतिविधिलाई नजिकबाट नियालेपछि पक्राउ गर्ने गरेको थियो । पाकेटमारलाई पक्राउ गर्न जाँदा प्रहरी र पाकेटमारबीच कुटाकुटसमेत भएको एसएसपी सिंहले जानकारी दिनुभयो ।

पाकेटमारले पाकेट मार्न जाँदा सांकेतिक भाषाको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

पाकेटमारले प्रयोग गर्ने भाषा

पैसा  : द

मोबाइल : कान

पाकेटमारी सकेको मान्छे : रामे

पाकेटमारका मास्टर : काशी

पैसा धेरै छ : टानको द

पैसा थोरै छ : जुटको द

गाडी : काँचा

केटा  : छापा

केटी : भद्री

पुलिस आयो : ठुल्दाइ आयो

ड्राइभर : माम

खलासी : मले

गाडीबाट झरेर भाग : टप्की

गाडीभित्र अगाडि सर : अकल जा

गाडीभित्र पछाडि सर : चिछल जा