अधिकांश जिल्लामा शिक्षक अभाव, प्राविमा ८० प्रतिशत दरबन्दी खाली


ईश्वरराज ढकाल, काठमाडौं ।

शिक्षक सेवा आयोगले रिक्त शिक्षकको विज्ञापन गर्ने अन्तिम तयारी गरिरहँदा ८ जिल्लामा प्रतिजिल्ला ४ सयभन्दा बढी र १५ जिल्लामा प्रतिजिल्ला ३ सय ५० भन्दा बढी शिक्षक पद रिक्त देखिएको छ । तीमध्ये अधिकांश जिल्लामा प्राथमिक तहको शिक्षकको अभाव अधिक देखिएको छ । ती जिल्लामा झन्डै ८० प्रतिशत प्रावि शिक्षकको दरबन्दी खाली छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आयोगलाई पठाएको तथ्यांकमा  सबैभन्दा बढी बागलुङमा शिक्षकको संख्या कमी रहेको छ । बागलुङमा ५ सय ३५ शिक्षक पद रिक्त रहेकोमा ४ सय २९ जना प्रावि तहको शिक्षक मात्रै रहेका छन् ।

खोटाङमा ४ सय ९ शिक्षकको अभाव देखिएको छ । तीमध्ये ३ सय ९ प्रावि शिक्षक छन् । केन्द्रका अनुसार प्रावि तहको शिक्षक व्यवस्थापन र पदपूर्ति गर्न समस्या देखिएको छ । दशैंलगत्तै विज्ञापन खुला गर्ने तयारीमा रहेको आयोगले ७७ वटै जिल्लाको तथ्यांक प्राप्त गरेको छ । तथ्यांकमा उल्लेख भएअनुसार भोजपुरमा ४ सय ४, मोरङमा ४ सय ६५, काभ्रेमा ४ सय, तनहुँमा ४ सय ३९, स्याङ्जामा ४ सय २० र गुल्मीमा ४ सय ७२ शिक्षक पद रिक्त छ  ।

तीन जिल्लाबाहेक सबै जिल्लामा २ सय बढी प्रावि तहको शिक्षक रिक्त छन् । माध्यमिक विद्यालयमा सबैभन्दा कम र प्रावि तहको तुलनामा निम्न माध्यमिक विद्यालयमा केही कम देखिएको छ ।

तथ्यांकअनुसार ३ सयभन्दा बढी शिक्षकको अभाव रहेको जिल्लाको संख्या १५ रहेको छ । ती जिल्लामा पनि प्रावि तहको शिक्षकको अभाव देखिएको छ । आयोगले सबै जिल्लाको तथ्यांक संकलन गरेर मात्र विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठले १७ हजार ४७ शिक्षकको एकैपटक विज्ञापन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँको अनुुसार माविमा १ हजार ५ सय ४२, निमावि तहमा २ हजार ५ सय ९३ र प्रावि तहमा १२ हजार ९ सय १२ शिक्षक अभाव रहेको छ ।

आयोगमा प्राप्त तथ्यांकअनुसार ताप्लेजुङमा ३ सय ७१, पाँचथरमा ३ सय ५५, इलाममा ३ सय ७६, तेह्रथुममा ३ सय २९, झापामा ३ सय २४ शिक्षक रिक्त रहेको छ । झापामा ३ सय २४ मध्ये ३ सय ५ जना प्रावि तहको शिक्षक खाली रहेको छ ।

बारामा ३ सय ३०, दोलखामा ३ सय ९, सिन्धुलीमा ३ सय ३०, सिन्धुपाल्चोकमा ३ सय ९९, नुवाकोटमा ३ सय ८९, धादिङमा ३ सय, चितवनमा ३ सय ५०, मकवानपुरमा ३ सय ७८, गोरखामा ३ सय ९३ र पाल्पामा ३ सय ६५ शिक्षक रिक्त छन् ।

पछिल्लो तथ्यांकअनुसार अधिकांश जिल्लामा सयभन्दा बढी शिक्षक रिक्त छन् । सबैभन्दा कम मनाङमा १६, भक्तपुरमा २५, ललितपुरमा ४३, काठमाडौंमा २९, मुस्ताङमा ३३, रुकुम पूर्वमा ८५, कञ्चनपुरमा ८७ र कैलालीमा ८६ शिक्षक अभाव छन् । उपत्यकामा एक जना पनि प्रावि शिक्षकको दरबन्दी रिक्त छैन । तीबाहेक सबै जिल्लामा प्रावि शिक्षकको अभाव रहेको तथ्यांकले देखाएको छ ।

स्थानीय तहको सहयोगमा जिल्लाका केही उत्कृष्ट कहलिएका विद्यालयमा निजी स्रोतका शिक्षकले पढाइरहेका छन् । राहत शिक्षकको भरमा विद्यालय चलिरहेका छन् ।