मधेसका मुद्दा पूरा गराउन सरकारलाई समर्थन : ठाकुर


राजविराज, (नेस) ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीको सरकारमा जाने प्राथमिकता नरहेको बताउनुभएको छ ।

सोमबार पार्टीको सप्तरी कार्यसमितिले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । ‘आफूहरुको प्राथमिकता मधेसका माग र मुद्दा मात्रै हो’, उहाँले भन्नुभयो– ‘ती माग र मुद्दा पूरा गराउनै तत्कालीन केपी ओली नेतृत्वको सरकारजस्तै शेरबहादुर देउवा सरकारलाई पनि समर्थन जनाएका छौं ।’

अर्को सन्दर्भमा बोल्दै अध्यक्ष ठाकुरले नेपाल भारतको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको बताउनुभएको छ । ‘हामी नेपाली समस्यामा पर्दा भारतबाट सहयोग खोज्छौं र सहयोग गर्छ पनि’, उहाँले भन्नुभयो– ‘त्यसलाई कतिपयले हस्तक्षेप पनि भन्छन्, सहयोगलाई कदापि हस्तक्षेप वा प्रभाव भन्न मिल्दैन ।’ छिमेकीको नाताले नेपालको राजनीतिमा भारतको चिन्ता पनि स्वाभाविक रहेको अध्यक्ष ठाकुरको कथन छ ।

वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको दुवै छिमेकी भारत र चीनमध्ये कसैको पनि गुलामी गर्नु जरुरी नरहेको बताउनुभएको छ । ‘दुवैसँग समान सम्बन्ध राख्नुपर्छ’, उहाँले भन्नुभयो– ‘चीन वा भारत कसैको गुलामी गर्नु जरुरी छैन ।’

अर्को प्रसंगमा महतोले उपेन्द्र यादवले पार्टी फुटाएर मधेसी शक्तिलाई कमजोर गरेकाले आगामी चुनावमा गठबन्धन हुने सम्भावना कम रहेको बताउनुभएको छ । ‘जनता समाजवादी पार्टी मधेसलाई कमजोर गर्ने, खण्डित गर्ने र विभाजन गर्ने पार्टी हो’, उहाँले भन्नुभयो– ‘आगामी निर्वाचनमा उक्त पार्टीसँग गठबन्धनको सम्भावना कमै छ ।’ उपेन्द्र यादवले मधेसको मुद्दालाई कमजोर बनाएको महतोको आरोप छ