कार्कीको जनकपुर दौड


काठमाडौं, (नेस) ।

धावक रामसुन्दर कार्की ललितपुरको गोदावरीदेखि जनकपुरसम्म दौडिने भएका छन् । विगतमा पनि विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग जुटाउन दौडिँदै आएका कार्की यसपटक धार्मिक कार्यका लागि दौडिन लागेका हुन् ।

कार्कीले मंसिर २० गतेदेखि दौड यात्रा प्रारम्भ गर्ने जनाएका छन् । ३ दिनमा २ सय २५ किलोमिटर दूरी पूरा गर्ने कार्कीले बताए । गोदावरी नगरपालिका १, गोदामचौरको कार्कीटारस्थित आफैंले निर्माण गरेको हनुमान मन्दिरमा गर्दा स्थापनाका लागि आर्थिक सहयोग जुटाउन कार्की दौडिन लागेका हुन् । उनले त्यहाँ २७ फिट अग्लो मूर्ति निर्माण गर्न लागेका छन् । सो कार्यको शिलान्यास पनि भइसकेको छ । कार्कीले विगतमा विद्यालय तथा बाढीपीडितको सहयोगार्थ दौडेर आर्थिक सहायता उपलब्ध गराएको बताए ।

नेपालको सबै जिल्ला दौडेर पुगिसकेका कार्कीले काठमाडौं/दोलखा, काठमाडौं/सिन्धुली, काठमाडौं/पोखरा, काठमाडौं/लुम्बिनी दौडिसकेका छन् । उनले विभिन्न घरेलु दौड प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।