स्कुल बन्द गरेर शिक्षक जनगणनामा


भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जामा आवश्यकता अनुसारको जनशक्तिको अभाव भएको भन्दै तीन शिक्षकलाई सुपरीवेक्षकका रूपमा सहभागी गराइएको छ । पहिलो प्राथमिकतामा कक्षा १२ पास गरेर बसेका बेरोजगार युवा–युवतीलाई जनगणना–२०७८ मा गणक तथा सुपरीवेक्षक बनाउने नीति कन्द्रीय तथ्यांक विभागले अगाडि सारेको थियो ।

अपुग भएको खण्डमा मात्र सरकारी कर्मचारी खटाउन सकिने गरी केन्द्रीय तथ्यांक विभागले नीति अगाडि सारेको छ । जनगणनाका लागि आवश्यक जनशक्ति अपुग भएपछि प्रमुख जिल्ला अधिकारीको रोहबरमा स्थानीय तहको साझेदारीमा तीन शिक्षक जनगणनाको लागि खटाइएको स्याङ्जा जिल्ला जनगणना प्रमुख शारदा शर्माले बताउनुभयो । ‘जनगणनाका लागि जनशक्ति अभाव भएपछि प्रमुख जिल्ला अधिकारीलगायतको बैठक बसेर स्थानीय तहको साझेदारीमा सरकारी स्कुलमा कार्यरत तीन शिक्षकलाई सहभागी गराउने निर्णय गरिएको हो ।’ –उहाँले भन्नुभयो ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ का लागि करारमा गणक तथा सुपरीवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको थियो । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको निर्देशनअनुसार स्याङ्जामा तीन शिक्षकलाई विद्यालयको काम छाडेर जनगणनाको काममा खटाएको पाइएको हो । स्याङ्जामा खटिएका १ सय जना सुपरीवेक्षकमध्ये चापाकोट नगरपालिकाका श्रीधर न्यौपाने र वसन्त मानन्धर, गल्याङ नगरपालिका डिल्लीराम भण्डारी मात्रै शिक्षक हुनुहुन्छ ।

‘जनगणनामा खटिने मान्छे नपाएर उहाँहरु खटिनु भएको होइन । हामीले १२ मात्रै होइन ब्याचलरसमेत क्लियर गरिसकेका छौं । तर पनि हामीलाई नियुक्त गरिएन’, स्थानीय विनीता अधिकारीको आक्रोश पोख्दै भन्नुभयो– ‘जनशक्तिको अभावले होइन पावर पहुँचको आधारमा शिक्षकलाई नियुक्त गरिएको हो ।’

आफ्नो स्कुलको शिक्षक जनगणना सहभागी भएको शिक्षकबाट मौखिक जानकारी मात्रै पाए पनि औपचारिक कुनै जानकारी नपाएको शिक्षक डिल्लीराम भण्डारी कार्यरत विद्यालय शिवालय माध्यामिक विद्यालय गुठीका प्राध्यानाध्यापक विष्णुप्रसाद अर्यालको भनाइ छ ।
यता जनगणना स्याङ्जाको जिम्मेवारी पाउनु भएकी शारदा शर्माले भने स्थानीय तहले सम्बन्धित विद्यालयलाई बोधार्थ राखेर पठाएको पत्रको आधारमा उहाँहरुलाई सहभागी गराइएको बताउनुभएको छ ।

कोभिडका कारण गत वर्षदेखि विद्यालय पूर्णरूपमा सञ्चालनामा आउन सकेको थिएन । पछिल्लो समय केही सहज परिस्थिति भएपछि सञ्चालनमा आएका स्कुलमा शिक्षक नआएपछि शिक्षकको खोजी गर्दै जाँदा बिद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेर जनगणनाको कार्यक्रममा सहभागी भएको पाइएको अभिभावक शिव श्रेष्ठको भनाइ छ । यसै पनि सरकारी स्कुलमा पढेका बिद्यार्थी कमजोर बन्दै गएको अवस्थामा यसरी शिक्षक अनुपस्थित हुनुले सरकारी स्कुलको स्तर अझ खस्केर जाने उहाँको तर्क छ ।

जिल्लामा पुतलीबजार वालिङ, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरी जनगणना गणनामा सहज बनाइएको छ । पुतलीबजारमा स्थापित कार्यालयले पुतलीबजारसहित फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकाको जनगणना गर्ने छ भने वालिङको कार्यालयले वालिङ, चापाकोट, भीरकोट नगरपालिकाको र गल्याङमा स्थापित कार्यालयले गल्याङ र कालीगण्डकी गाउँपालिकाको जनगणना गर्ने गरी जिम्मेवारी तोकिएको छ । बिरुवास्थित कार्यालयले भने बिरुवा र हरिनास गाउँपालिकामा गणना गर्ने गरी सुपरीवेक्षक खटाइएको हो ।

वालिङमा १८, पुतलीबजारमा १६, गल्याङमा १२, चापाकोटमा ९, भीरकोट नगरपालिकामा ९ जना सुपरीवेक्षक खटाइएको छ । यसै गरी, बिरुवामा ७, फेदीखोलामा ६, अर्जुनचौपारीमा ६, कालीगण्डकीमा ६, आँधीखोला गाउँपालिकामा ६ र हरिनास गाउँपालिकामा ५ जना हुनुहुन्छ । २०६८ को जनगणनाअनुसार स्याङ्जाको जनसंख्या २ लाख ८९ हजार १ सय ४८ छ । जसमा पुरुष १ लाख २५ हजार ८ सय ३३ र महिला १ लाख ६३ हजार ३ सय १५ रहेको छ । जिल्लामा ६८ हजार ८ सय ८१ घरधुरी छन् ।

१९६८ सालदेखि नेपालमा जनगणना प्रारम्भ भएको थियो । राष्ट्रिय जनगणना–२०७८ नेपालको बाह्रौं जनगणना हो ।