मेची राजमार्गमा उच्च जोखिम, माईखोला राजदुवाली-भञ्ज्याङ सडकखण्ड भासिने क्रम जारी


गणेश घिमिरे, इलाम ।

मेची राजमार्गअन्तर्गत इलाम जिल्लाभित्र पर्ने विभिन्न सडक खण्ड भत्कने क्रम बढे सँगै जोखिम बढाएको छ । इलाम नगरपालिकाभित्र पर्ने माईखोला राजदुवाली–भञ्ज्याङ सडकखण्ड भासिने क्रम नरोकिँदा सडक छेउको बस्ती उच्च जोखिममा छन् ।

सो सडक खण्डमा ६ करोड रुपियाँ भन्दा बढी खर्च भइसकेको छ । तर, भासिने क्रम रोकिएको छैन । भासिएको सडक बनाउन रक एङकरिङ प्रविधिबाट काम गरिए पनि त्यो प्रभावकारी बन्न सकेन । सडक भासिने क्रम रोक्न ३२ एमएमको २५ मिटर लामो रडको एङकरिङ गरिएको थियो । ५ करोड ९९ लाख रुपियाँ खर्च गरी सडकको तीन खण्डमा यो प्रविधि अपनाइए पनि समस्याको समाधान हुन सकेन । सडक माथिबाट लगाइएको पर्खाल नै सडकतर्फ झुन्डिएको छ । कुनै पनि समय त्यो पर्खाल झर्न सक्छ, यसले ठूलै क्षति पुर्‍याउन सक्ने सवारी चालक निमा शेर्पाले बताउनुभयो ।

उक्त सडक खण्डमा डरले गाडी कुदाउन बाध्य भइरहेको सवारी चालकहरु बताउँछन् । सो सडक भएर इलाम, पाँचथर र ताप्लेजुङसम्मका बासिन्दालाई तराईसँगको सम्पर्क जोडिएको छ । सडक डिभिजनले माइखोलामाथिको एकातर्फको पर्खाल भत्काएर थाम्ने प्रयास गरेको छ । तर, अर्कोतर्फ थप जोखिम बढेको छ । बर्षेनी सडक भासिएपछि कार्यालयले ग्राभेल लगाएर यातायात सञ्चालनमा ल्याएको छ । तत्काल राजमार्ग अर्को ठाउँमा सार्ने विकल्प समेत नरहेको सरोकारवाला बताउँछन् ।

सडक भासिएर समस्या आएको र समस्या समाधानको धेरै बाटो अपनाए पनि सम्भव नभएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार यादवले बताउनुभयो । सो सडक खण्डको भौगर्भिक अध्ययन गरिनुपर्ने उहाँको भनाइ छ । माईखोलादेखि भञ्ज्याङसम्म एक दर्जन जति स्थानमा सडक भासिने समस्या छ । भासिने क्रम नरोकिएपछि हरेक वर्ष मर्मतमा लाखौं खर्च हुँदै आएको छ । सो सडक खण्ड २०५३ सालदेखि भासिन थालेको हो । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ६ दशमलव २ मेगावाटको पुवाखोला जलविद्युत् आयोजनाको सुरुङलगायत संरचनाबाट पानी सिपेज भएर उक्त समस्या आएको आशंका गरिएको उहाँको भनाइ छ ।

यता मेची राजमार्गकै जिरो किलोमिटर–धोबिधारा सडक खण्डअन्तर्गत धोविधारा नजिकै राजमार्गको आधा भाग पहिरोले झरेपछि जिरो किलोमिटर–धोबीधारा सडक खण्ड शनिबारदेखि अवरुद्ध भएको छ । राजमार्गको बाँकी आधा भागसमेत निरन्तर झरिरहेकाले सवारीसाधन आउजाउ बन्द गरिएको हो । यो स्थानमा राजमार्गको माथिल्लो भागबाट पनि निरन्तर पहिरो झरेकाले माथिल्लो सडक रहेको नारायणस्थान मन्दिर छेउसम्म जोखिम बढेको छ । पहिरो झरेर अबरुद्ध बनेको सो सडक खण्डलाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा पनि महिना दिन लाग्ने देखिएको छ । सो सडक खण्ड अवरुद्ध भएपछि हाल पाँचथर, ताप्लेजुङ सञ्चालन हुने अधिकांश सवारीसाधन अहिले इलाम बजार भएर सञ्चालन हुन थालेको छ । जस कारण इलाम बजार क्षेत्रमा सवारी चाप बढेको छ । बजार क्षेत्रकै सडक सानो हुँदा पहिला सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको थियो ।