भिक्षु–भिक्षुणीको स्वास्थ्यका लागि १ करोड रुपियाँ प्रदान


नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौंको लाजिम्पाट निवासी पञ्चवीरसिंह तुलाधरले भिक्षु–भिक्षुणीहरूको स्वास्थ्य उपचारका लागि खडा गरिएको स्वास्थ्य उपचार कोषका लागि १ करोड ११ लाख ११ हजार १ सय रुपियाँ प्रदान गर्नुभएको छ ।

बुद्ध विहारमा आयोजित एक समारोहबीच दाता तुलाधरले संघनायक भिक्षु बोधिसेन महास्थवीरलाई सो रकमको चेक प्रदान गर्नुभएको हो ।
सो अवसरमा दाता तुलाधरले बुद्ध धर्मको विकास र विस्तारमा पूरा जीवन समर्पण गर्ने भिक्षु–भिक्षुणी वृद्धावस्था हुँदा देखापर्ने अनेक रोग र दीर्घरोग हुँदा आर्थिक अभावले उपचारमा समस्या नआओस् भनेर सो रकम प्रदान गरिएको बताउनुभयो । दाता तुलाधरले सो रकमको मूलधनमा वर्षेनी सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सो सभामा महासंघका महासचिव भिक्षु कौण्डन्यले बुद्ध धर्मको विकासको पवित्र उद्देश्य राखी भिक्षु–भिक्षुणीको स्वास्थ्य उपचारका लागि प्रदान गरिएको रकमले अझ ढुक्क र उच्च मनोबलका साथ ‘बहुजन हिताय र बहुजन सुखाय’को काममा अझ श्रद्धापूर्वक लाग्ने आत्मविश्वास पैदा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो कोषको ब्याज निर्देशिकाअनुरुप तोकिएको प्रयोजनका लागि मात्र खर्च हुने जनाउँदै सोको विवरण नियमितरूपमा सार्वजनिक गर्दै जाने पनि बताउनुभयो ।

सो अवसरमा भिक्षु महासंघको तर्फबाट संघनायक भिक्षु बोधिसेन महास्थवीरले दाता तुलाधरलाई साधुवादपत्र प्रदान गर्नुभयो । सो सभामा कोषका लागि नेपाल परम्परागत बुद्धधर्म संघका अध्यक्ष प्राडा नरेशमान वज्राचार्यबाट १ लाख, स्वयम्भुवीर सिंह र हितलक्ष्मी कंशाकारबाट ४ लाख, युवा बौद्ध समूह, काठमाडौंबाट १ लाख, पूर्ण–मथुरा स्मृति कोषबाट १ लाख ११ हजार १ सय ११, न्हुच्छेमाया तुलाधरबाट १ लाख ५ हजार, सानुबाबु सायमी र भगवान् देवी मानन्धरबाट १ लाख, बलराम र उमा चित्रकारबाट १ लाख, मोहनदेवी चित्रकारबाट ५० हजार र शान्तलक्ष्मी वज्राचार्यबाट ५० हजार रुपियाँ प्रदान गरिएको थियो ।

त्यसै गरी, दिवंगतद्वय अमृतसागर र केशलक्ष्मी तुलाधरको नाममा १ लाख, दिवंगत नीरशोभा चित्रकारको नाममा ५० हजार रुपियाँ सम्बन्धित परिवारले प्रदान गरेका थिए ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको सभापतित्वमा भएको सो सभामा महासंघका उपाध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीर, संघ उपनायक भिक्षु गुणघोष महास्थविर, भिक्षुणी पञ्ञावती, डा. धम्मविजया, दानवती र उपासक उपासिकाको उपस्थिति रहेको थियो ।