कालापहाडेसँग पैसा उठाएपछि नाकाका सबै प्रहरी परिवर्तन

खुलेआम पैसा उठाउने भन्सार र सशस्त्रका टोली यथावत्


कुमार श्रेष्ठ, बाँके ।

भारतबाट दशैं मनाउन घर फर्किएका ‘कालापहाडे’सँग पैसा असुली गरेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको प्रहरी सेट नै परिवर्तन गरिएको छ । जनगुनासो आएपछि भन्सारका इन्चार्ज पनि परिवर्तन गरिएको छ ।

जमुनाहाको इन्चार्ज डीआईजीले पठाउने गर्दछन् । त्यहाँको इन्चार्जलाई जिल्लाका प्रमुखले चलाउन सक्दैनन् । दशैं मान्न घर फर्किएका कालापहाडेसँग खुलेआम पैसा असुली भइरहेको समाचार छ्याप्छ्याप्ती आएपछि हेडक्वाटरले नै चासो लिएको प्रहरीले स्रोतले बतायो । ‘हेडक्वाटरले नै चासो लिएपछि जमुनाहाका इन्चार्जलाई परिवर्तन गर्न धेरै लेखापढी गर्नुपरेन’, एक अधिकृतले भने– ‘अहिले नयाँ टोली पठाएका छौं । अब जनगुनासो नआउला ।’

जमुनाहाबाट इन्चार्ज पूर्ण खत्रीसहित १८ जनालाई जिल्ला तानिएको छ । वडा कार्यालय, नेपालगञ्जबाट सई मीनबहादुर विष्टलाई जमुनाहामा पठाइएको छ । प्रहरीको छवि नै धमिल्याउने गरी नाकाका प्रहरीबाट भएको कमजोरीलाई आन्तरिकरूपमा कारबाही प्रक्रिया अघि बढाइएको छ । बाँके प्रहरीले नेपालगञ्ज भन्सारका सई अनुप ऐरीलाई पनि परिवर्तन गरेको छ । त्यहाँ अहिले लीला विकलाई पठाइएको छ । ‘जनगुनासो आएको ठाउँका प्रहरीलाई परिवर्तन गरिएको छ ।’ –बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय, जमुनाहा नेपालगञ्जबाट भारत प्रवेश गर्ने मुख्य सडकको अन्तिम नाका हो । दशगजाबाट नेपाल प्रवेश गर्नेवित्तिकै जमुनाहाका प्रहरीले चेकजाँच गर्छन् । जमुनाहा सशस्त्र प्रहरी र भन्सारको टोली पनि खटिन्छन् । सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले पनि खुलेयाम पैसा उठाउने गर्दछन् । यी दुई निकायको टोली भने परिवर्तन गरिएको छैन । नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीका बीचमा सामान जाँच गर्ने र पैसा उठाउने एक प्रकारको प्रतिस्पर्धा नै हुने गरेको पाइन्छ । दशगजामै जोडिएको जमुनाहा नाकामा मात्रै होइन, ठूलो भन्सार कार्यालय अगाडि पनि सडकमा बसेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले खुलेयाम पैसा असुल्ने गर्दछन् । कोरोनाको डरले हात नछुने भनिए पनि ठूलो भन्सार कार्यालय अगाडि बाटोमा जाँच गर्न उभिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले रिक्सामा बसेका, साइकलमा रहेका वा मोटरसाइकलको ह्यान्डलमा समातेर रोकेको जस्तो गरेर हात मिलाउने शैलीमा पैसा लिने गर्दछन् । यो दृश्य त्यहाँ बिहानदेखि बेलुकासम्म खुलेयाम देखिन्छ ।

एउटा व्यक्ति नेपालगञ्ज प्रवेश गरेपछि जमुनाहामा जाँचमा पर्छ । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी भन्सार कर्मचारीले जाँच गर्छन् । त्यसपछि एक किलोमिटर जति यता रहेको ठूलो भन्सार कार्यालय अगाडि जाँच हुन्छ । यहाँबाट पनि तीनवटै निकाय हुन्छन् । त्यहाँबाट अगाडि बढेपछि सीमा प्रहरीले जाँच गर्छ । अलि यता चौलिक्का सशस्त्र प्रहरीले जाँच गर्छ । क्याम्पस अगाडि ट्राफिक प्रहरीले रोक्छ । सर्वसाधारणले यतिका ठाउँमा जाँचलाई सहदा तस्करको सामान भने नेपालगञ्ज भित्रबाट जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको टोली पक्राउ गर्ने गर्दछ ।

यी विषयमा भन्दा पनि अहिले कालापहाडेसँग पैसा असुली भएपछि जिल्ला प्रहरीले ठूलो एक्सन लिएको छ । जहान परिवार बोकेर कालापहाडमा पुग्ने नेपालीले मजदुरी गरेर ल्याएको रकममा नाकाका प्रहरीले आँखा लगाएपछि नाकाका प्रहरी कारबाहीमा परेका हुन् ।

आफ्नो उत्पादनले खाना नपुग्ने भएपछि कर्णाली प्रदेशका कालिकोट, जाजरकोट, दैलेख, रुकुम, रोल्पा, सल्यानका मानिस मौसमी कामका लागि कालापहाड जाने गर्दछन् । नेपालीको पहाड चाड दशैं नजिकिएकाले उनीहरु घर फर्किरहेका छन् । नेपालगञ्ज नाकाबाट दैनिक हजार बढी कालापहाडे घर फर्किरहेका छन् । दशैं अझै नजिकिँदा दैनिक ५ हजारसम्म घर फर्किन्छन् । नाकामा भीडभाड बढ्दै गइरहेकाले सोझा कालापहाडे लुटिन सक्ने तर्फ पनि प्रहरी सचेत भएको छ । रिक्साले नेपालगञ्जसम्मको कति पैसा लिइरहेको छ भन्नेबारेमा प्रहरीले चासो राखेको छ । पहाडी जिल्ला मानिसलाई रिक्साले नेपालगञ्जसम्म धेरै लिइदिने गरेको पाइन्छ ।