११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा


काठमाडौं, (नेस) ।

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरासहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।
गृह मन्त्रालयका अनुसार हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो ।

इलाका प्रशासन कार्यालय टीकापुरमा कार्यरत मोहनराज जोशीलाई डडेल्धुरामा पठाइएको छ भने डडेल्धुरामा कार्यरत हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय सिंहदरबारमा तानिएको छ ।

यस्तै, मन्त्रालयले गृह मन्त्रालयमा कार्यरत सहसचिव कमलराज ढकाललाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा सरुवा गरेको छ भने जयनारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा सीडीओ बनाएर पठाइएको छ ।

यस्तै, कास्कीका सीडीओ थानेश्वर गौतमलाई गृह मन्त्रालयमा ल्याइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यररत प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको सीडीओ बनाएर पठाइएको छ । डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्थुममा अनुजकुमार घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

लमजुङका सीडीओ होमप्रसाद लुइँटेल र रसुवाका सीडीओ ईश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ । यस्तै, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौलालाई काठमाडौंको जेलर बनाएर पठाएको गृह मन्त्रालयले जनाएको छ ।