एमालेको राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा

लोगो र एप्स सार्वजनिक


मधुसूदन रायमाझी, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेले १०औं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेको छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आइतबार प्रथम विधान महाधिवेशन सम्पन्न भएसँगै एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको तेस्रो साता बुटवलमा महाधिवेशन गर्ने घोषणा गर्नुभएको हो ।

विधान महाधिवेशनले सबै तहका अधिवेशन सम्पन्न गरेर १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने र आगामी तीनै तहका निर्वाचनमा पार्टीको बहुमत ल्याउनेमा केन्द्रित रहने निर्णय गरेको छ । महाधिवेशनले पार्टीको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव सुझावसहित पारित गरेको छ ।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञाशाको जवाफ दिँदै जनताको बहुदलीय जनवाद कठिन वर्ग संघर्षबाट प्रतिपादित सिद्धान्त रहेको बताउँदै समाजवाद निर्माणका लागि पार्टीको स्पष्ट धारणा रहेको बताउनुभयो । उहाँले ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पार्न सम्भव भएको बताउँदै ‘जनताको बहुदलीय जनवाद’ लिएर जनताको बीचमा जाने बताउनुभयो ।

आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेको दाबी गर्दै ओलीले समाजवादमा पुग्न राष्ट्रिय पुँजीको विकास गर्न एमाले प्रतिबद्ध रहेको बताउनुभयो । पार्टीमा योग्यता, क्षमता र योगदानका आधारमा जिम्मेवारी दिने विषयमा कुनै भेदभाव नहुने बताउँदै पार्टी अध्यक्ष ओलीले भ्रममा परेका र बाटो बिराएका नेता कार्यकर्तालाई मूलघरमा फर्कन आह्वान पनि गर्नुभयो । ओलीले विधान महाधिवेशनमा सहभागी नेता कार्यकर्तालाई छिट्टै हुने स्थानीय तहको निर्वाचनका साथै तीनै तहका निर्वाचनमा पार्टीलार्ई विजयी बनाउन सक्रियतापूर्वक लाग्न पनि निर्देशन गर्नुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गर्दै यसले दक्षिणतिर फर्केर बोल्न पनि नसक्ने अवस्थामा रहेको आरोप लगाउनुभयो । पार्टीको पहिलो विधान महाधिवेशन ओलीमय भएको र पार्टीलाई भन्दा व्यक्तिलाई प्राथमिकता दिएको भन्दै पार्टीभित्रैबाट आलोचना भएपछि उहाँले आफू व्यक्तिपूजक नभएको स्पष्टीकरण दिनुभयो । उहाँले आफ्नो पार्टीमाथि यति बेला चौतर्फी हमला भइरहेको टिप्पणी गर्दै भन्नुभयो– ‘हाम्रो विचार र संगठनमाथि हमला भएको छ, हामी व्यक्तिपूजक होइनौं, मूर्तिपूजक होइनौं । हामी धर्मान्धतामा विश्वास गर्दैनौं । हामी कमिटी प्रणाली र सामूहिकतामा विश्वास गर्छौं ।’

एमालेबाहेक अन्य पार्टीलाई राष्ट्र निर्माणको विषयमा कुनै चिन्ता नै नभएको बताउँदै उहाँले आफ्नो पार्टीलाई नै जनताले आशा र भरोसा गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामीले सुदूर भविष्यको कल्पना गरेका छैनांै, हिजो पनि जितेरै आएको हो, भोलि पनि हामी जित्दै छांै, हामीले जित्नुपर्छ । अर्काको टाउकोमा अपजस हालेर उम्किन मिल्दैन, देशको अभिभारा हामीले पूरा गर्नुपर्छ ।’

विरोधीहरू दुई कुराले चिन्तित रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘एउटा म बाँचिरहेकोमा चिन्तित छन् । अर्को कार्यकर्ता र जनताले माया गरेको देखेर चिन्तित छन् । म किड्नी फेरेर पनि बाँचिरहेकोमा उनीहरूलाई चिन्ता छ । म बाँचे त मेरो के दोष ?’

सांगठनिक प्रस्तावमाथि उठेका जिज्ञाशा र सुझाव सम्बन्धमा जवाफ दिँदै पार्टीका महासचिव ईश्वर पोखरेलले पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने माग सकारात्मक रहेको बताउनुभयो । उहाँले हिजो आन्दोलनबाट नेतृत्व विकास हुने गरेको र अब नेतृत्वमा आउन प्रभावकारी नीति, कार्यक्रम ल्याउन सक्ने, कम्युनिस्ट पार्टीको कार्यकर्तामा हुनुपर्ने आचरण भएको व्यक्ति प्राथमिकतामा पर्ने अवस्था रहेको बताउनुभयो ।

पार्टी संगठन विभाग प्रमुख एवं उपमहासचिव कमरेड विष्णुप्रसाद पौडेलले प्रतिनिधिहरूको सुझावलाई ध्यानमा राखी केन्द्रीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, एक जना उपमहासचिव र सात जना सचिव रहने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले महाधिवेशन प्रतिनिधिले दिएका सुझाव विधानमा समेटिने बताउँदै पार्टीको लोगो परिमार्जन गरिएको जानकारी पनि गराउनुभयो । महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले एमालेको नयाँ लोगो र पार्टीको एप्सको समेत शुभारम्भ गर्नुभएको थियो ।

उपमहासचिव पौडेलले महाधिवेशनमा प्रवासबाट पाँच प्रतिशत सहभागिताको माग उचित भएको उल्लेख गर्दै प्रवासका नेपालीलाई संगठित गर्न विशेष व्यवस्था गरिने बताउनुभयो ।

महाधिवेशनको समापनको क्रममा एमालेले नेपालका लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भू–भागमा रहेको बाह्य अतिक्रणलाई समाप्त गरी ती भू–भागमा नेपालको हकभोग कायम गर्नका लागि गम्भीर कूटनीतिक पहल र वार्ता गर्न सरकारसँग माग गरेको छ ।

१५ सदस्यीय निर्वाचन आयोग गठन

महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ । जसमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रीता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य रहनुभएको छ ।

सुब्बाको नेतृत्वमा निर्वाचन आयोग घोषणा

एमालेले आसन्न महाधिवेशनका लागि डा. विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग घोषणा गरेको छ । पहिलो विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको १५ सदस्यीय आयोगलाई स्वीकृत गरेको छ । आयोगको सदस्यहरूमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रीता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी र पवित्रा निरौला रहनुभएको छ । त्यसै गरी, सुदूरपश्चिमबाट केवालाल चौधरी, लुम्बिनीबाट विमला विश्वकर्मा, गण्डकीबाट लोकबहादुर थापा र वागमतीबाट हिमकला गैरे आयोगको सदस्यमा चयन हुनुभएको छ ।