धुलिखेलमा प्रथम खुल्ला मेयर फुटसल प्रतियोगिता हुँदै

1.6k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा प्रथम खुल्ला धुलिखेल मेयर फुटसल प्रतियोगिता २०७८ हुने भएको छ । १ लाख रुपैयाको पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा कम्तीमा ३२ टिमले भाग लिनेछन् । नक आउट चरणमा खेलाईने उक्त प्रतियोगिता असोज २३ गते धुलिखेल ४ मा आयोजना हुने ब्याच नम्बर २०६५ का आयोजक रविन खड्गीले जानकारी दिनुभयो ।

धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा फुटसल प्रतियोगिताका बारेमा जानकारी दिदै खड्गीले फुटसल ठुलो पुरस्कार राशि भएको प्रतियोगिता रहेको बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्ला, भक्तपुर, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक जिल्लाबाट प्रतियोगितामा भाग लिन सहभागिता जनाएका छन् ।

खुल्ला प्रतियोगितामा सहभागी टिमको उप विजेताले नगद ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट खेल, उत्कृष्ट टिम, उत्कृष्ट स्कोर र गोलकिपर सहितलाई मेडल सहित पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् । धुलिखेल नगरपालिकाको विशेष सहयोग र एग्रो थाई फुडसको मुख्य प्रायोजन रहेको प्रतियोगिताको तयारीका लागि समूहका तर्फबाट शैलेश श्रेष्ठलाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रतियोगितासँगै सोही दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल खेलिरहेका खेलाडीहरू भरत खवास, जर्ज प्रिन्स कार्की, विक्रम लामा र मणि लामालाई सम्मान गरिने छ भने सुरज्यू ठकुरी र तेज तामाङलाई नेपाल बाहिर भएकाले अन्य कार्यक्रममा सम्मान गरिने आयोजक शैलेश श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा ब्याच नम्बर २०६५ का अध्यक्ष रविन खड्गी सहित अन्य सदस्यहरु, काभ्रे जिल्ला फुटबल सङ्घका उपाध्यक्ष अमित खोँजु, सल्लाहकार निरोज खड्का, पत्रकार महासङ्घका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।