१४ करोडको कभर्डहलमा चुहियो पानी, ‘चिप्लिएका कारण गोल गर्न चुक्यौं’


विजय नेपाली, पोखरा ।

पोखरा रंगशालामा देशकै ठूलो बहुउद्देश्यीय कर्भडहल निमार्ण गरिएको छ । देशकै ठूलो कभर्डहल (३५ हजार वर्गफिट) जुन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कुनै पनि इन्डोर खेल खेलाउन सकिन्छ । हाल यहाँ राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिग चलिरहेको छ । फुटसल लिगमा बुधबार स्पोट्र्स क्यासल र झरना स्पोट्र्स क्लबबीचको खेल चलिरहँदा कोर्टमा पानी चुहियो ।

पोखरामा अचानक परेको अविरल वर्षाका कारण कभर्डहलमा पानी चुहिएको हो । करोडौं रूपैयाँ खर्च गरेर बनाइएको हलमा यसरी पानी चुहिँदा खेलाडी समस्यामा परे । फुटसल आयोजक एन्फाका प्रतिनिधिहरू पानी पुछ्नमै व्यस्त देखिए । तर, फुटसलको लागि मात्र होइन । अन्य खेल हुँदासमेत समस्या उही रहन्छ । कभर्डहल निर्माण हुँदै गर्दा १३औँ सागअन्तर्गत महिला पुरुष ह्यान्डबलको समेत आयोजना भएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले पटक–पटक जानकारी गराए पनि बेवास्ता गरेको जानकारी दिनुभयो । ‘त्यहाँ पानी चुहिन्छ । यो कुरा हामीलाई होइन प्राविधिकलाई सोध्नुपर्छ । मैले पनि भनेको चार वर्ष भयो । बेवास्ता गरेका छन्’ उहाँले भन्नुभयो,‘ भनेको सुनेनन् कमजोरी निमार्ण पक्ष वा प्राविधिक पक्षको हामीलाई थाहा भएन ।’

योगीको भनाइअनुसार निमार्णको समयमा गम्भीर त्रुटि भएको देखिएको छ । उहाँले सम्झौता अनुसारको सामानको प्रयोग भएको छ या छैन भन्ने नै यकिन नभएको बताउनुभयो । ‘स्टेमेट अनुसारको बनेको छ कि छैन त्यो हेर्नुपर्छ’ उहाँले भन्नुभयो । कभर्डहल निमार्ण डाँफेमुनाल एन्ड आचार्य प्रतिष्ठा कम्पनीले गरेको थियो । उक्त कम्पनीका प्रोजेक्ट मेनेजर दीपक बरालले हल बुझाएको करिब पाँच वर्ष भइसकेको बताउनुभयो ।

‘हामीले हल बनाएको बुझाएको पाँच वर्ष जति कटिसक्यो । शुरूको एक वर्ष भनेको हाम्रो परीक्षण काल हो । त्यतिबेला केही भएको खण्डमा हामीले काम गर्ने हो । अब हाम्रो होइन’ बरालले भन्नुभयो, ‘हामीले निमार्ण गरेर दिएपछि त्यहाँ धेरै काम भए माथि जिप्सन राख्नेलगायत साउन्ड सिस्टम राख्ने काम पनि भयो ।’ यस विषयमा आफू पोखरा आएपछि विस्तृतरूपमा जानकारी दिने बरालले बताउनुभयो ।

कोर्टमा नै पानी चुहिनु सामान्य कुरा भने होइन । इन्डोर खेल म्याट तथा पार्केटिङमा खेलाउँदा पानी परेमा निकै चिप्लो हुने गर्दछ । जहाँ खेलाडी घाइते हुने जोखिम रहन्छ । जुन कुरा बुधबारको खेलले पनि प्रमाणित गर्दछ ।

२०७१ सालमा निमार्ण शुरू गरिएको कभर्डहल २०७६ सालमा सम्पन्न भएको थियो । दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि २०७२ सालको विनासकारी भूकम्पका कारण निमार्णकार्य रोकिएको थियो । पटक–पटक म्याद थप गरी ४ वर्षमा हल निमार्णसम्पन्न भएको थियो ।

अहिले निमार्ण कम्पनीले क्षेत्रीय खेलकुद विकासम समितिलाई उक्त हल हस्तान्तरणसमेत गरेको छ । छानोबाट दर्शक बस्ने स्थानमा समेत आहाल बनेको छ । टिनबाट पानी चुहिएर प्यारापिटमा आहाल बनेको हो । छानो ढाक्न र सुन्दरता देखाउन राखिएको जिप्सन बोर्डबाट समेत पानी कोर्टमै खसेको थियो । खेल चलिरहँदा क्यासल र झरनाका खेलाडी पानीमा परेर चिप्लिएका थिए ।

१३ करोड ३० लाख रुपैयाँमा निमार्ण गरिएको कभर्डहलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उक्त कभर्डहलको लागि सिट जडान गर्न टेन्डर आह्वानसमेत गरेको थियो ।

चिप्लिएका कारण गोल गर्न चुक्यौं : थापा

झरना स्पोट्र्स क्लबका मुख्य प्रशिक्षक निर्मल थापाले दोस्रो हाफमा गोलको केही अवसर प्राप्त गरे पनि पानी चुहिँदा समस्यामा परेको बताउनुभयो । ‘हाम्रो हार निश्चित थियो । तर, अग्रता घटाउने सुवर्ण अवसरमा पानी बाधक बन्यो’ उहाँले भन्नुभयो–‘अचानक पानी चुहिएपछि हाम्रा खेलाडी चिप्लिदाँ पाएको बलसमेत गोल गर्न सकेनन् ।

धन्न गम्भीर घाइते भएनन् : गुरुङ

स्पोट्र्स क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले अचानक म्याटमा पानी परेपछि खेलाडीहरू लड्न पुगेको बताउनुभयो । ‘यो नयाँ हल भन्ने लागेको थियो पानी चुहियो । हाम्रा मात्र होइन अन्य टिमका खेलाडीसमेत लड्छन् । गम्भीर घाइते हुन सक्छन्’ उहाँले भन्नुभयो । ठूलो लगानीमा बनाइएको हलमा यसरी पानी चुहिँदा खेलाडी घाइते भएमा राखेपको दोष हुने बताउनुभयो । राखेप वा जिल्ला खेलकुद कसले हेर्ने हो यो समस्या समाधान हुनुपर्छ होइन भने आगामी दिनमा हुने जुनसुकै प्रतियोगितामा समेत खेलाडी घाइते हुन सक्छन् ।’ पानी चुहिनु खेलाडीका लागि एम्बुस थापेजस्तै भइरहेको छ ।