पोलको भाडा नतिर्ने केबलको लाइन काटिँदै


काठमाडौं, (नेस) ।

नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा नतिर्ने केबल टिभीहरुको आजबाट लाइन काटन शुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको नयाँ दररेटअनुसार केबल सञ्चालकहरुले सम्झौताबिना नै केबल चलाउने अडान लिएपछि प्राधिकरणले लाइन काट्ने भएको हो ।

केलब टिभी सञ्चालकले नयाँ दररेटअनुसार सम्झौता गर्न गरेको आग्रहलाई बेवास्ता गरेपछि प्राधिकरणले आजबाट सांकेतिक रूपमा लाइन काट्ने काम शुरु गर्न लागेको विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो ।

प्राधिकरणले वृद्धि गरेको नयाँ दररेटअनुसार केलब टिभी सञ्चालकहरु सम्झौता गर्न आउनुको सट्टा तालाचाबी बुझाउने धम्की दिँदै आएका छन् । प्राधिकरणसँग एनसेल, सीजी इन्टरनेट र डिस होमले नयाँ भाडादरअनुसार सम्झौता गरे पनि अन्य टिभी एवं केबल सञ्चालकले आनाकानी गर्दै आएका छन् । उनीहरुले पुरानो वक्यौता रकम पनि तिरेका छैनन् । राजधानी उपत्यकाको सौन्दर्यीकरण बिगारेर करोडौं कमाउँदै आएका भीटीका केबल र इन्टरनेट सेवा प्रदायक निकायले प्राधिकरणले तोकेको भाडा तिर्न भने सरकारी निकाय गुहार्दै आएका छन् ।

विभिन्न माग राख्दै नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले विद्युत् प्राधिकरणले पोल भाडामा गरेको वृद्धि फिर्ता लिनुपर्ने माग राखे पनि प्राधिकरणले नयाँ लागू भएको भाडा कार्यान्वयन गर्ने नीति लिएको छ । उपकार्यकारी निर्देशक सिलवालले सरकारले तोकेको भाडादरअनुसार सम्झौता नगर्ने केबल र इन्टरनेटको लाइन काटिने बताउनुभयो । केबल र इन्टरनेट व्यवसायीले करोडौं ग्राहकसँग महँगोमा केलब र इन्टरनेट बिक्री गरेर नाफा कमाउँदै आएका छन् । तर, प्राधिकरणको पोल उपभोग गरेअनुसारको भाडा नतिर्न शक्ति केन्द्रमा धाउँदै आएका छन् । प्राधिकरणको पोलमा सयौं टिभी केबल र तीन दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक निकायले प्रयोग गर्दै आएका छन् ।