कोरोनाविरुद्धको अमेरिकी प्रयास


  • भगवती तिमल्सिना

दुई वर्षको अवधिमा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण जनजीवन अस्तव्यस्त मात्र नभई आर्थिकरुपमा अकल्पनीय क्षति पुग्दा हरेक मानिसमा डर–त्रास सृजना हुनु स्वाभाविक मान्नुपर्छ । यस अवस्थामा निरोगी हुने उपायका बारेमा निकै खुलदुली मच्चिनु पनि स्वाभाविक नै हो ।

यति बेला विश्वको जुनसुकै कुनामा पुगे पनि प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा कोरोना भाइरसको त्रास र चर्चा कायमै छ । विश्वका सम्पन्न मुलुक अमेरिका, युरोपले कोरोनाविरुद्धको खोप उत्पादन गरी अन्य मुलुकभन्दा पहिला नै प्रयोगमा ल्याइसकेका छन् । यति हुँदाहुँदै पनि यी मुलुकका नागरिकहरुलाई पूर्ण खोपयुक्त बनाउन गरिएका हरेक प्रयत्नलाई राजनीतिक विषय बनाइएको छ ।

अमेरिकाजस्तो शक्तिसम्पन्न मुलुकका नागरिक यति बेला दुई खेमामा बाँडिएका छन् । कोरोनाविरुद्धको खोप लगाउने र नलगाउने दुई खेमामा प्रस्तुत भई मानवअधिकारको नाममा आफूले खोप नलगाउने र प्रत्यक्ष वा अप्रत्यक्षरुपमा अरुलाई कोरोना भाइरस सार्नेतर्फ उन्मुख हुनु दुःखद विषय हो । मानवअधिकारका लागि सबैको सम्मान गर्ने र निरोगी हुनेतर्फ लम्किनुपर्ने अमेरिकाका नागरिकहरुमा आएको यो विभाजन मानव कल्याणका लागि व्यावहारिक देखिन्न । तर यस विषयमा अमेरिकी सरकारको प्रयत्नलाई भने उत्तिकै सम्मान गर्नुपर्छ । नागरिकलाई हरपल सम्बोधन र सहयोग गर्दै आएको अमेरिकी सरकारले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि पैसा नै दिँदा पनि केही नागरिकले खोप लगाउन चाहेका छैनन् ।

यता सरकारले भने नागरिकको अधिकारको सम्मान गर्दै खोप लगाउन आह्वान गर्न छोडेको छैन । यति मात्र नभई अमेरिकी सरकारले कोरोनाविरुद्धको खोप लगाएका नागरिकलाई अझ सुरक्षित बनाउने उद्देश्यले पूर्ण खोप लगाएका ६० मिलियन नागरिकलाई लक्षित गरी बुस्टर डोज खोप दिने कार्यको थालनी गरिसकेको छ । यो अमेरिकी नागरिक मात्र नभई विश्वकै लागि खुशीको कुरा हो । यति ठूलो फड्को मारेको मुलुकका नागरिकहरुले राज्यको नीति नियमको पालना गर्ने क्रममा कतिपय अवस्थामा राजनीतिक घुम्टोको पछाडि लागि सर्वसाधारण नागरिकलाई भ्रममा पार्न खोज्नु अतिशयोक्ति खेल भएको एकथरीको ठम्याइ छ ।

खोपको विरोधमा नागरिकहरु विद्यालयमा नै उत्रिए तर सरकारले उनीहरुलाई सम्झाई–बुझाई गरेर फर्काउनु नै उपयुक्त ठान्यो । यसो गर्दैमा सरकारका नीति नियमअनुरुपका कुनै पनि काम रोकिएनन् । कोरोनाविरुद्धको खोप लगाउन चाहने नागरिकका लागि खोप लगाऊ अनि २ सय डलर बराबरको आवश्यक सामान वा नगद लैजाऊ भनी दिनसमेत शुरु गरिएको छ । यसका साथै अमेरिकी सरकारले आफ्नो मुलुकमात्र सुरक्षित भएर हुन्न, विश्वका सबै मुलुक सुरक्षित भए मात्रै अमेरिका सुरक्षित हुन्छ भन्ने नीति लिएको छ । सोही अनुरुप खोप उत्पादन गर्न नसक्ने मुलुकहरुलाई विश्व स्वास्थ्य संगठनमार्फत निःशुल्करुपमा खोप उपलब्ध गराउँदै आएको छ । साथै कार्यक्षेत्रमा पनि सहज र सरल वातावरण बनाएकै छ । हवाई यात्रामा जाँदा माक्सको प्रयोग गरी सुरक्षा अपनाउनै पर्छ । त्यसै गरी ठूला–ठूला सुपरमार्केट, कस्को, वालमार्ट, इन्डियन स्टोर, चाइनिज स्टोर प्रवेश गर्दा मास्क लगाउन प्रेरित गर्दै माक्स नलगाई आउनेलाई निःशुल्क माक्स दिएकै छ ।

यति मात्र नभई कोरोना संक्रमणका समयमा संक्रमित तथा रोजगारी गुमेका व्यक्तिहरुका लागि विशेष सुविधास्वरुप भत्ता दिएर नागरिकको जनजीवन सहज बनाउने काममा अमेरिकी सरकारको पहल अत्यन्तै सराहनीय मान्नुपर्छ । रोजगारी नभएका हरेक मानिसलाई दिएको भत्ताले दैनिक जीवनमा सहज मात्र भएन कतिपयले यो सुविधा पाएकै कारण सरकारी तथा निजी क्षेत्रमा पाउने कामसमेत नगरी घरमै बसेर जीविकोपार्जन गर्दा राज्यको उत्पादन, राजस्वमा कमी आएकै छ । तर सरकारले यो अवस्थामा पनि नागरिकको अधिकारको सम्मान गर्दै राज्यको तर्फबाट गर्नुपर्ने कुनै पनि काममा पछि हटेको छैन ।

केवल अमेरिकामा बसोबास गर्ने जुनसुकै मुलुकका नागरिक किन नहुन्, अमेरिकी सरकारले समान व्यवहार गरी मानवीयता प्रयोग गरेकै कारण हरेक मानवको अमेरिका बसाइ सहज र सरल भएकै छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्र«म्प र वर्तमान राष्ट्रपति जो बाइडेनका पक्षधर नागरिक दुई भागमा विभाजित हुँदा देशको नीतिको पालना र अर्थतन्त्रमा भने केही हदसम्म फरक आएको छ । तर पनि राज्यले गर्ने व्यवहार र नीति निर्माणमा भने सरकार पछि हटेको छैन र नागरिकले पनि नियम–काननको पालना गर्दिन भन्न पाउँदैनन् । खोप लगाउने विषयमा विभाजित नागरिकमा खोप लगाउनु हुन्न भन्ने ट्रम्पका पक्षधर रहेको र लगाउनुपर्छ भन्नेमा बाइडने पक्ष भएको अनुमान गरिँदै आएको छ ।

यसरी नागरिकलाई भ्रममा राखेर ट्रम्पले भने अमेरिकामा खोप उत्पादन हुनेबित्तिकै ह्वाइट हाउसमै गोप्यरुपमा खोप लगाइसकेको खबर बाहिरिँदासम्म केही नागरिक भने अन्धभक्त भई कोरोनाविरुद्धको खोपलाई बाइडेनसँग जोडेर ‘माई बडी माई राइट्स’ भन्दै विरोधमा उत्रनु मानवताविरोधी कार्य भएको संज्ञा अर्को पक्षले औंल्याउँदै आएको छ ।

अमेरिकामा अर्को विषय भनेको सरकारले हरेक व्यक्तिको जनजीवन उच्च भएमात्र देश सम्पन्न हुन्छ भन्ने बुझेर संकटका बेला हरेक व्यक्तिलाई सहजीकरण गर्दै सहयोग गरेको देखिन्छ । सरकारको सहयोग पाएका व्यक्तिहरुले प्राप्त अवसरसमेत छोडेर अर्थात् काम नै छोडेर सरकारले दिएको भत्ता लिई जीविका चलाउने मात्र नभई संकटका बेला राज्यलाई पनि साथ दिनुपर्छ भन्नेतर्फ सोच्नु जरुरी देखिन्छ । कतिपय उद्योग, कलकारखानामा मानिसको खाँचो छ । जति उत्पादन गर्न सकिन्छ त्यति हुन सकेको छैन । धेरै मानिस घरमै बस्ने र काममा नजाने र सरकारले दिएको भत्तामै अलमलिएको पनि पाइयो । सहयोग भन्ने कुरा सधैँ हैन, जटिल अवस्थामा पाइन्छ र आफूले पनि राज्यका लागि केही गर्नुपर्छ भन्ने सोचको विकास हुनु जरुरी देखिन्छ ।

कामको खोजीमा मानिस भौँतारिँदै विदेशी भूमिमा होमिइरहेको अवस्थामा अमेरिकामा कति कम्पनीहरुले काम दिन्छु भन्दा कामदार जागरुक नहुनु, कतिले काम खोज्दा काम नपाउनुले राजनीतिक विभाजन र मानिसमा आएको डर–त्रासले भूमिका खेलेको प्रस्टिन्छ ।

कोरोना संक्रमणको शुरुका दिनमा डोनाल्ड ट्रम्प नेतृत्वले यो केही होइन भनेर हेलचेक्र्याइँ गरेका कारण धेरै मानिसले अकालमा ज्यान गुमाएका थिए । त्यही त्रासले काम छोडेर बसेका कति मानिस अहिले पनि काममा फर्कन सकेका छैनन् । जतिले काम गरिरहेका छन् उनीहरुमा पनि विभिन्न खालका त्रास कायमै छन् । कार्यस्थलमा मानवअधिकारका नाम पुकार्दै कतिले मास्क नै नलगाई आउने, खोप नलगाउने र भीडभाड गर्नेजस्ता कार्यले स्वतन्त्रपूर्वका काम गर्न चाहने व्यक्तिहरुमा उत्तिकै असर परेको देखिन्छ । सुरक्षा नीति अपनाएर काम गर्नुलाई इगोको रुपमा लिँदा हरेक व्यक्तिको स्वतन्त्रताको सम्मान हुनुपर्छ भन्ने विषयमा हेपाहा प्रवृत्तिका व्यक्तिले नसोचेकै कारण अमेरिकाका ठूला–साना उद्योग, कलकारखानामा कामदारको अभाव भएको अनुमान गर्न गाह्रो पर्दैन ।

यता कतिपय प्राविधिक कम्पनीहरुले भने अनलाइन रोजगारी सृजना गरी होमबेस काम गर्ने र गराउने गरेकै कारण कामदारको अभाव खेप्नु नपरेको अर्को सकारात्मक पाटो पनि यहाँ स्पष्ट देखिन्छ । अनलाइन जब खोज्नु, पाउनु र गर्नुले मानिसमा समय अनि खर्चको बचत हुनुका साथै घर–परिवारलाई समेत समय दिन सकेको अर्को सकारात्मक पाटोको शुरुवात पनि कोरोना भाइरसको संक्रणकालमा शुरु भएको देखिन्छ ।

भौतिकरुपमै मानिस नभई नहुने, अस्पताल, मार्केट, यातायात, उडान, ठूला–ठूला सपिङ मलहरुमा कामदारको अभाव हुँदा थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता प्रस्टै देखिन्छ । सपिङ मलहरु, एयरपोर्टमा जनशक्तिको कमीकै कारण मेसिनहरुको सहायता लिएर काम सम्पन्न गर्नुपर्ने बाध्यता छन् । यस्ता स्थानमा केही समस्या पर्‍यो भने सोधपुछका लागि पर्खिएर बस्नुपर्ने समस्या थपिएको स्पष्ट देखिन्छ । सबै व्यक्ति सबै क्षेत्रमा दक्ष हुँदैनन् र अमेरिकामा बसोबास गर्ने सबै मानिस प्रविधिका ज्ञाता होइनन् । यस अर्थमा प्रविधिको विकास भए पनि मानवीय सहायता आवश्यक परी नै रहन्छ । नेपालजस्ता मुलुकमा काम गर्छु भन्दा पनि कोरोना संक्रमणपछि थुप्रै नागरिकले रोजगारी गुमाउन बाध्य भएको दुःखद अवस्था छ भने अमेरिकामा कोरोनाको समयमा काम गर्न आऊ भन्दा पनि मानिसको अभावमा कम्पनीहरुले कतिपय काम घटाउन बाध्य भएका छन् ।

कोरोना केही होइन भनी शुरुवातीका दिनमा सरकारले हेलचेक्र्याइँ गर्दा धेरै मानिसको मृत्यु हुनुका साथै व्यापार व्यवसाय बन्द नै हुन पुगे । यसबाट राज्यलाई खर्बौंको घाटा भएको छ । शुरुका दिनमा खोप उत्पादन नहुँदै स्कुल, कलेज, रेस्टुरेन्ट, खेल मैदान, यातायात, उडान सुचारु राख्दा धेरै मानिसको अकाल ज्यान गयो । पछिल्लो समय खोप प्राप्तिसँगै सरकारले गरेको व्यवस्थापनका बाबजुद पनि एकपक्षले कोरोना केही होइन भनिरहँदा सरकारले सोचेजस्तो उपलब्धि हासिल गर्न कठिन भएकै छ । तर पनि सरकारको प्रयास भने सकारात्मक र जनमुखी छ । यति बेला स्कुल, कलेजहरु धमाधम खुल्दै छन् र धेरैजसोले खोप लगाउने मानसिकता बनाएको र लगाउने क्रम जारी राखेको पाइन्छ ।
अमेरिकी सरकारले बालबालिका, बेरोजगारलगायतलाई विशेष प्राथमिकतामा राखी आवश्यकताअनुसारको भत्ता, उपचारका लागि आवश्यक औषधि, कान नसुन्नेका लागि हेयरिङ एयर, स्वास्थ्य बिमामा सहजीकरण गर्ने नीतिलाई विस्तार गरेको छ । चौबीसै घण्टा कोरोनाविरुद्धको खोप सुचारु छ । सरकारले बनाएका योजना पूरा गर्न सदनबाट बजेट पारित गर्ने क्रम भने ढिलाइ भएको नागरिकहरुको ठम्याइ छ । सरकारको दायित्व र भूमिका के हो र कसरी पूरा गर्ने भन्ने बारेमा नेपाल सरकारले पनि अमेरिकाबाट सिक्नु बुद्धिमानी हुनेछ ।

(लेखक तिमल्सिना अमेरिकामा हुनुहुन्छ ।)