नाकामा कालापहाडेको मजदुरीको पैसा जोगाउनै गाह्रो


कुमार श्रेष्ठ, बाँके ।

जाजरकोटका पदम कामी बोरामा सामान बोकेर नेपालगञ्ज नाकाबाट भित्रिँदै थिए । प्रहरीले रोक्यो र भन्यो– ‘सय रुपियाँ दिनुस् ।’ कामी ठूलो समूहमा थिए । समूहमा रहेका सबैले पैसा नदिने, नदिने भनिरहेका थिए । कामीले प्रहरीसँग प्रतिवाद गरेर भन्नुभयो– ‘म पैसा दिन्नँ । मेरो बोरा यही हो । खोलेर हेर्नुस् ।’ प्रहरीले बोरालाई बाहिरबाट छामेर कामीलाई छोडिदियो । कामी त उम्किए, केहीचाहिँ प्रहरीको फन्दामा परे । पैसा नदिएसम्म जाँचका नाममा अल्झाइरहन थालेपछि केही सय रुपियाँ ‘जाँच पास’ भए ।

भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्याका मानिस मौसमी काममा पुग्छन् । नेपालीको पहाड चाड दशैं नजिकिएसँगै उनीहरु घर फर्किरहेका छन् । बडो मुस्किलले मजदुरी गरेर कमाएको रकम घरसम्म पुर्‍याउन कालापहाडेलाई धौ–धौ हुने गर्दछ । कालापहाड, सिमला, प्रयागबाट आउँदा बसमै लुटिने डर हुन्छ । अपरिचित व्यक्तिले परिचित हुन खोजी कतिपयलाई नशालु पदार्थ सेवन गराएर लुट्ने गर्दछन् । पछिल्लो केही वर्षयता यो क्रम केही रोकिएको छ ।

सीमावर्ती बजार रुपैडिहामा झरेपछि रिक्सावालाले तानातान गर्छन् । अलिकति यता आएपछि भारतीय प्रहरी र कस्टम अधिकारीले गोजीमै हात हालेर पैसा झिकिदिन्छन् । पैसा दिन अनाकाना गर्नेलाई कार्यालयभित्र लगेर घण्टौंसम्म रोकिदिने गरिन्छ । त्यहाँबाट उम्किएर आएका कालापहाडेलाई नेपाली नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले असुली गर्छन् । नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीका बीचमा कालापहाडेसँग पैसा असुल्ने प्रतिस्पर्धा नै हुन्छ । एउटै झोला सबैले खोतल्छन् । ठूलो पोका बोकेकालाई पैसा नदिएसम्म अगाडि बढ्न दिँदैनन् । भारी बोकेर पसिना पसिना भइरहेका उनीहरुलाई सय रुपियाँ नझारेसम्म उभ्याइन्छ । बाध्य भएर सय रुपियाँ दिएपछि अगाडि बढ्न दिइन्छ ।

यी वैधानिक असुली केन्द्रबाट बचेपछि कालापहाडेलाई फेरि नेपालगञ्जसम्म पु¥याउन रिक्सा चालकले तानातान गर्छन् । रिक्साचालकसँग होटल सञ्चालक मिलेका हुन्छन् । कतिपय होटल सञ्चालक नाकामै पुग्छन् । नाकामा नपुगेकाहरुले पनि रिक्सा चालकसँग मिलेर कालापहाडेलाई आफ्नो होटलमा ल्याउन लगाउँछन् । पाइलै–पाइलामा ठगिएर कालापहाडे नेपालगञ्ज बसपार्कदेखि गन्तव्यतिर लाग्छन् ।

कालापहाड, सिमला, प्रयागमा स्याउ बोकेर, सडकमा मजदुरी गरेको कमाइ घरमा पु¥याएर परिवारसम्म हाँसीखुसी साट्न कालापहाडेलाई बडो कष्ट हुने गर्दछ । आफ्नो उत्पादनले वर्षभरि खाना नपुग्ने कर्णाली प्रदेशका कालिकोट, जाजरकोट, दैलेख, रुकुम, रोल्पा, सल्यानका मानिसहरु कालापहाड जाने गर्दछन् । खेतीबाली र चाडबाड मनाउन आउने उनीहरु अरू बेला काममा जाने गर्दछन् । उनीहरुको भारत प्रवेश र फिर्ती हुने नाका नेपालगञ्ज नै हो ।

यति बेला नेपालगञ्ज नाकाबाट हजार बढी कालापहाडे घर फर्किरहेका छन् । दशैं नजिकिँदै जाँदा यो संख्या दैनिक ५ हजार बढी हुने गर्दछ । मजदुरी गरेर फर्किने नेपालीलाई नाकामा खुलेआम प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले लुटेको व्यापक गुनासो आएपछि बुधबार बिहान बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसूदन न्यौपानेले सादा पोशाकमा छड्के अनुगमन गरेका छन् । एसपी र डीएसपीले सादा पोशाकमा मुख छोपेर गरेको अनुगमनमा जमुनाहा नाकामा प्रहरीले राम्रो डिउटी गरेको नपाइएपछि एकलटमै १७ जना प्रहरीलाई जिल्लामा तानिएको छ । डीएसपी न्यौपानेले १७ जनालाई तानेर नयाँ टोलीलाई पठाइएको जानकारी दिनुभयो ।

नाकामै पुगेर एसपी अधिकारीले भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँबाट काम गरेर फर्किनेको झोला जाँच नगर्न निर्देशन दिनुभएको छ । डीएसपी न्यौपानेले भन्नुभयो– ‘विशेष सूचनाका आधारमा बाहेक कालापहाडेको झोला नखोतल्न निर्देशन दिएका छौं ।’