दुर्घटनाबाट जोगियो बुद्ध एयर, एकै दिन दुई जहाजमा खराबी


नेपाल समाचारपत्र, काठमाडौं ।

एकै दिन बुद्ध एयरका दुई जहाजमा समस्या देखिएको छ । सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको र काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा समस्या देखिएको हो ।

विराटनगरका लागि उडेको ९एन–एएनआई कल साइनको जहाजको ल्यान्डिङ गेयर नखुल्दा र पोखराका लागि उडेको ९एन–एजेओ कल साइन भएको जहाजको ककपिटमा धुवाँ देखिएको थियो । यी दुवै जहाज १४ देखि २४ वर्ष पुरानो रहेको बताइएको छ । दुवै जहाज गन्तव्यमा नपुगी काठमाडौं नै फर्किएका थिए । जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । तर, आकस्मिक अवतरण गरिए पनि दुवै जहाजमा सवार चालक दलका सदस्य र यात्रु सकुशल रहेका छन् ।

बिहान ८ः५ बजे काठमाडौंबाट उडेको जहाजमा करिब ३५ मिनेटको उडानपछि विराटनगरस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयर नखुल्दा समस्या भएको थियो । विमान चालकले कयौंपटक प्रयास गर्दा पनि अवतरण हुन नसकेपछि जहाज काठमाडौं नै फर्काइएको थियो । काठमाडौंमा पनि अवतरण गर्न नसकेपछि जहाजलाई आकाशमा कयौं राउन्ड घुमाइएको जहाजमा सवार यात्रुहरूले बताएका छन् । करिब पौने दुई घण्टासम्म आकाशमा चक्कर लगाएपछि अन्ततः जहाज सुरक्षित अवतरण भएको थियो । उक्त जहाजमा ६८ जना वयष्क यात्रु, दुई जना बच्चा र चालक दलका तीन जना सदस्य गरी कुल ७३ जना सवार रहेका थिए । जहाज दुर्घटना उन्मुख भएको आभास पाएपछि जहाजभित्र यात्रुको रुवाबासी भएको उनीहरूको भनाइ छ । ‘शुरूमा घटनालाई सामान्यरूपमा लिएका थियौं । तर, घण्टौंसम्म जहाज आकाशमा नै रहेको र चालक दलका सदस्यहरू विशेषगरी एयर होस्टेज आतिनु र विमानस्थलमा सुरक्षाकर्मीहरू तयारी अवस्था ठूलो संख्यामा देखिएपछि जहाजमा रुवाबासी चलेको थियो’–जहाजमा सवार यात्रुहरूको प्रतिक्रिया थियो ।

जहाजमा ल्यान्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जसअनुसार प्राइमरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेन्डरी इन्डिकेटरमा सबै ठिकठाक रहेको देखिए पनि सुरक्षामा शून्य सहनशीलता नीतिअनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निर्णय गरेको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरका अनुसार काठमाडौं आइसकेपछि क्याप्टेन र बुद्ध एयरको टेक्निकल टिमबीच रेडियो सम्पर्क भई ल्यान्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिइएपछि जहाज सुरक्षित अवतरण गराइएको थियो । शेर्पा थरका अनुभवी पाइलटले विमानस्थलमाथि नै कयौं फन्को मारेर जहाजको इन्धन सक्काएर अवतरण गराएको स्रोतका भनाइ छ ।

उता बिहान ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको अर्को जहाज पोखरा नपुग्दै ककपिटमा धुवाँ देखिएपछि पाइलटले बीचबाटै जहाजलाई काठमाडौं फर्काएका थिए । यद्यपि, सो जहाजमा ठूलो समस्या नदेखिएकाले पुनः पोखरा उडान गरेको विमानस्थल स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ । देशको आन्तरिक उडानमा अधिकतम हिस्सा ओगटेको बुद्ध एयरका दुई विमानमा एकै दिन प्राविधिक समस्या देखिएपछि नागरिक उड्डयनका दृष्टिबाट गम्भीररूपमा हेरिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१३ को अन्त्यमा नेपाललाई नागरिक उड्डयनसम्बन्धी गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । त्यसलगतै युरोपेली संघले पनि नेपाली विमानसेवालाई कालोसूचीमा राख्यो । चार वर्षअगाडि अर्थात् सन् २०१७ को जुलाईमा आइकाओले नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीबाट हटाएको छ तर नेपालको हवाई यातायातको सुरक्षामाथि युरोपेली संघले प्रश्न यथावतै छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली हवाई सेवाप्रति आशंका कायम रहेकै बेलामा यहाँको हवाई यातायातमा ठूलो हिस्सा ओगटेको विमान कम्पनीमा देखिएको यस प्रकारको समस्याले नेपालको हवाई उड्डयन क्षेत्रलाई नै थप नोक्सान पु¥याउने हुँदा हवाई सेवा प्रदायकहरू थप जिम्मेवार बन्न आवश्यक देखिएको छ ।