चाडबाडको चासो


आम नागरिकले उपभोग्य सामग्री सुपथ मूल्यमा पाउन कुनै चाडबाडको प्रतीक्षा गर्नुपर्ने होइन । दशैं शुरू हुनैलाग्दा अहिले काठमाडौं महानगरपालिकाले चाडबाड लक्षित अनुगमन शुरू गरेपछि उपभोक्ताको अधिकार प्राप्तिका लागि उनीहरूले दशैं, तिहार, छठ, गौरा पर्व, उधौली–उभौली, बकर इद आदिकै प्रतीक्षा गर्नुपर्ने हो कि भन्ने आभास भएको छ । चाडबाड शुरू हुनलाग्दा बल्ल अनुगमनका कुरा उठाउनु आफैंमा व्यंग्य भएको छ । अरू बेला अनुगमन नगरिएको र उपभोक्ताहरू ठगिने ठाउँ छोडिएको पोल खुलेको छ ।

महानगरको अनुममन समितिले वर्षभर अनुगमन गर्न निर्देशन दिँदासमेत महानगरको कृषि विभागले जनशक्ति र उपकरण अभावलाई कारण देखाउँदै वर्षमा एकपटक मात्र अनुगमन गर्ने गरेको स्वीकार गरेको छ । महानगरले आज आइतबारबाट विभिन्न अनुगमन समिति बनाएर अनुगमन गर्ने जनाएको छ । विभागले गुणस्तर तथा नापतौल विभागसँग छलफल गरी छिटो–छरितो रूपमा अनुगमन गर्ने जनाएको छ । महानगरले खाद्य भण्डार, तरकारी तथा फलफुल, मासु पसल लगायतमा अनुगमन गर्ने, तिहारसम्म यो अनुगमनले निरन्तरता पाउने र संघीय सरकारसँग छलफल गरी संयुक्तरूपमा अनुगमन गर्न थालिने जनाएको छ । नियम मिचेर उपभोक्ता ठग्ने विक्रेतालाई जरिवाना गरी कारबाही चलाउने तयारी महानगरको छ जसलाई सकारात्मक मान्नुपर्दछ । चाडबाडमा अखाद्य वस्तु प्रयोग गर्नबाट रोक्न र नियमविपरीत काम गर्नेमाथि तत्काल कारबाही गर्न अनुगमनलाई तीव्र र निरन्तर बनाउनुको विकल्प देखिन्न । अनुगमन टोलीले राजधानीका मुख्य बजार, चाडबाडलाई लक्षित गरेर राखिएका बिक्री केन्द्र, कालिमाटी र बल्खु तरकारी बजार, वडा–वडामा राखिएको सस्तो बजारलगायत स्थानमा अनुगमन गर्ने बताइएको छ । विशेषगरी चिनी, तेल, पिठो, गेडागुडी, तरकारीमा हुने कालोबजारी र मिसावट रोक्न अनुगमन गर्न लागिएको र दैनिक बिहान, दिउँसो र बेलुकी गरी तीन चरणमा अनुगमन गर्ने तयारी रहेको जनाइएको छ । करिब एक महिना अनुगमन गर्ने तयारीमा रहेको महानगरपालिकाले चाडबाड सकिनासाथ पुनः अनुगमनलाई निरन्तर दिने तयारी गरेको त जनाएको छ, तर त्यसप्रति अहिले नै विश्वास गर्ने आधार देखिन्न । खाद्यवस्तुको अनुगमन गर्ने अधिकार स्थानीय तहलाई भएपछि सबै सरोकारवालाको सहभागितामा अनुगमन गर्न लागिएको महानगरको भनाइ रहँदै आए पनि यसअनुसार काम भएको पाइएन । कारबाहीमा परेका व्यापारीको सूची तत्काल सार्वजनिक गर्ने महानगरको उद्घोषका कारण गलत प्रवृत्तिका व्यापारी निरुत्साहित हुने अपेक्षा पनि गर्न सकिन्छ । यसैबीच, दशैंमा सर्वाधिक चासोको विषय मासु बन्नपुगेको देखिन्छ । दशैंमा उपत्यका भित्रिने खसीबोका, भेडा, च्याङ्ग्रा, राँगालगायत चौपायाको छुट्टै अनुगमन गर्ने बताइएको छ । घटस्थापनाको दिनदेखि चौपायाको अनुगमन गर्ने र यसलाई महानवमीसम्म निरन्तरता दिने बताइएको छ । अनुगमन टोलीले कलंकीको खसी बजार, फर्पिङ, कोटेश्वर, टुकुचा, बालाजुलगायत क्षेत्रमा चौपाया परीक्षण गर्ने भएको छ ।

खाद्य सुरक्षाका लागि राजधानीलाई बढी महत्व दिनु कतिपय कारणले स्वाभाविक मानिएला । तर, सिंगो मुलुककै नागरिकले यस प्रकारको सुविधा पाउनु आवश्यक छ । जसरी काठमाडौं महानगरपालिकाले बजार अनुगमनको व्यवस्था मिलायो, त्यसरी नै मुलुकभरका स्थानीय सरकारले उपभोक्ताको सुरक्षा प्रबन्ध मिलाउनुपर्छ ।