युभेन्टसले जोड़्यो तीन अंक


रोम, (एजेन्सी) ।

जारी सिजनको इटालियन सिरी ‘ए’ मा युभेन्टसले पहिलो जित दर्ता गर्दै स्पष्ट तीन अंक जोडेको छ ।

घरेलु टोली स्पेजियालाई ३–२ गोलअन्तले पराजित गर्दै जारी सिजनमा युभेन्टसले पहिलो जित आत्मसात् गरेको हो । यो सिजनको सिरी ‘ए’ मा युभेन्टसले पहिलो जित निकाल्दा मोइस किन, फेड्रिको चिइसा र म्याथ्थिज डी लेग्टले गोल गरे । घरेलु टोलीका इमानुयल क्वार्टसिन ग्यासी र जानिस एन्टिस्टेले गोल फर्काए । यसअघि, भएका खेलमा युभेन्टसले उडिनेस र एसी मिलानसँग बराबरी खेल्दा इम्पोली र नेपोलीसँग हार बेहोरेको थियो ।

स्पेजियाको मैदानमा बुधबार राति भएको खेलको २८औं मिनेटमा मोइस किनको गोलबाट युभेन्टसले सुरुवाती अग्रता लिएको थियो । उनले एड्रिएन राविओटको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा इमानुयल क्वार्टसिन ग्यासीले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ४९औं मिनेटमा जानिस एन्टिस्टेले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए । ६६औं मिनेटमा फेड्रिको चिइसाले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याउँदै खेलमा फर्कने संकेत दिए । ७२औं मिनेटमा म्याथिज डि लेग्टले गोल गर्दै युभेन्टसलाई ३–२ को प्रतिस्पर्धात्मक जित दिलाए । पहिलो जितसँगै युभेन्टसको ५ खेलबाट ५ नै अंक जोडेको छ । पराजित स्पेजियाको भने ४ अंक मात्र रहेको छ । इटालियन सिरीअन्तर्गतकै अन्य खेलहरूमा इम्पोलीले क्याग्लिएरीलाई तथा एसी मिलानले भेनेजियालाई २–० ले पराजित गर्दा सालेरनिटानाले अलास भेरोनासँग २–२ गोलको बराबरी खेल्दै समान अंक बाँडे ।