एक पाइला शान्तितिर



  • प्रेम रावत

‘आवश्यकता’ एउटा यस्तो शब्द हो जसका बारेमा सबै परिचित छन् । आवश्यकताविना, जरुरतविना जीवनको एक दिन पनि व्यतीत हुन सक्दैन । त्यसैले त भनिन्छ, ‘आवश्यकता नै आविष्कारको जननी हो ।’ मानिसलाई आवश्यकता महसुस भएपछि उसले विभिन्न चीजबीजको खोजी ग¥यो, जसबाट उसको आवश्यकता पूरा हुन सकोस् ।

आवश्यकताका बारेमा के बुझ्नुहोस् भने, आवश्यकता के हो र कसलाई कसको आवश्यकता छ ? कसलाई कसको आवश्यकता छ भन्ने कुरा आफ्नो जीवनमा बुझ्नु अति नै आवश्यक छ । पानीलाई माछाको आवश्यकता पर्दैन तर माछालाई पानीको आवश्यकता हुन्छ । यो बुझ्नु अत्यन्त आवश्यक छ, किनकि माछा मार्नेले पानीमा जाल हालेर जाललाई बाहिर निकाल्दा भलै पानी माछाबाट अलग भएको होस् तर त्यतिखेर पनि माछालाई पानीको आवश्यकताले यति सताउँछ, त्यसको अभावमा उसले आफ्नो ज्यान नै गुमाउनुपर्छ । पानीलाई माछासँग कुनै प्रेम हुँदैन । त्यो त निरन्तर बगिरहन्छ ।

त्यसै गरी तपाईँ पनि के कुरा बुझ्नुहोस् भने, तपाईँलाई कसको आवश्यकता छ ? के कहिल्यै तपाईँले बसेर तपाईँको वास्तविक आवश्यकता के हो भनेर सोच्नुभयो ? आवश्यकतालाई पूरा गर्ने व्यवस्थामा त लाग्नुभयो तर कहिल्यै यस्तो सोच्नुभयो– ‘यो मेरो जीवन हो । म जीवित छु । मभित्र श्वास आउँछ अनि जान्छ । एउटा सीमित समय हुन्छ, त्यतिखेरसम्म म जीवित रहन्छु । त्यसपछि म यहाँ रहँदिन ।’

हामीलाई जाने समय कहिले आउँछ भनेर थाहा त छैन तर पक्कै आउनेछ भन्ने कुरा अवश्य थाहा छ । हामी बाँचुन्जेलसम्म हाम्रो वास्तविक आवश्यकता के हो ? हाम्रो हृदयले के मागिरहेको छ ? हाम्रो हृदयले कुन कुरालाई आफ्नो आवश्यकता मान्दछ ? हामी यहाँ आएका छौँ भने जीवनमा कमसेकम आफ्नो वास्तविक आवश्यकतालाई पूरा गरेर त जाऊँ !

सबै आवश्यकताहरू त कहिल्यै पनि पूरा हुँदैनन् । मानिसले चाहे जतिसुकै परिश्रम गरोस्, उसले आफ्ना सबै आवश्यकतालाई पूरा गर्नै सक्दैन । कमसेकम एउटा प्रमुख आवश्यकता त पक्कै होला, जसलाई उसले पूरा गर्न सक्छ ।

मानिसका केही यस्ता आवश्यकता हुन्छन्, जसलाई कुनै कुराको सीमाले बाँध्न सक्दैन । यदि मानिसले त्यसलाई रोक्न चाह्यो भने पनि रोक्न सक्दैन । मानिस पढेलेखेको छ या अनपढ छ भन्ने कुराहरूसँग त्यसले सम्बन्ध राख्दैन ।

शान्तिको आवश्यकता पनि त्यस्तै आवश्यकता हो । भित्रको जुन पुकार छ त्यसले कहिल्यै कसैलाई वास्ता गर्दैन । चाहे जोसुकै होस्, तर ऊभित्रको आवाज आइरहन्छ । यद्यपि मानिस त्यसलाई नसुनेभैmँ गर्ने कोशिश गरिरहन्छ ।

जुन चीजको तपाईँलाई आवश्यकता छ त्यो तपाईँभित्रै छ । म चाहन्छु– तपाईँ त्यो आवश्यकतालाई आफैँ बुझ्नुहोस् र त्यसको अनुभव गर्नुहोस् ।

यो संसारमा रहेर आफैँलाई शान्तिको अनुभव नभएसम्म, हामीलाई के प्राप्त भएको छ भनेर हामी बुझ्नै सक्दैनौँ । त्यसकारण सृष्टिकर्ताले मानिसभित्र शान्तिको तिर्खा लगाइदिएका छन् । यदि दुईजना झगडा गरिरहेका छन् भने झगडा गर्न बन्द गरेमा शान्ति हुनेछ भनेर मानिसहरू ठान्दछन् । यो शान्ति होइन । शान्ति त त्यस्तो वास्तविक आवश्यकता हो जसलाई बुझेपछि तपाईँको जीवनमा आनन्द नै आनन्द हुनेछ ।

तपाईँले आफ्नो जीवनमा त्यस्तो शान्तिको अनुभव गर्नुभएको छ कि छैन ? यदि तपाईँले त्यस्तो शान्तिको अनुभव गर्नुभएको छैन भने अनुभव गर्नुहोस् अनि आफ्नो जीवनलाई सफल बनाउनुहोस् ।

आज पृथ्वीमा अर्बाैँ मानिसहरू छन् । शान्तिका बारेमा हरेक मानिसका आ–आफ्नै परिभाषाहरू छन् । कसैले शान्ति प्राप्त गर्नका लागि राम्रो जागिरको चाहना राख्दछ । कोही यस संसारमा सबैभन्दा धनी मानिस बन्न चाहन्छ । हरेक मानिसले आ–आफ्नो चाहनालाई पूरा गरेर शान्ति प्राप्त गर्न चाहन्छ । मानिस भन्दछ, ‘मलाई शान्ति चाहियो ।’ संसार भन्छ, ‘तपाईँको परिवार राम्रो छ । तपाईँकोे जागिर राम्रो छ । तपाईँको घर राम्रो छ । तपाईँका छोराछोरीहरू असल छन् । तपाईँलाई अरू के चाहियो ?’ के साँच्चै नै वास्तविक शान्ति यी सबै चीजहरु प्राप्त गरेर सम्भव होला त ?

आजको युगलाई विज्ञानको युग भनिन्छ । यस संसारमा मानिसले आफ्नो सुख–सुविधाका लागि के–के मात्रै गरेको छैन र ! तैपनि आज यो संसारको अवस्था राम्रो छैन । बुद्धिमान मानिसहरूले त यस्ता–यस्ता यन्त्रको आविष्कार गरिसके जुन पृथ्वीको आकर्षण शक्तिलाई पनि छोडेर अन्तरिक्षमा जान सक्छन् र विभिन्न किसिमका कार्यहरू गर्न सक्छन् । असम्भव लाग्ने कुराहरूलाई पनि सम्भव तुल्याइरहेका हुन्छन् । क्यामेरा, टेलिफोन, नेभिगेसन (जहाजको दिसा नियन्त्रण गर्ने प्रणाली) लगायत अरू थुपै्र आविष्कार गरेका छन् । एक ठाउँबाट अर्को ठाउँसम्म जानलाई मानिसले आफ्ना लागि कस्ता–कस्ता सुविधाहरूको विकास गरेको छ । पृथ्वीमा बसी–बसी हज्जारौँ–करोडौँ माइल टाढा हेरेर ‘आकाशको तारा कति ठूलो छ भनेर भन्न सक्छ । जसरी मानिसले ती सबै सुविधाहरू आफ्ना निम्ति सम्भव बनाएको छ त्यसै गरी यो संसारमा शान्तिलाई सम्भव बनाउनका लागि पनि मानिसले नै पाइला चाल्नुपर्छ ।

एउटा कथा छ । एकजना मानिस आफ्नो साइकलमा चढेर आवश्यक कामका लागि कतै गइरहेका थिए । यत्तिकैमा अचानक उनको साइकलको टायर पन्चर भयो । दुःखी भएर उनी आफ्नो नजर यताउता डुलाइरहेका थिए, कुनै साइकल मर्मत गर्ने पसल भए यो समस्या हल हुने थियो भनेर । उनी घडी हेर्दै सोच्न थाले, ‘ओहो ! म, पुग्नुपर्ने ठाउँमा त समयमा पुग्न नसक्ने भएँ ।’ उनलाई यो कुराको चिन्ताले सताउन थाल्छ । उनी भन्छन्, ‘यो त राम्रो हुने भएन ।’

यत्तिकैमा उनले केही पर साइकल मर्मत गर्ने एउटा सानो पसलमा बसिरहेका पसलेलाई देखे । बिचरा उनी साइकल मर्मत गर्नका लागि थोरै सामग्री पसलमा राखी उदास भएर बसेका रहेछन् । किनभने उनीकहाँ साइकल बनाउनलाई कोही पनि गएका थिएनन् । सबैका साइकल राम्रैसँग चलिरहेका थिए । यत्तिकैमा ती साइकल पन्चर भएका मानिस त्यहाँ पुगेर भन्छन्, ‘यो साइकलको टायर पन्चर भयो । यसलाई बनाइदिनुहोस् न ।’ उनलाई देखेपछि ती पसले खुशी भएर मनमनै भन्छन्, ‘हे भगवान् ! तिमीलाई लाखौँलाख धन्यवाद ! यी मान्छेको साइकल पन्चर भएर राम्रो भयो । अब म यिनको साइकल बनाउँछु अनि मलाई खानका लागि केही पैसा प्राप्त हुनेछ ।’

यसको अर्थ, यस संसारमा सुख–दुःख त भइरहन्छ । कसैलाई दुःख हुन्छ त कतिलाई त्यही दुःखका कारणले खुशी प्राप्त हुन्छ । तर, मानिस यो कुरालाई बुझ्न चाहँदैन । शान्तिसँग रहेर यो जीवनलाई सफल बनाउने जुन मूल लक्ष्य छ त्यही कुरालाई बिर्सन्छ ।

एकखालको शान्ति त त्यो पनि हो जुन परिस्थितिमा निर्भर रहन्छ । सबै कुरा ठीक भएपछि त्यसको अनुभव हुन्छ । तर, अर्को शान्ति त्यो हो जसमा जुनसुकै परिस्थिति होओस् मानिसले आपूmभित्र त्यो शान्तिलाई महसुस गर्न सक्छ । मानिसले संसारमा शान्ति ल्याउनका लागि सम्भव हुन सक्ने हरेक प्रयास गरिरहेको छ, जुन उसले गर्न सक्छ । तर, उसले ‘त्यो शान्ति’ लाई आपूmभन्दा टाढा छैन भन्ने कुराका बारेमा जान्ने कोशिश नै गर्दैन । त्यो त ऊभित्रै छ । त्यही शान्ति पाउन मानिसले विभिन्न किसिमका औजारहरू बनाइरहेको छ । त्यसबाट शान्ति त होइन, क्रान्ति भने अवश्य भैरहेको छ । किनभने, शान्ति त अनुभव गर्ने कुरा हो ।

खुशीको खबर के छ भने, जुन शान्तिको खोजी हामीलाई छ, त्यो हामीबाट टाढा छैन । त्यो हामीभित्रै छ । मानिसले भित्रको शान्तिलाई प्राप्त नगरेसम्म चाहे उसले जतिसुकै कोशिश किन नगरोस्, ऊ व्याकुल रहनेछ । हरेक व्यक्ति–व्यक्तिलाई शान्तिको अनुभव भएपछि मात्रै यो पृथ्वीमा शान्ति सम्भव हुन्छ ।

यदि एउटा स्टेडियमलाई प्रकाशै प्रकाशले उज्यालो बनाउनु छ भने त्यसमा जडान भएका हरेक बल्बलाई बाल्नुपर्छ । यो पृथ्वी पनि एउटा स्टेडियमजस्तै हो अनि हरेक मानिस एउटा बल्ब हो । स्टेडियमको सबैतिर उज्यालो बनाउनका लागि प्रत्येक बल्ब बल्नु आवश्यक भएजस्तै सबै मानिसमा त्यो सम्भावना छ । उसले आफ्नो जीवनमा शान्तिलाई अनुभव गर्न सक्छ । यसबाट पृथ्वीभरि नै शान्ति सम्भव हुन सक्छ । प्रत्येक मानिसलाई शान्तिको आवश्यकता छ । हरेक व्यक्ति–व्यक्तिको हृदयभित्र शान्तिको सम्भावना छ । हृदयमा शान्तिको अनुभूति भएपछि मात्रै जीवन पनि सफल हुनेछ । नत्र यस संसारमा आयौँ अनि एकदिन यहाँबाट जानुपर्छ । मानिसहरू भन्छन्, ‘खालि हात आएका थियौँ र खालि हात नै जानुपर्नेछ ।’ तपाईँ यो संसारमा अवश्य पनि खालि हात आउनुभएको थियो तर खालि हात नै जान आवश्यक छैन । यदि कुनै लिएर जान सकिने चीज छ भने एउटा मात्रै चीज छ र त्यो हो– शान्ति ।

यदि हामी संसारमा शान्ति होओस् भन्ने चाहन्छौँ भने पहिला हामीले आफ्नै सानो संसारमा शान्तिलाई स्थापना गर्नुपर्छ । यदि कतै अशान्ति भइरहेको छ भने त्यसको कारण अरू कोही होइन, मानिस आफैँ हो । वास्तविक शान्ति त्यो हो जसलाई मानिसले आपूmभित्र अनुभव गर्न सक्छ । यदि मानिसभित्र शान्ति छैन भने बाहिरको शान्ति असम्भव छ ।

मानिसलाई ‘मभित्रै शान्ति छ’ भन्ने कुरा महसुस हुनुपर्दछ । ‘म पनि यो शान्तिको हिस्सेदार हुँ र यो ममाथि निर्भर हुन्छ । यदि मैले प्रयास गरेँ भनेँ साँच्चै नै शान्ति सम्भव छ ।’ यसका लागि प्रत्येक मानिस सहभागी भएर ‘एक पाइला शान्तितर्फ’ चाल्नुपर्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्