बर्लिन म्याराथनमा पार्की


नेपाल समाचारपत्र, काठमाडौं ।

गोपीचन्द्र पार्कीले विश्व चर्चित म्याराथनमध्येको एक बर्लिन म्याराथन सहभागिता जनाउने भएका छन् ।

सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८ः४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्नेछन् । प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन् । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै बिदाइ गरे । टोलीको हवाइ टिकट राखेपले व्यवस्था गरिदिएको हो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्ड रहेको छ ।

यसैबीच नेपालगञ्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्डसले पनि पार्की र श्रेष्ठलाई मंगलबार नै छुट्टै कार्यक्रम आयोजना गरी बिदाइ गर्‍यो । क्रिएटिम ह्यान्डसका अध्यक्ष टीएस ठकुरीलगायतले उनीहरूलाई बिदाइ गरे । त्यस अवसरमा क्रिएटिभ ह्यान्डसले पार्कीलाई मायाको चिनो स्वरूप ट्रयाक सुट, ब्याग र टिसर्ट प्रदान गरेको थियो । श्रेष्ठलाई टिसर्ट प्रदान गरियो । त्यस्तै पार्कीको जर्मनी बसाइको खर्च जर्मन नागरिक राल्फले बेहोर्नेछन् । उनको भिसा प्रक्रिया र त्यसमा लागेको खर्च पनि उनले नै बेहोर्ने बताइएको छ ।

यसअघि पार्की टोक्यो ओलम्पिकमा सहभागिता हुन पाएका थिएनन् । उनी छनोट भएर टोक्यो उड्न तयारी भएको स्थितिमा उनको नाम काटिएको थियो । नेपाल ओलम्पिक कमिटीले उनको कोटा नपरेको पछि मात्रै थाहा भएको भनेर आफुलाई रक्षा गरेको थियो । यसपछि पार्कीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउने वचनबद्ध भएको थियो । सोहीअनुसार पार्कीलाई बर्लिन म्याराथनमा सहभागिता हुन लागेको हो । टोक्यो ओलम्पिकमा उनको स्थानमा महिला धाविका सरस्वती चौधरीले भाग लिएकी थिइन् ।