महिनामा ५ मिनेट चल्छ डिजल प्लान्ट


नेपाल समाचारपत्र, हेटौंडा ।

हेटौंडामा रहेको देशको एकमात्र डिजल प्लान्ट करिब ४ वर्षदेखि सञ्चालनमा ल्याइएको छैन । विद्युत् खपतमा कमी र रनअफ रिभरमा आधारित हाइड्रोपावरले धानिरहेका कारण महँगो डिजल प्लान्ट सञ्चालन गर्नु नपरेको हो ।

निकै खर्चिलो विद्युत् उत्पादनकका रूपमा डिजल प्लान्ट मानिन्छ । विद्युत् माग बढेसँगै २०२२ सालमा जडान गरिएको प्लान्ट हाल आवश्यक परेमात्र चलाउने गरी तयारी अवस्थामा राखिएको हेटौंडा डिजल केन्द्र प्रमुख विनोदकुमार यादव बताउनुहुन्छ । १४ दशमलव ४१ मेगावाट क्षमताको हेटौंडा डिजेल प्लान्टका मेसिनहरु नबिग्रियोस् भनेर महिनाको एकपटक चलाउने गरिएको छ । हरेक २५ गते सा“झ मेसिनलाई चालू अवस्थामा राख्न एकपटक करिब ५ मिनेट प्लान्ट सञ्चालन गर्ने गरिएको छ ।

यदि जलविद्युत् परियोजनाहरुले देशको माग धान्न नसकेको अवस्थामा विद्युत् आपूर्ति धान्न केन्द्र तयारी अवस्थामा राखिएको केन्द्र प्रमुख यादवले बताउनुभयो । ‘हालसम्म चालू अवस्थामा रहेको डिजल प्लान्ट यहाँको मात्र हो । बाँकी डिजल प्लान्ट बन्द छन् । विराटनगरस्थित ३९ मेगावाट क्षमताको अर्को डिजेल प्लान्ट बन्द भएपछि नेपालमा हेटौंडामा मात्र डिजेल प्लान्ट बाँकी छ ।’ –उहाँको भनाइ छ ।

पानीबाट बिजुली निकाल्दा निकै सस्तो पर्ने भएकाले हाल हाइड्रोपावरले नै बिजुलीको माग धानिरहेको छ । दशैं र तिहारलगायत विद्युत् बढी खपत हुने चाडपर्वमा आवश्यकताका आधारमा चलाउने गरी तयारी अवस्थामा राखिएको छ । पहिले हाइड्रोपावर हाउस धेरै सञ्चालनमा नआएका समयमा विद्युत् आपूर्ति पूरा गर्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले डिजल प्लान्ट जडान गरेको थियो ।

मेसिन धेरै पुरानो भएका कारण कुल १४ दशमलव ४१ मेगावाट विद्युत् उत्पादन क्षमताको हेटौंडा डिजेल केन्द्रले हाल १० मेगावाटमात्र विद्युत् उत्पादन गर्न सक्दछ । आपत्कालीन बिजुली उत्पादनका लागि २०२२ साल र २०३६ सालमा बेलायती सरकारको सहयोगमा स्थापना गरिएको प्लान्टले दैनिकरूपमा १० मेगावाट बिजुली उत्पादन गर्न सक्छ । १४ मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि मेसिन पुराना भएका कारणले १० मेगावाट मात्र विद्युत् उत्पादन हुने बताइएको छ ।

राष्ट्रिय बिजुली प्रसारण केन्द्र काठमाडौंसँग सीधा सम्पर्कमा रहेको प्लान्टले राष्ट्रिय प्रसारणमा बिजुली नपुगेका खण्डमा बिजुली उत्पादन गरी मुलुकभर वितरण गर्न सक्छ । ७ वटै प्लान्ट सञ्चालन गर्दा प्रतिघण्टा ३ हजारदेखि ३ हजार ५ सय लिटरसम्म डिजल खपत हुन्छ । विद्युत् डिजल प्लान्टबाट उत्पादन गर्दा प्रतियुनिट ३० देखि ३५ रुपियाँ पर्नजान्छ ।

नेपाल विद्युत् प्राधिकरणको विवरणअनुसार माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएपछि राति ४ सय मेगावाट बिजुली खेर गइरहेको छ । साँझरबिहानको समयमा बढी बिजुली माग हुने गर्दछ । सो समयमा समेत २ सय मेगावाट बिजुली खेर गइरहेको छ । दिउँसोको समयमा २ सय ५० मेगावाटदेखि ३ सय मेगावाट बिजुली जगेडामा छ ।

बिजुली खेर गइरहेका कारण प्राधिकरणले तामाकोशीका चारवटा युनिटमात्र चलाएको छ । कुल ४ सय ५६ मेगावाट् क्षमताको आयोजना बिजुली खेर जाने भएकाले पूर्ण क्षमतामा चलाउनु नपर्दा हेटौंडा डिजल प्लान्टलाई भार नपरेको हो ।