भूपेन्द्र विश्व बक्सिङमा छनोट


काठमाडौं, (नेस) ।

नेपाल प्रहरीका भूपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६३ केजीमा आइतबार पहिलो भएर छनोट भएका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ केजीमा एचटुओका रविन थापा पहिलो भए । उनले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई हराए । ५७ केजीको फाइनलमा एपीएफका पुरन राईले बक्समान्डुका सरोज महर्जनलाई पन्छ्याउँदै शीर्ष स्थान हात पारे । ७१ केजीमा एपीएफका विकास लामा पहिलो भए । उनले फाइनलमा नेपाल आर्मीका दीपेश लामाको चुनौती पन्छाए ।

पाँच स्पर्धा समावेश छनोट प्रतियोगिताको अन्तिम दिन सोमबार ललितपुरका सनिल शाही र बक्समान्डुका दावा छिरिङ लामाबीच ६७ केजीको फाइनल प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा १३औं सागका स्वर्णधारी सनिलले भाइबका विकास राना मगर तथा दावाले एपीएफका सुमन कार्कीलाई पाखा लगाए ।