कोरोना जाँच्ने, पोजिटिभलाई सीधै घर पठाइदिने


कुमार श्रेष्ठ, बाँके ।

भदौ ३१ गते भारतको सिमलाबाट आएका पाँच जना नेपालीलाई कोरोना देखियो । नाकामा गरिएको एन्टिजेटमा कोरोना पोजिटिभ देखिएका उनीहरूलाई डबल मास्क लगाउन लगाएर सीधै घर पठाइयो ।

भारतबाट आउने हरेक नेपालीको नाकामा कोरोना जाँच हुन्छ । चैत्र महिनादेखि नै यो क्रम चलेको छ । शुरू–शुरूमा कोरोना पोजिटिभ देखिँदा डरको वातावरण हुन्थ्यो । संक्रमितलाई एम्बुलेन्समा राखेर अस्पतालमा लगिन्थ्यो । उपचार गरिन्थ्यो । स्थानीय प्रशासन, जिल्ला रेडक्रससँग मिलेर नेपालगञ्ज उपमहानगरपालिकाले राम्रो व्यवस्था मिलाएको थियो । कोरोना संक्रमित ‘किट’ दिएर पठाइन्थ्यो । त्यहाँ मास्क, स्यानिटाइजर, नङकटलगायतका सामान हुन्थ्यो ।

भदौ १० गतेपछि यी सबै व्यवस्था हटेको छ । अहिले त कोरोना पोजिटिभलाई सीधै घर पठाउने गरिएको छ । न संक्रमितलाई लिन एम्बुलेन्स जान्छ न त उनीहरूले किट नै पाउँछन् । आफैँलाई किन्न लगाएर डबल मास्क लगाएर पोजिटिभलाई घर पठाउने गरिएको छ ।
संक्रमितलाई सीधै घर पठाउने हो भने नाकामा जाँच किन गर्नुपर्‍यो प्रश्न उब्जिएको छ । पोजिटिभ देखिएकालाई उपचार गर्न सकिँदैन, मास्कसमेत दिन सकिँदैन भने किन नाकामा जाँच गर्नुपर्‍यो, सीधै नजाँचेरै घर पठाइदिए भइहाल्छ नि, जानकारहरू बताउँछन् ।

दशैं नजिकिँदै गर्दा नाकामा भारतबाट घर फर्किनेको संख्या बढ्दै गएको छ । अहिले दैनिक हजार बढी मानिस घर फर्किरहेका छन् । दशैं नजिकिँदा दैनिक ५ हजारसम्म मानिस यो नाकाबाट घर फर्किन्छन् । यो बेलामा दुई जना ल्याब असिस्टेन्टले नाकामा जाँच गर्न भ्याउने अवस्था छैन । जाँच भइहाले पनि पोजिटिभ चिन्नेबाहेक केही हुन सकेको छैन ।

घर फर्किनेको संख्या बढ्दै गर्दा अहिले समूहमा आएकामध्ये एक/दुई जनाको जाँच गर्ने र उनीहरूको नेगेटिभ आएमा अरूको जाँच गरिँदैन । ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवाली भन्नुहुन्छ– ‘दैनिक फर्किनेको संख्या बढिरहेको छ । अहिले हामीले पाँच जनाको समूहमा आएको छ भने दुई जनाको जाँच गर्ने र नेगेटिभ आएपछि अरुलाई जाँच नगर्ने गरेका छौं ।’ ल्याब टेक्निसियन ज्ञवालीका अनुसार, सुरुआती दिनमा गुजरात, मुम्बई, दिल्लीबाट आएका व्यक्तिलाई फोकस गरेर कोरोना जाँच गरिन्थ्यो । अहिले सबै ठाउँबाट आएका व्यक्तिको जाँच हुन्छ । पछिल्लो समयमा सिमला, कालापहाड, प्रयागबाट आएका व्यक्तिमा फाटफुट कोरोना देखिएको छ ।

पहाडी जिल्ला दैलेख, जाजरकोट, रूकुम, रोल्पा, सल्यानका धेरै मानिस मौसमी कामका लागि कालापहाड, सिमला, प्रयाग जाने गर्दछन् । खेती लगाउने र चाडबाडमा उनीहरू घर फर्किने गर्दछन् । अरू बेला काममा जान्छन् । भारतबाट कोरोना बोकेर फर्किएका उनीहरूलाई नेपालगञ्ज नाकामा कोरोना पोजिटिभ पुष्टि गरेर पठाउँदा गाउँघरमा उनीहरूको अवस्था के होला ? सोचनीय विषय बनेको छ । ल्याब टेक्निसियन ज्ञवालीले पोजिटिभ देखिएकालाई सम्झाई बुझाई गरेर घर पठाउने गरेको बताउनुभयो ।

नाकामा रहेको हेल्थ डेस्कबाट नेपालगञ्ज उपमहानगरपालिकामा एउटा पत्र पठाएर पोजिटिभ देखिएका व्यक्तिलाई लैजाने साधन र बस्ने व्यवस्था मिलाउन भनिएको छ । पत्र पठाएको चार दिन भइसक्यो । उपमहानगरपालिकाबाट कुनै रेस्पोन्स भएको छैन ।

नेपालगञ्ज नाकामा चैत्रदेखि अहिलेसम्म ३२ हजार पाँच सय जनाको एन्टिजेन जाँच भएको छ । त्यसमा ३ सय ६७ जनालाई कोरोना पुष्टि भएको छ । असोज महिना लागेपछि यो तीन दिनमा एक हजार जनाको जाँच गरिए पनि एक जना पनि पोजिटिभ देखिएका छैनन् ।