दिगो विकासको लक्ष्य हासिल गर्न साझा प्रतिबद्धता आवश्यक


दीपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेश दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरूले साझा प्रतिबद्धता जनाएका छन् । कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ अन्तर्गत आइतबार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाहरूले कर्णाली प्रदेशमा दिगो विकास लक्ष्यको प्रभावकारी कार्यन्वयनमा सहयोग गर्ने साझा प्रतिबद्धता गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विमला केसीले राजनीतिक प्रतिबद्धता र सकरात्मक सोच भए मात्र कर्णालीमा दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न सहज हुने बताउनुभयो । प्रदेशसभा सदस्य केसीले सबै क्षेत्रले आफ्नो दायित्व र कर्तव्य सम्झेर अगाडि बढे सहजरूपमा कर्णालीको मुहार फेर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

दिगो विकास लक्ष्य कार्यान्वयनमा कर्णाली प्रदेशसभाको महत्वपूर्ण भूमिका हुने भएकोले सरकार, संसद, निजी क्षेत्र तथा युएन एजेन्सी लगायतका सरोकारलाहरूको पहिलो प्रतिबद्धता भनेको कार्यान्वयनमा हुन आवश्यक छ उहाँले भन्नुभयो । कर्णालीको भूगोल सुहाउँदो बजेट तथा कार्यक्रम निर्माण अवको आवश्यकता भएकोले सबैको ध्यान कर्णाली केन्द्रित हुनुपर्ने सांसद केसीको भनाइ छ । सबैको साझा प्रतिबद्धता भए कर्णालीको मुहार फेर्न धेरै समय नलाग्ने पूर्वमन्त्री केसीको भनाइ छ ।

त्यस्तै, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्‍याउन इमान्दारितापूर्वक लाग्नुपर्ने बताउनुभयो । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि राज्यका सबै संयन्त्रहरू परिचालित भए मात्र कर्णाली विकास सम्भव भएको उहाँले बताउनुभयो । कर्णालीको विकासमा हाम्रो पनि योगदान आवश्यक भन्ने सम्झेर दिगो विकास लक्ष्य कार्यान्वयनमा प्रतिबद्धता जनाउन आवश्यक भएकोले सरोकारवालाको साझा प्रतिबद्धता आउनुपर्नेमा जोड दिनुभयो । कर्णालीको पञ्च वर्षीय योजना कार्यन्वयनमा कटिबद्ध रहने हो भने दिगो विकास लक्ष्यसहितको समृद्धि हासिल गर्न सहज हुने खड्काको भनाइ छ ।

त्यस्तै, युएनडिपी कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले कर्णालीमा विकास पूर्वाधारसहित दातृ निकायसँगको साझेदारीबाट दिगो विकास लक्ष्य हासिल गर्न थप सहज हुने बताउनुभयो । दिगो विकास लक्ष्य हासिल गर्न साझा प्रतिबद्धतासहितको योजना तथा कार्यक्रम आउन आवश्यक भएकोले त्यसमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । विकाससहितको समृद्ध कर्णाली बनाउनका लागि कर्णालीमा लगानीमैत्री वातावरण निर्माण अहिलेको प्रमुख आवश्यकता भएको सिद्धिकीले औँल्याउनुभयो । उहाँले दिगो विकास लक्ष्य हासिल गर्न भ्रष्टाचाररहितको साझेदारी आवश्यक रहेकोले सबैको साझा प्रतिबद्धता आउन जरुरी भएको धारणा व्यक्त गर्नुभयो ।

कर्णालीमा निजीक्षेत्रलाई लगानी मैत्री वातावरण सिर्जना गर्न सरकारले केही कानुनी प्रावधानहरू संशोधन गर्नुपर्ने उद्योग वाणिज्य महाँसंघ कर्णाली प्रदेशका सदस्य कविराज खत्रीले बताउनुभयो ।

समृद्ध कर्णालीको आधार, स्वस्थ हरित न्यायपूर्ण पुनरुत्थानका लागि दिगो विकास भन्ने मूल नाराका साथ शुरू भएको सप्ताहमा कर्णाली प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्यमाथि बहस सञ्चालन गरिने जनाइएको छ । १२ दिनसम्म सञ्चालन हुने सप्ताह कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यको कार्यान्वयन स्थितिमा उच्चस्तरीय नीतिको चर्चा, कोभिड–१९ को घरेलु खाद्य सुरक्षा र जीविकोपार्जनमा परेको असरको छलफल, दिगो विकास लक्ष्य र उपलब्धि, नीति, मुद्दाहरू, निहितार्थ, प्राथमिकताहरू, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य र पोषणमा आगामी कार्यदिशा बारेमा छलफल गरिने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेशको विकास योजनामा प्रभावकारी नीति निर्माण, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्य धारामा ल्याउने सम्बन्धमा प्रादेशिक परामर्श, दिगो विकास लक्ष्यअन्तर्गत बालश्रम अन्त्य गर्ने गुरुयोजना लगायतका महत्वपूर्ण विषयमा छलफल हुने किर्डाक नेपालका कार्यक्रम व्यवस्थापक नवीनबहादुर शाहीले जानकारी दिनुभयो ।