पहिरो रोकथाम गर्न विज्ञले गरे अवलोकन



अमृत अर्याल, स्याङ्जा ।

असोज लाग्दा पनि वर्षा रोकिएको छैन । बाढी–पहिरो र डुबानका घटना भइरहँदा पनि रोकथामका योजना प्रभावकारी हुन सकेका छैनन् । मौसमी प्रकोप रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य योजना बन्ने गरे पनि कार्यान्वयन फितलो हुँदा वर्षैपिच्छे मानवीय र भौतिक क्षति हुने क्रम नरोकिएको हो ।

जिल्लाको वालिङ–१४ तमादीमा गतवर्ष गएको पहिरो रोकथाम तथा नियन्त्रणका लागि प्रभावित क्षेत्रको अध्ययन अवलोकन गरिएको छ । वालिङ नगरपालिका र गण्डकी प्रदेश भू–संरक्षण तथा जलाधार डिभिजन कार्यालयको संयुक्त पहलमा पहिरो प्रभावित क्षेत्रमा रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपायहरु अपनाउनका लागि योजना बनाउन लागिएको हो ।

सडक विभागले खनेको बाटोका कारण गतवर्ष असोजमा माथिबाट पहिरो आएसँगै एकैघरका ९ जनाको पुरिएर मृत्यु भएको थियो भने पशुचौपायाहरु मरेका थिए । पहिरोका कारण घरै भत्किएपछि चार घर विस्थापित भएका छन् । गतवर्ष पहिरो गएको ठाउँभन्दा माथि जमिन चर्किएकाले त्यसको रोकथाम र बाढी–पहिरो गइसकेको ठाउँमा नियन्त्रणका लागि अपनाउन सकिने उपायहरुका बारेमा इन्जिनियरको टोलीले अध्ययन गरेर कुन ठाउँमा के विधि अपनाउँदा प्रभावकारी हुन्छ सोहीअनुसार योजनासहित अगाडि बढ्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । आगामी दिनमा थप क्षति हुन नदिनका लागि माटोको अवस्था हेरी जाली लगाउने, पर्खाल लगाउने र बायोइन्जिनियरिङ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम तथा नियन्त्रण गरिने उहाँको भनाइ छ ।

पहिरोका कारण विस्थापित बनेका परिवारहरुका लागि जग्गा छनोट र आवास निर्माणका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । भू–संरक्षण तथा जलाधार डिभिजन कार्यालयका वरिष्ठ अधिकृत दिवाकर पौडेलले नगरपालिकासँगको सहकार्यमा यस ठाउँमा छिट्टै काम सुचारु गर्ने बताउनुभयो ।

गतवर्ष नगरपालिका र जलाधार कार्यालयको साझेदारीमा बायोइन्जिनियरिङ प्रविधिबाट तटबन्ध कार्य गरिएको थियो । यस क्षेत्रमा कुनै पनि समयमा विपद् आउन सक्ने सम्भावना रहेको मानिन्छ । बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपहरुबाट यो ठाउँ उच्च जोखिममा छ ।

प्रतिक्रिया दिनुहोस्