वर्षदिन बित्दा समेत रुख फँडानी प्रकरण गुपचुप, पूर्वमन्त्री मुछिएपछि डराए कर्मचारी


विजय नेपाली, पोखरा ।

पोखरा महानगरपालिका–१९ घार्मी गुराँसपानीमा ५ सय ३ रुख काटिएको ३ वर्षसम्म पनि वन कार्यालय मौन बसेको छ । कारोना महामारी फैलिँदा गरिएको लकडाउनकै समयमा वन कार्यालयको अनुमतिबिना नै धमाधम रुख कटान भएका थिए ।

लामो समय भइसक्दा पनि सब डिभिजन वन कार्यालय कास्की ‘अनुसन्धान’ मै घुमिरहेको छ । तत्कालीन समयमा अनुसन्धानमा स्थानीयको सहयोग नमिलेको बताएको कार्यालयले अहिलेसम्म उही समस्या दोहोर्‍याइरहेको छ । उक्त प्रकारणमा तत्कालीन खेलकुदमन्त्री जगत् विश्वकर्मा जोडिनुभएको थियो । उहाँले वनमा ‘रुख नकाटेको तर, दाउरा काटेको’ भन्दै आफ्नो बचाउ गरिसक्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराले असारमा मात्रै सोही प्रकरणबारे सोधखोज गरेको थियो । तर, आफूहरुले पनि वन कार्यालयबाट ‘अनुसन्धान भइराखेको’ भन्ने जवाफमात्रै पाएको आयोगका उपसचिव तथा सूचना अधिकारी मेघनाथ रिजालले बताउनुहुन्छ ।

‘हाम्रो काम भनेको छानबिन गर्ने हो । छानबिनका लागि हामीले वन कार्यालयलाई पत्राचार गरेका छौं । दोषी देखिएमा वनले नै कारबाही गर्ने हो’, उहाँले भन्नुभयो– ‘एक महिना अघिमात्र बुझ्दासमेत अनुसन्धानमै छौं भनिरहेका छन् । प्रतिवेदन अझै आएको छैन ।’ अख्तियारले ०७७ वैशाख ५ गते वन कार्यालयलाई यथार्थ छानबिन गरी प्रतिवेदन पठाउन पत्राचार गरेको थियो ।

पत्र प्राप्त गरेको १ वर्ष कटिसक्दा पनि वन कार्यालयले अनुसन्धान प्रतिवेदन तयार पार्न सकेको छैन । अनुसन्धान प्रक्रिया अघि नबढाउन राजनीतिक दबाब आएकाले पनि अनुसन्धान प्रभावित भइरहेको नाम उल्लेख नगर्ने सर्तमा वन कार्यालयकै एक कर्मचारीले बताए । ‘विभिन्न राजनीतिक दलकै दबाबका कारण अनुसन्धान अघि बढ्न नसकेको हो ।’ –ती कर्मचारीको भनाइ छ ।

सब डिभिजन वन कार्यालय पोखराका सूचना अधिकारी शालिकराम पराजुलीले भने स्थानीयको असहयोगका कारण अनुसन्धानमा कठिनाइ भएको आरोप लगाउनुहुन्छ । ‘हामी अनुसन्धानकै क्रममा रहेका छौं । स्थानीयको सहयोग गरेनन् ।’ –उहाँले भन्नुभयो । पराजुलीलाई समेत अनुसन्धान कहाँसम्म पुग्यो भन्ने जानकारी छैन । सूचना अधिकारी पराजुलीकै भनाइलाई आधार मान्ने हो भने अनाधिकृतरूपमा ५ सय ३ रुख काट्ने उम्केर जाने देखिन्छ । तत्कालीन खेलकुदमन्त्री विश्वकर्मा आफैं उपस्थित भएर रुख ढाल्न आदेश दिएको र मन्त्रीको भतिज मोहन सुनार हुँदै भिनाजु मुक्तिराम सुनार, मनकाजी विकसहित ८ जनाले गरी ५ सय ३ वटा रुख ढालेको कुरा स्थलगत मुचुल्काबाट प्रारम्भिक तथ्य खुलिसकेको थियो । यस विषयमा अनुसन्धान गरिरहनुभएकी पोखरा सब डिभिजन वन अधिकृत ममता शर्मासँग बुझ्न खोज्दासमेत उत्तर पाउन सकिएन ।

महामारीका कारण अवस्था प्रतिकूल रहेको भन्दै मुचुल्का गरिएका काठ, गोलिया, दाउरा वनमै छोड्नुपरेको डिभिजन वन अधिकृत रामकाजी श्रेष्ठले बताउनुभएको थियो । हाल उहाँको सरुवा भइसकेको छ । श्रेष्ठको ठाउँमा अहिले केदार बराल आउनुभएको छ ।

कार्यालयमा बराल आएपश्चात् शुरुआती समय चासोसमेत देखाउनुभएको थियो । उहाँले नापी विभागलाई पत्राचार गरेर वन कसकोे हो भन्ने प्रतिवेदन निस्किएपछि अनुसन्धान अघि बढाउने समेत बताउनुभयो । तर, हाल उहाँ पनि यस प्रकरणमा मौन हुनुहुन्छ । पटक–पटक सम्पर्क गर्दासमेत फोन उठ्दैन ।