युवा व्यक्तित्व एवंं सञ्चारकर्मी बज्राचार्यलाई पितृशोक


न्युज अफ नेपाल, ललितपुर ।

झन्डै अढाई दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील एवं सञ्चारकर्मी राजेश बज्राचार्यलाई पितृशोक परेको छ । उहाँका पिता सोमनरसिंह बज्राचार्यको शनिबार राति निधन भएको छ ।

बज्राचार्यको ७९ वर्षको उमेरमा निधन भएको हो। छातीमा समस्या आएपछि उहाँलाई शनिबार साँझ पाटन अस्पतालमा भर्ना गरिएको थियो। स्वर्गीय बज्राचार्य २०३७ सालको जनमतसंग्रहपछि भएको स्थानीय निकायको निर्वाचनमा साविकको ललितपुर नगर पञ्चायत– १७ को वडाअध्यक्ष समेत हुनुहुन्थ्यो। हाल यशोधर महाविहार बुबहालका २० जना आजु (ज्येष्ठ) मध्ये एक हुनुहुन्छ ।आफूलाई मनमा लागेको कुरो स्पष्टसंग राख्ने र सामाजिक भावना भएका व्यक्ति रुपमा पूर्वमन्त्री एवं ललितपुर उपमहानगरपालिकाका पूर्वमेयर बुद्धिराज बज्राचार्य स्मरण गर्नुहुन्छ ।

स्वर्गीय बज्राचार्यको ललितपुरको विष्णुदेवी (यपाः) नेवारी परम्परा अनुसार आईतबार दाहसंस्कार गरियो। उहाँका जेष्ठ सुपुत्र लेखनरसिंह बज्राचार्यले उहाँको पार्थिव शरीरमा दागबती दिनुभएको थियो। यस अघि वाग्मती प्रदेशका सांसद शोभा शाक्य, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, गुठी संस्थानका प्रमुख प्रशासक किरण शाक्य, ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्य, लगायत सञ्चारकर्मी, सामाजिक संघसंस्थाका प्रतिनिधि, समाजसेवीहरु विष्णुदेवीस्थित घाटमा पुगेर स्वर्गीय बज्राचार्यप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्वर्गीय बज्राचार्यका पत्नी नानीमाया बज्राचार्य सहित छोरा अष्टनरसिंह बज्राचार्य, छोरी पूर्णदेवी बज्राचार्यसहित तीन छोरा एक छोरी रहेका छन् ।कान्छा पुत्र बज्राचार्य राष्ट्रिय युवा महासंघ ललितपुरका पूर्वअध्यक्ष, नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरका पूर्व सचिव, पाटन सामुदायिक पुनःस्थापना केन्द्रका पूर्व कार्यसमिति सदस्य, रोट्रयाक्ट क्लब अफ यलका पूर्वअध्यक्ष, मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रका सचिव समेत रहनुभएको छ ।