असेला गुणरत्नेले ईपीएल खेल्ने


नेपाल समाचारपत्र, काठमाडौं ।

श्रीलंकाली क्रिकेट स्टार असेला गुणरत्नेले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।असोज ९ देखि २३ सम्म त्रिभुवन विश्वविधालयमा हुने यस सिजनको ईपीएलका लागि उनलाई पोखरा राइनोजले अनुबन्ध गरेको हो । गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडीआई र १२ टि२० आई खेलेका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सबाट समेत खेलिसकेका उनी पार्टटाइम मिडियम पेश बलर हुन् । टि–२० आईमा उनले दुई अर्धशतकसहित कुल २ सय २५ रन बनाएका छन् । सन् २०१७ मा अस्ट्रेलियामाथि दुई विकेटको रोमान्चक जित दिलाउन उनले ४६ बलमा ६ चौका र ५ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ खेलेका थिए । गुणरत्ने मध्यक्रम र तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

उनले खेलेको ७५ टि–२० खेलमा उनले ९ अर्धशतकसहित १ हजार ३ सय ९८ रन बनाएका छन् । पछिल्लो समय चोट र कमजोर प्रदर्शनका कारण उनी टोलीमा अटाएकम छैनन् । गुणरत्ने दीलस्कुप सटका लागि चिनिन्छन् । त्यस्तै, पोखराले श्रीलंकाकै बायाँ हाते युवा ब्याट्सम्यान सहान अर्चिगेलाई पनि अनुबन्ध गरेको छ । उनले २८ प्रथम श्रेणी, ३१ लिस्ट ए र ३४ टि–२० खेल खेलेका छन् । उनी स्पिन बलिङका समेत राम्रा खेलाडी हुन् ।

यसअघि पोखराले विदेशी खेलाडीको रूपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी र वेस्टइन्डिजका अलराउन्डर केस्रिक विलियम्सको नाम सार्वजनिक गरिसकेको थियो । पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही लगायतका स्वदेशी खेलाडी छन् । पोखरा मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल छन् । बलिङ प्रशिक्षकमा शक्ति गौचन र फिल्डिङ प्रशिक्षकमा गण्डकी प्रदेशका रिजन प्रजु रहेका छन् ।