अनु र रशिला दोस्रो चरणमा


काठमाडौं, (नेस) । 

विभागीय त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन प्रथम रिभाइव लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाइव लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनुमायाँ राईले नेपाल एपीएफ क्लबकी शोर्भा गौचनमाथि २१–१७ र २१–११ ले पराजित गरिन् । आर्मीकी रशिला महर्जनले नखिपोट युथ क्लबकी नविना राईमाथि २१–२ र २१–६ को एकपक्षीय जित निकालिन् ।

त्यस्तै, एपिएफकी सुनैना मुखियाले आर्मीकी प्रेक्षा राईलाई २१–७ र २१–१५ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाइन् । एपिएफकी जेशिका गुरुङले आर्मीकी प्राथना देउवामाथि २१–९ र २१–१५ को सहज जित निकालिन् । यस्तै, फिलिट नेपालकी सीमा राजवंशीले हरिसिद्धि क्लबकी सुनेना महर्जनलाई २१–५ र २१–२ को सोझो सेटमा हराईन् । यस्तै नेपाल पुलिस क्लबकी नीता लम्सालले बीबीसीकी प्रतिष्ठा अर्याललाई २१–१० र २१–७ ले तथा आर्मीकी रोज पाण्डेले जेस्ट ब्याडमिन्टन एकेडेमीकी तारा आले मगरलाई २१–५ र २१–१० ले हराइन् ।
पुरुष डबल्सतर्फ शनिबार राउन्ड अफ ६४ को खेल सम्पन्न भएका छन् ।

आइतबार पुरुष एकतर्फको राउन्ड अफ ३२ को सबै १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । पुरुष युगल र ४० वर्षमाथिको भेट्रान्समा राउन्ड अफ ३२ को सबै १६ खेलको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिको भेट्रान्स युगल गरी ४ विधामा खुल्ला प्रतिस्पर्धा हुनेछ ।