जोखिम लिन नसक्ने र साना लगानीकर्तालाई म्युचुअल फन्ड उपयुक्त


नेपाल समाचारपत्र, काठमाडौं  । 

न्यून पुँजी भएका लगानीकर्ताका लागि सामूहिक लगानी कोष योजना म्युचुअल फन्डमा लगानी गर्नु प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले म्युचुअल फन्डमा गरेको लगानीमा जोखिम कम हुने बताउनुभयो । योजना व्यवस्थापकले नै लगानीकर्ताको सम्पत्तिको जिम्मा लिएर त्यसको प्रभावकारी व्यवस्थापन गर्ने हुनाले यसमा जोखिम कम हुने धारणा गिरीको भनाइ छ । नियामक निकायबाट १७ वटा योजना व्यवस्थापकलाई म्युचुअल फन्ड सञ्चालनका लागि अनुमति दिएको बताउँदै दोस्रो बजारमा २५ वटा बन्दमुखी योजनाको २९ अर्ब रुपियाँबराबरको पुँजी परिचालन रहेको जानकारी दिनुभयो । उहाँका अनुसार चारवटा खुलामुखी योजना सञ्चालनमा रहेका छन् । म्युचुअल फन्डले धितोपत्र बजारमा आकार लिइसकेको अवस्थामा यसलाई अझ अघि बढाउन आवश्यक रहेको समेत गिरीको भनाइ छ ।

म्युचुअल फन्डले साना–साना लगानीकर्ताहरुको पुँजीको जिम्मा लिई थोरै भए पनि प्रतिफल वितरण गर्नुपर्ने भएकाले उ झनै चनाखो भएर लगानीगर्नुपर्ने भनाइ गिरीको छ । मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले पछिल्लो समय संस्थागत लगानीकर्ताहरुसँगै अन्य व्यक्तिगत लगानीकर्ताको पनि म्युचुअल फन्डप्रति आकर्षण बढ्दै गएकाले आगामी दिनमा यस्ता योजना बढाएर लैजानुपर्ने आवश्यकता आंल्याउनुभयो ।त्यस्तै मर्चेन्ट बैंकर एसोसिएसनका महासचिव तथा ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले कम पुँजी भएका र दोस्रो बजारमा जोखिम लिन नसक्ने लगानीकर्ताका लागि म्यचुअल फन्डमा लगानी प्रभावकारी हुने बताउनुभयो ।

धितोपत्रको दोस्रो बजार पैसा तिरेर जोखिम किन्नेको शहर भएकाले बुझेर मात्र यसमा लाग्नेले मात्रै नाफा कमाउने उहाँ तर्क छ । सूचनाको व्यापारको रुपमा पनि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएकाले सही सूचना अहिलेको आवश्यकता रहेको ढकालको भनाइ छ । दोस्रो बजारको जोखिम न्यूनीकरणका लागि एउटै क्षेत्रमा नभएर विभिन्न क्षेत्रमा लगानी गर्न समेत उनले सुझाब दिनुभयो ।

उक्त कार्यक्रममा म्युचुअल फन्डका विविध विषयमाथि एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले कार्यपत्र प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय बजारमा खुलामुखी योजनाहरुनै म्युचुअल फन्डका रुपमा परिचित भएकाले नेपालमा पनि खुलामुखी योजनाकै भविष्य राम्रो रहेको धारणा राख्नुभयो ।

एक सातामा ९० अर्ब झ्वाम
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक यस साता साढे ६३ अंकले घटेको छ । अघिल्लो साता २८७५ दशमलव ९७ बिन्दुमा रहेको नेप्से यस साता ६३ दशमलव ५९ अंकले घटेर २८१२ दशमलव ३८ बिन्दुमा झरेको हो ।नेप्सेमा गिरावटसँगै लगानीकर्ताले करिब ९० अर्ब रुपियाँ नोक्सान भएको छ । यस साता नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ३९ खर्ब ३५ अर्बमा झरेको छ । अघिल्लो साता ४० खर्ब २४ अर्ब रुपियाँ रहेको थियो । भदौ महिनाको अन्तिम साताको यस कारोरमा शुरूका दुई दिन केही सुधार देखिए पनि तत्पश्चात भने ओरालो यात्रा समातेको हो । यस साता शेयर बजार प्रभावित हुनुका पछाडि वाणिज्य बैंकहरूको ब्याजदर वृद्धिलाई कारण मानिएको छ ।

नेप्से परिसूचकसँगै यस साता कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो साता ४२ अर्ब २५ करोड रुपियाँबराबरको शेयर कारोबार भएकोमा यस साता ३८ अर्ब ३१ करोड रुपियाँबराबरको शेयर कारोबार भएको छ । यस साताको तीन दिन ९ अर्बको हाराहारीमा कारोबार भएको छ भने दुई दिन पाँच अर्बको हाराहारीमा कारोबार भएको नेप्सेले जनाएको छ ।