इन्द्रजात्रा सांस्कृतिक पर्यटनको बलियो आकर्षण


नृपेन्द्रलाल श्रेष्ठ

इन्द्रजात्रा येंया पर्वको एउटा महत्वपूर्ण अंश हो। काठमाडौं उपत्यकामा मनाइने थुप्रै जात्रा र चाडपर्वमध्ये इन्द्रजात्राको विशिष्ट स्थान रहेको छ। इन्द्रजात्रा कुमारी, भैरव र गणेशका रथ तानिन्छ। आकाश भैरवको मुकुण्डो, नेवारी परिकारले सजिएका समयःबजीको थुप्रो, लाखे र पुलुकिसीका चर्तिकला, सब भकु र महाकाली देवीगणका नाचहरूले हेर्न पाइन्छ। काठमाडौंका कहिले साँघुरिने र कहिले फुक्ने गल्लीहरूबाट गुड्ने रथ, लाखे र झ्यालिँचाका जोसिला हर्कतले यो पर्वलाई महोत्सवको रूप दिँदै आएको छ। काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई निकै सबल पक्षका रूपमा लिएर दुई वर्षअघि जसरी विदेशी पाहुनाहरूलाई निमन्त्रणा गर्‍यो, यसले संस्कृति, सम्पदाको संरक्षण गर्दै देश–विदेशमा त्यसको प्रचार–प्रसारबाट नेपालले सांस्कृतिक पर्यटनको क्षेत्रमा ठूलो लाभ लिन सकिने आशा र आत्मविश्वास बढाएको थियो। यो कामनपाले गरेको सकारात्मक काम हो । यसले हाम्रो संस्कृतिको व्यापकतालाई विश्वभर प्रचार गर्न अवश्य
सहयोग गर्नेछ ।

दुई वर्षअघि इन्द्रजात्रा अवलोकन गर्दै पाँच देशका शहरका मेयर, उपमेयरसहित ४१ विदेशी पाहुना पनि निकै रमाएका थिए। इन्द्रजात्राको अवसरमा देखिएको यो एउटा भिन्न माहोल थियो। संस्कृति, सम्पदा संरक्षणमा यसले विशेष अर्थ
राखेको छ।

हुन त अन्तर्राष्ट्रिय महत्वको सभा–समारोहमा हुँदा विभिन्न देशका राष्ट्रप्रमुख र कार्यकारी प्रमुखसहित उच्च पदमा आसिन व्यक्तिहरूले नेपालका सम्पदाहरू अवलोकन गर्दै आएका छन्। तर, इन्द्रजात्रा र यस अवसरमा हुने अर्मूत संस्कृतिको महोत्सव हेर्न विदेशका विभिन्न शहरका मेयर र पाहुनाहरू काठमाडौं आउनु भ्रमणको महत्वपूर्ण विशेषता
रहेको थियो।

काठमाडौं उपत्यका विश्वका निकै पुराना सभ्यतामध्येको एउटा सभ्यता हो । यहाँ कम्तीमा ३ हजार वर्ष पहिलेदेखि मानिसहरूको स्थायी बसोवास छ र १६ सय वर्ष अघिसम्मका पुरातात्विक महत्वका संरचना छन् । त्यति बेला देखिएका धार्मिक सांस्कृतिक परम्परा जीवित छन्। लिच्छवि र मल्लकाल यो उपत्यकाको सबैभन्दा समृद्ध समय मानिन्छ । त्यसका बिम्बहरू नै हुन्। काठमाडौंको सबैजसो शहरका मठ–मन्दिर, दरबार र पोखरीहरू । भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, काठमाडौंको वसन्तपुर क्षेत्रका ऐतिहासिक संरचना, तिनमा अभिव्यक्त कला नेपाल आउने पर्यटकका लागि दर्शनीय स्थल हुन्। साँखु, कीर्तिपुर, बुङ्मती, टोखाका बस्तीहरू, पशुपति, बौद्ध र स्वयम्भु आफैंमा एक प्रकारका संग्रहालय हुन्। विश्वका पुराना शहर र तिनको कलात्मक वास्तुकलाको अवलोकन यति बेला विश्वव्यापी पर्यटनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ । यी संरचनामात्र होइन, काठमाडौंमा सांस्कृतिक चाडपर्वहरू छन्, जसको समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययनका दृष्टिले निकै ठूलो महत्व छ ।

राणाले भित्र्याएका युरोपेली वास्तुकला र त्यसमा आधारित दरबारको आफ्नै महत्व होला, तर काठमाडौंको मूख्य सांस्कृतिक विरासत भने शाहहरूले उपत्यका कब्जा गर्नु अघिदेखि जनसंस्कृतिका रूपमा प्रचलनमा रहेका पर्व नै हुन्। अहिले राजधानी शहरका रूपमा यसका क्रियाकलाप आधुनिक राज्यका संरचना र क्रियाकलापको प्रभावमा छन्। आधुनिकीकरणको एउटा आँधी आएको छ । वास्तुकलामा नयाँ प्रयोग भइरहेका छन्। बस्ती घना हुँदै जाँदा यहाँको रैथाने संस्कृति अल्पसंख्यकको जातीय पहिचान जस्तो बनेर खुम्चिँदै गएको भए पनि राज्यले यसको संरक्षणमा धेरथोर योगदान पनि पु¥याउँदै आएको छ ।

विदेशी संस्कृतिको अन्धाधुन्द नक्कल गर्ने, विश्वव्यापी भूमण्डलीकरण, बदँलिदो जीवनशैली र आत्मकेन्द्रित मनोविज्ञानलगायत कारणले गर्दा संस्कृतिप्रतिको गौरवको भाव नयाँ पुस्तामा सुस्तरी हराउँदै गएको छ। विकासको नाउँमा सञ्चालित विभिन्न आयोजना र परियोजनाले पर्यावरणसँगै संस्कृति, सम्पदा क्षेत्रमा प्रतिकूल प्रभाव पारिरहेको छ। अर्कोेतर्फ सरकारी, स्थानीय तहको बेवास्ता कारण कतिपय संस्कृतिहरू लोप हुने क्रममा छन्। सांस्कृतिक सम्पदाको व्यापक प्रचारमार्फत पर्यटकलाई आकर्षित गर्न र नेपालको समृद्धिमा यिनको उपयोग गर्न आवश्यक छ, जसका सम्भावनाको उचित उपयोग भएकै छैन।

अर्कोतर्फ सांस्कृतिक हिसाबले नेपाल निकै धनी रहेको छ। यहाँ रहेका हरेक जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली स्वयंमा पर्यटक लोभ्याउने खालका छन्। तैपनि पूर्वाधारको अभाव, राजनीतिक इच्छाशक्ति र प्रतिबद्धताको कमीले सांस्कृतिक पर्यटनबाट लिनुपर्ने जति लाभ नेपालले लिन सकिरहेको छैन। नेपालको संस्कृतिलाई देश–विदेशमाझ राम्रो प्रचार–प्रसार गरेर सांस्कृतिक पर्यटनमार्फत अर्थतन्त्र उकास्न सकिने बलियो सम्भावना छ। यसतर्फ पनि संकेत गरेकाले पनि महानगरपालिकाको यो नौलो अभ्यासलाई सकारात्मक र स्वागतयोग्य रहेको छ।

हामीले नेपाली पर्यटनको विविधतालाई केवल हिमाल, पहाड अथवा तराई, जंगल र धार्मिक पर्यटनका दृष्टिले मात्र हेर्न हुँदैन। सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रचार–प्रसारबाट हुने पर्यटनको विकास दिगो र भरपर्दो हुन्छ ।